काठमाडौं–निजगढ द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने



रोविन पौडेल, काठमाडौं ।

काठमाडौं–निजगढ द्रुतमार्गको निर्माण कार्यलाई तिब्रता दिँदै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाउने निर्णय गरेको छ । भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर काम नलाग्ने भएपछि सेनाले यस्तो घोषण गरेको हो ।

जङ्गी अड्डा भद्रकालीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सेनाले आयोजनाको डीपीआर आफैं बनाउने बताएको हो । यस्तै पहिलो चरणको रुख कटान, छपान र घाटगद्दी गर्ने काम गत पुस २९ गतेसम्म बारा जिल्लाको ७६.२ चेनेजबाट उत्तरतर्फ ६९.४ चेनेजसम्मको ७ किलोमिटर दूरीसम्म सम्पन्न भएको छ ।

साथै बाँकी ८/९ किलोमिटरसम्मको रुख कटान हाल जारी रहेको सेनाले जनाएको छ । यसका साथ साथै जग्गाको मुआब्जातर्फ पनि कामहरु धमाधम भैरहेको सेनाले बताउँछ ।

काठमाडौं–निजगढ फास्ट ट्रयाक अर्थात द्रुतमार्गको काम प्रचण्ड नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नु पर्ने शर्त राखेको थियो । त्यसपछि देउवा सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै अध्ययन गर्न सेनालाई भनेको थियो । उक्त अध्ययनका क्रममा डीपीआर पूर्ण नपाएपछि नेपाली सेनाले आफैं डिपिआर तयार गर्ने निर्णय गरेको हो ।

निमार्ण कार्यलाई तिब्रता दिँदै नेपाली सेनाले डिपिआर नभएपनि काम नरोकिने बताएको छ । यससँगै निमार्णको काम एसियाली बिकास बैँकक (एडिबि) को आधारमा काम अगाडी बढाइने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्