जीवन खोज्दै मसानघाटमा मजदुरी



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

गाउँमा आम्दानीको आधार नभएपछि सुर्खेत चिसापानीका रामबहादुर सुनार र उनकी पत्नि गिता तिन वर्षको छोरो लिएर मसानघाटको मजुदुरीका लागि जुरेको बगरमा आइपुगेका छन् । विहानको सात नवज्दै उनीहरुका हात बजारीन्छन् बगरमा । दिनभर बगरमा बालुवा झिक्छन्, साँझ अबेर बगरको एकाछेउमा बनाइएको ‘पालघर’ मा पस्छन् उनीहरु ।

सुर्खेतमा गरिखाने काम नै पाएनन् रे उनले, शहरमा केहि समय दुख गर्दा आफ्नो कमाईले आफैंलाई न पालेको बताउँछन् उनी । ‘यहाँ बालुवाको काम चलेको छ भने, कमाई पनि राम्रै हुन्छ भनेर आएको हुँ’, आइतबार जुरेको बगरमा वालुवा चालिरहेका उनले भने, –‘दिनमा सात सय कमाइन्छ, दुई जनाको चौध सय भईगयो ।’

मनभरि वेदना छ, मुटुभरि चोट छ । अभावमा जेलिएपछि सुर्खेतकी ३० वर्षिया पार्वती परियारले जिन्दगीमा कहिल्यै सुखको सास फेर्न सकिनन् । जुरेको कच्ची सडकमा गाडी उफ्रीए झैं विगत सम्झँदा उनका आँखामा आँसु छचल्किन्छन् । दुई वर्ष अघि मुटुरोगले उनका श्रीमान जुने मरे । आर्थिक अभावकाबीच मुटुरोगसँग मुकाविला गर्ने हैसियत नभएपछि पतिको मृत्य स्विकार गर्नुको अर्को बिकल्प थिएन उनीसँग । पति वियोगपछि आफैं बेसहारा बनेकी उनी दुई बालबच्चाको दरिलो सहाराका लागि सुनकोसीको बगरमा सावेल उठाउँदै छिन् ।

‘गरीब भएकै कारण श्रीमानको उपचार गर्न सकिएन, श्रीमान बितेपछि अब हामीलाई कसले पो हेर्छ र’, उनी सुनाउँछिन्,–‘बालबच्चा पढाउन यहाँ दुख गरिरहेको छु ।’ बालबच्चालाई पढाई ठुलो मान्छे बनाएपछि भोली केहि अप्ठ्यारो परे तिनै बालबच्चाले हेर्ने विश्वास छ उनीसँग । ठेकेदारले बगरमै उनीहरुका लागि खान र बस्नको व्यवस्था मिलाइदिएका छन् ।

दैलेखका ३४ वर्षिय भरत बहादुर बुढा । भारतको आवतजावत उनका लागि पानीपँधेरो जस्तै थियो । २० वर्षसम्म भारतमै मजदुरी गरे उनले । भारतको भौतिक विकासमा दैलेखी भरत बुढाको पनि पसिना मिसिएको छ भन्दा फरक पर्दैन । भारतको मजदुरी छाडेर उनी यतिबेला जुरे पहिरोको बगरमा बालुवा झिक्दैछन् ।

उनको अनुभवले भन्छ, यो देशको जुनसुकै भुगोलमा गएपनि मजदुरीभित्र आत्मसम्मान छ । भारतमा कहिल्यै पनि आत्मसम्मान महसुस भएन रे उनलाई । वर्षौसम्म भारतमा पसिना बगाएका उनी सुनकोसीमा आई मजदुरी गरिरहँदा आफ्नै गाउँ झैं लागेको उनी सुनाउँछन् ।

भारतमा सडकको मजदुरी गर्दा उनी मासिक १६ हजार मात्रै कमाउथे, सुनकोसीको बगरमा दैनिक ७ सय बढि कमाइ भइरहेको छ उनको । ‘इन्डियामा भन्दा राम्रो काम र धेरै कमाई हुन्छ भनेर यता आया हौं’, दैलेखका अर्का नवराज थापा भन्छन्,–‘बालुवाको काम राम्रै छ, खाने बस्ने साहुकै हो दिनमा ७ सय कमाई हुन्छ ।’ तिन वर्ष अघि १ सय ४५ जनाको जीवन लीला समाप्त भएको ठाउँ ।

जुरे, ड्यामसयाइटको उजाड बगरमा यतिबेला सयौं मानिसहरु जिविकोपार्जनको आधार खोजीरहेका छन् । ०७१ साउन १७ को रात इटीनीको पहाडै खस्दा बस्तिहरु नै पुरीए । पहिरोमा दर्जनौं मानिसहरु पुरीए, पहिरोमा पुरीएका उनीहरुको लाश सम्म पनि भेटिएन तिनताका । लाश सम्म नभेटिएको त्यही बगरमा यतिबेला मजदुरहरुको गाँस भेटिन्छ, आस भेटिन्छ ।

दर्जनौं मानिसहरुको चिहान बनेको त्यही ठाउँमा मानिसहरु साँझविहान मजदुरी गरिरहेका छन् । १ सय ४५ जनाको जीवन नै समाप्त भएको त्यही मसानघाटमा मजदुरहरु आफ्नो जीवन खोजीरहेका छन् । न डर, न त त्रास नै छ । मसानघाटका मजदुरहरुमा आर्थिक उपार्जनको आश मात्रै छ ।

बगरभरी मानिसहरु छन्, ठाउँ ठाउँमा पाल र टेण्ट राखिएका छन् । जुरे आसपासका स्थानीय मजदुरहरु विहान झिसमिसेमै बगर झर्छन, साँझ अवेर घर फर्कन्छन् वास वस्न । तर बाहीरी जिल्लाका मजदुरहरुका लागि मसानघाटको बगर नै घर भइदिएको छ । बगरमै खान्छन्, बगरमै रात कटाउँछन् अनि बगरमै साँझ विहान पसिना बगाउँछन् उनीहरु ।

सुनकोसीको चीसो सिरेटोमा उनीहरु जिन्दगीमा सुखको ‘तातो’ खोजीरहेका छन् । बगरमा वालुवा मात्र चालेका छैनन् उनीहरुले, आफ्नै जीवन नै चालीरहेका छन् । अभाव र दुखको गेगर फाल्दै सुखका बालुवा थुपारीरहेका छन् उनीहरु । मसानमा जीवन खोजिरहेका उनीहरु पानी न अडिने वालुवामा जिन्दगानी अड्याउँदैछन् झैं लाग्छ । अभाव र दुखलाई सुनकोसीमै बगाएर पसिनाको कमाई लिई फर्कने अभिलाशा छ उनीहरुसँग ।

प्रतिक्रिया दिनुहोस्