भैरहवालाई हराएर बिराटनगर फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
हङकङका बाबर हयातको अर्धसतकीय योगदानसँगै बिराटनगर वारियर्सले कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एभरेस्ट प्रिमियर लिगको फाइनलमा खेल्ने पक्का गरेको छ।

लिग चरणका पाँचै खेल जितेर उपाधि दावेदारीमा सबैभन्दा अगाडि रहेको बिराटनगरका लागि पहिलो क्वालिफायर खेल जित्न कुनै कठिनाइ भएन। भैरहवा ग्लाडिएटर्सलाई ८ विकेटले हराएर पारस खड्काको टोली फाइनल पुगेको हो। भैरहवाले दिएको १ सय २८ रनको लक्ष्य बिराटनगरले २ विकेटको क्षतिमा १८ बल बाँकी राखेर भेटाएको थियो। बिराटनगरले आज हुने दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीसँग शनिबार उपाधिका लागि खेल्नेछ। भैरहवाले हारे पनि दोस्रो मौकाका रूपमा ललितपुर प्याट्रियटससँग खेल्ने मौका रहेको हो। ललितपुरले इलिमिनेटर खेलमा पोखरा राइनोजलाई २७ रनले हराएको थियो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा बिराटनगरले जित्न बाबरको ६२ रनको विशेष योगदान रह्यो। बाबरको प्रतियोगितामा तेस्रो अर्धसतक हो भने उनले अहिलेसम्म कूल ३ सय २ रन बटुलिसकेका छन्। पहिलो ओभरमै आशिफ शेख आउट भएपछि क्रिजमा आएका बाबरले आफ्नै हङकङकै खेलाडी अंशुमान राठसँग ७४ रनको साझेदारी गरेर जितको आधार तयार गरेका थिए। उनले ५ छक्कासमेत प्रहार गरे।
बाबरको विकेट लिएर हौसिएको भैरहवालाई कप्तान पारस र अंशुमानबीच ५६ रनको अटुट साझेदारीले हारतिर अग्रसर गराएको थियो। भैरहवा लिग चरणको खेलमा पनि एक मात्र हार बेहोर्दा बिराटनगरकै शिकार भएको थियो। पारस ४ छक्कासहित ४२ रनमा नटआउट रहे भने ओपनर अंशुमानले २६ रन योगदान दिएका थिए।

यसअघि २६ रनमै शीर्ष ४ ब्याटसम्यान आउट हुँदा भैरहवा निकै दयनीय स्थितिमा रहेको थियो। तर पुनित मिश्रा (४९) र आरिफ शेख (४६) ले पाँचौ विकेटका लागि ८२ रनको साझेदारी गरेपछि टोली १ सय २७ रनको सम्मानजनक योगफलमा पुगेको थियो। जबकी टोलीका अन्य खेलाडीले दोहोरो अंक पनि छुन सकेनन्। विराटनगरका बलरमा करण केसी र अप्पुहामीले दुई–दुई विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्