दीपेश र शोभा रजतमै सीमित



नेपाल समाचारपत्र
काठमाडौं
योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा नेपालले स्वर्ण पदक भित्त्याउन सकेन। दीपेश धामी र शोभा गौचनको जोडीमाथि नेपाललाई स्वर्ण दिलाउने आशा लिएकोमा त्यसमा उनीहरू सफल भएनन्। यसअघि एक महिनाअगाडि पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्समै यी जोडीले स्वर्ण जितेका थिए।

यसैले पनि सबैले उनीहरूले स्वर्ण जित्ने आशा राखेका थिए। तर, आइतबार अन्तिम दिन राखेपको कभर्ड हलमा भएको फाइनल खेलमा भारतका भिगनेस डेभलकर र हरिका भेलुडुर्थीसँग उनीहरू सहजै पराजित भएका थिए।

दीपेश र शोभाले मिक्स डबल्सको फाइनल खेलमा विपक्षी खेलाडीसँग २१–१५, २१–७ को सीधा सेटमा हारेपछि रजत पदकमै चित्त बुझाउनुपर्यो। यी विजेता खेलाडीले अघिल्लो दिन सेमिफाइनल खेलमा नेपालका तामाङ दिदीभाइ नङ्सल र रत्नजितलाई पन्छाएका थिए।

नङ्सल र रत्नजीतले मिक्स डबल्सतर्फ कांस्य पदक प्राप्त गरे।
प्रतियोगितामा मेन्स सिंगल्सको उपाधि भारतका श्रेयान्स जयसवालले सारांग लखानीलाई २१–१०, २१–१० ले हराएर जिते। ओमेन्स सिंगल्सतर्फ हङकङ, चीनकी डेङ जोए सुआनले इरानकी सोराया अगाइहाजियागालाई २१–१२, २१–५ ले पराजित गरेर उपाधि जितिन्। यस्तै मेन्स डबल्समा सिंगापुरका डी क्रिसनान्टा र हि योङ काइ टेरी तथा ओमेन्स डबल्समा भारतका अर्पणा बालान र केपी स्रुथीले उपाधि हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्