श्रेष्ठ र अलौकिकको पुस्तक विमोचित



काठमाडौं, (नेस)
चीनको राजधानी बेइजिङमा रहेको नेपाली दूतावासमा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठको ‘हिमाल छिचोल्ने रेशममार्ग’ तथा पत्रकार, अजय अलौकिकको ‘अलौकिक चीन’ नामक पुस्तक विमोचन गरिएको छ।
ती पुस्तक चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र चिनियाँ संस्कृति अनुवाद तथा अध्ययन सहयोग सञ्जालका डाइरेक्टर ≈वाङले संयुक्तरूपमा लोकार्पण गरेका थिए।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ‘हिमाल छिचोल्ने रेशममार्ग’ मा चीनको रेशममार्गसँग सम्बन्धित लेखहरू समेटिएका छन् भने चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकार अजय अलौकिक श्रेष्ठको ‘अलौकिक चीन’ चीन बसाइँ र पत्रकारिताका क्रममा देखेभोगेका अनुभवहरूको सँगालो रहेका छन्। ‘अलौकिक चीन’ पुस्तकबाट लेखक अलौकिकले चीन जान्न बुझ्न इच्छुक पाठकहरूले चीनको बारेमा धेरै बुझ्न सक्ने दाबी गरिएको छ। पुस्तकमार्फत् लेखकले नितान्त व्यक्तिगत भोगाइ र देखाइ पाठकमाझ प्रस्तुत गर्ने कोसिस गरेका छन्। ‘अलौकिक चीन’लाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो।

साथै यी दुवै पुस्तक ‘हिमाल छिचोल्ने रेशममाग’ तथा ‘अलौकिक चीन’लाई चिनियाँ संस्कृति अनुवाद तथा अध्ययन सहयोग सञ्जालले चिनियाँ भाषामा अनुवाद गरिने जानकारी सो कार्यक्रममा दिएको थियो।

प्रतिक्रिया दिनुहोस्