गोताखोरलाई निःशुल्क दुर्घटना बीमा



????????????????????????????????????
नेपाल समाचारपत्र
काठमाडौं
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको निःशुल्करूपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ।

विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरूले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४औं स्थापना दिवसको अवसर पारेर एपीएफका गोताखोरहरूको निःशुल्क बीमा गरेको हो।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई निःशुल्क बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा उक्त इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेनले गोताखोरहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो।

सो कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले देश र जनताको सेवालाई मूलमन्त्र सम्झिएर संगठन विपद व्यवस्थापन लगायत प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगबाट पूरा गर्न अनवरतरूपमा क्रियाशील रहेको चर्चा गर्नुहँुदै विपद् व्यवस्थापनको कार्यलाई दीर्घकालीन योजनाका साथ चरणबद्धरूपमा अगाडि बढाउँदै आएको उल्लेख गर्नुभयो।
उहाँले परम्परागत उद्धार कार्यमा सुधार गर्र्दै सशस्त्र प्रहरी बल नेपाल आधुनिक ढंगबाट उद्धार कार्यमा परिचालित हुँदै आएको बताउनुहुँदै यसै सिलसिलामा संगठनका अधिकृत तथा जवानहरूले मित्रराष्ट्र बंगलादेशबाट डिप वाटर डाइभिङ (गोताखोर) तालिम हासिल गरेको चर्चा गर्नुभयो।
विपद् व्यवस्थापनको कार्य एकल प्रयासमा मात्रै सम्भव नहुने कुरालाई हृदयंगम गर्दै संगठनले सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै दायित्व निर्वाह गरिरहेको चर्चा गर्नुहँुदै गोताखोरहरूलाई इन्स्योरेन्स कम्पनीले गरेको निःशुल्क बीमा कार्यक्रमबाट सशस्त्र प्रहरी कर्मचारीहरूको हौसला अभिवृद्वि हुने विश्वास व्यक्त गर्नुभयो।
सो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेनले विपद् व्यवस्थापनको क्षेत्रमा व्यावसायिक कार्यकुशलता प्रदर्शन गर्दै आएको सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरूलाई कम्पनीको स्थापना दिवसको अवसरमा एक वर्ष अवधिको निःशुल्क बीमा प्याकेज ल्याइएको बताउनुभयो।
उहाँले जोखिमयुक्त मात्र नभएर हरेक कार्यका लागि बीमा कार्यक्रम महत्त्वपूर्ण रहेको चर्चा गर्नुहुँदै व्यक्तिगतरूपमा समेत बीमा जरुरी रहेको उल्लेख गर्नुभयो।
सो कम्पनीले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २० जना सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरूको लागि प्रतिव्यक्ति २ लाख रुपियाँका दरले निःशुल्करूपमा व्यक्तिगत दुर्घटना बीमा गरेको हो।

प्रतिक्रिया दिनुहोस्