दुईजिब्रे बोली



गत असोज तेस्रो साता घोषणा भएको एमाले माओवादीबीचको वाम गठबन्धनले नेपालमा मात्र होइन, अन्यत्र पनि ठूलै राजनीतिक तरंग ल्यायो। वर्षौंसम्म अस्थिर बनेको मुलुकको राजनीतिमा त्यसले एक किसिमको सकारात्मक प्रभाव छर्यो। ‘मुलुकको आर्थिक समृद्धिका लागि गठबन्धनको दिगो सरकार’ को नाराका साथ चुनावमा होमियो। निकै उत्साहजनक चुनावी परिणाम पनि उसैको पोल्टामा गयो।

तर राजनीतिमा ‘त्याग’ भन्ने शब्दचाहिँ नेपाली उखान ‘मुखमा राम–राम बगलीमा छुरा’ जस्तै हुँदोरहेछ। यो कुरा अहिलेका वाम नेताहरूको व्यवहार र बोलीले प्रष्ट्याउँदैछ। ५ वर्षको स्पष्ट जनमत पाएर सरकार गठन गर्ने जनादेश पाएका वाम नेताहरू दिगो र स्थिर सरकारको बदलामा ‘आलोपालो सरकार’को नेतृत्व गर्ने कसरतमा जुट्याछन्।

दिगो र स्थिर भन्ने शब्द चटक्कै छोडेर नेताहरू ‘आलोपालो सरकार’ भन्न थालेका छन्। रुमाल लुकाउने खेल खेलझैं विगतमा कोइराला, देउवा, नेपाल, खनाल, दाहाल, भट्टराईलगायतले आलोपालो सरकार चलाएकै थिए त, अहिले फेरि किन आलोपालो ? आलोपालो सरकार नै बनाउनुथियो भने, किन दिगो र स्थिर सरकारको भ्रम चुनावमा छरियो, जनतालाई प्रष्ट जवाफ दिनुपर्यो। अर्को चुनावमा ठूलै लोप्पा खाने नै हो भने त्यस्तो ठूलो मेहनत र कसरत गर्नुपर्दैन, धरहरा यस्तै सुझाव दिन चाहन्छ।

प्रतिक्रिया दिनुहोस्