नेप्सेमा झन्डै ५० अंकको गिरावट



काठमाडौं, (नेस)
पुसको पहिलो साता नेप्से परिसूचक ४८ अंकले घटेको छ। यस साता १ हजार ५ सय २० दशमलव १५ अंकबाट शुरु भएको बजार साताभरि नै ओरालो लाग्दा १ हजार ४ सय ७२ दशमलव १५ बिन्दुमा पुगेर रोकिएको हो।

प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव सकिएपछिको दोस्रो साता बजारमा कारोबार रकम बढे पनि परिसूचक भने ओरोलो लागेको छ। पाँचै दिन कारोबार भएको यस साता पनि नेप्से सुधारिने संकेत नदेखिँदा बजार परिसूचक लगातार घटाउन ठूला लगानीकर्ता मिलेरै लागि परेको आरोप जानकारहरूले लगाउने गरेका छन्।

पछिल्लो समय निर्वाचनपछि देशकै अर्थतन्त्र चलायमान भएको भनिँदै आए पनि पुँजी बजार भने सुधारिन सकेको छैन। बजारमा कारोबार निरन्तर बढे पनि परिसूचक भने निरन्तर ओरालो लाग्दै आएको हो।
राजनीतिक गतिविधी बढ्दै जाँदा अर्थतन्त्र चलायमान भई शेयर बजारमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरूले तर्क गरे पनि बजार ओरालो लागेको हो। यस साता तीन दिन परिसूचकमा सुधार आए पनि कारोबार रकम भने बढेको थियो।

यस साता नेप्सेमा २ अर्ब ५७ करोड ९१ लाख १८ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। सोक्रममा नेप्सेमा १ सय ७७ कम्पनीका ५७ लाख ११ हजार ८० कित्तँ शेयर किनबेच भए। सातभरि कूल २४ हजार ६ सय ५५ कारोबार भए। यस अवधिमा लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेकाले बजार घटेको लजानीकर्ताले बताउँदै आएका छन्।

कारोबार रकम अघिल्लो साताको तुलनामा ११ दशमलव ९२ प्रतिशत कम हो। अघिल्लो साता बजारमा १ सय ७९ कम्पनीका ५७ लाख ९५ हजार कित्ता शेयर २ अर्ब ९२ करोड ८३ लाख रुपियाँको कारोबार भएको थियो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

परिसूचकमा गिरावट आउँदा यस साता शेयर बजारको आकार (बजार पुँजीकरण) साढे ५५ अर्ब रुपियाँभन्दा बढीले घटेको छ। यत साता बजार पुँजीकरण १७ खर्ब ६७ अर्ब ५६ करोड रुपियाँबाट घटेर १७ खर्ब ११ अर्ब ९८ करोड रुपियाँमा पुगेको नेप्सेले जनाएको छ।

नेप्से परिसूचक घट्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ८ दशमलव १३ अंकले घटेर ३ सय ९ दशमलव ९४ अंकमा आइपुगेको छ।

यस साता कारोबारमा आएका १० वटामध्ये उत्पादनमूलक बाहेक सबै ९ समूहमा गिरावट आउँदा समग्र बजार परिसूचक ओरालो लागेको हो। घट्नेमा सबैभन्दा धेरै बीमा समूह २ सय ९४ दशमलव ४ अंकले घट्यो। त्यस्तै विकास बैंक, लघुवित्त र जलविद्युत् समूह क्रमशः ६४ दशमलव ३५, ६३ दशमलव ४ र ५६ दशमलव ७७ अंकले ओरालो लाग्दा अन्य, बैंकिङ र होटल समूह पनि क्रमशः ५३ दशमलव २१, ३५ दशमलव ७८ र २९ दशमलव ५८ अंकले ओरालो लागे।

त्यसैगरी वित्त समूह ११ दशमलव १६ अंकले ओरालो लाग्दा ट्रेडिङ समूहको परिसूचक पनि ६ दशमलव २५ अंकले गिरावट आयो।बढ्नेमा उत्पादनमुलक समूह १८ दशमलव ५२ अंकले सुधारियो। यस साता कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको कूल २० करोड ५० लाख ३० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको हो।

कारोबार भएको शेयर संख्याको आधारमा नेपाल ग्रामीण विकास बैंकले शिर्ष स्थान ओगटेको छ। यस साता बैंकका ३ लाख ५९ हजार कित्ता शेयर कारोवार भएका थिए।

त्यसैगरी कारोबार संख्याको आधारमा पनि नेपाल ग्रामीण विकास बैंक अग्रस्थानमा रह्यो छ। बैंकका कुल १ हजार ७ सय ७ वटा कारोबार भएका थिए। सर्वाधिक कारोबार हुने शिर्ष ५ कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल ग्रामीण विकास बैंक, प्राइम कमर्सियल बैंक र एभरेस्ट बैंक रहे।

यस साता ५ वटा कम्पनीका २ करोड कित्ताभन्दा बढी शेयर नेप्सेमा सूचीकृत भएका छन्। तीनमा अरूण फाइनान्सको १५ लाख कित्ता, सप्तकोशी डेभलपमेन्ट बैंकको २७ लाख ४३ हजार कित्ता हकप्रद शेयर र प्रभु इन्स्योरेन्सको ११ लाख ८ हजार ८ सय ४५ दशमलव ३९ कित्ता, एनआईसी एसिया बैंकको १ करोड ३३ लाख ८५ हजार १ सय ९५ कित्ता र नागरिक लगानी कोषका १३ लाख २७ हजार ६ सय ४८ दशमलव ७३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भए।

प्रतिक्रिया दिनुहोस्