साहित्यिक सृजना र यात्रामा दामोदर



मोहन दुवाल
चार दशकअगाडिदेखि कवितामा मन दिएर कविता लेख्दै आएका दामोदर पुडासैनी कविताहरूमा आफन्तका अनुहारहरू खोज्दै, आँखाको खोजीमा रमाउँदै, आफूभित्रको जीवनबोधलाई आकारको खोजीमा भुल्दै, आलोकित आयामको सिर्जना गर्न चिन्तनशील रहँदै आएका छन्। आफूलाई सधैँ ‘किशोर’कै रूपमा देखाउन रुचाउने तर परिपक्व कविकै हाराहारीमा पुगिसकेका यिनका साहित्यिक सिर्जना, सक्रियता र सम्पर्कमा आइरहने यिनको स्वभावले गर्दा साहित्यिक जगत्मा पनि यिनी प्रिय बन्दै गइरहेका देखिन्छन्। पत्रपत्रिकामा देखापरिरहने कवि, नियात्राकार दामोदर पुडासैनीका साहित्यिक आलेखहरू उल्लेखयोग्य बन्दै गएका कारणहरूमा यिनकै निरन्तर प्रयासका प्रतिफलहरू हुन्। उनले कवितामा लेखेझैँ उनका सिर्जनाका डोबहरू पनि त्यस्तै छन्–
जिन्दगीका असंख्य छापहरू बटुलेर
जीवनका हरेक क्षणहरूलाई
जोड, घटाउ, गुणन र भागहरूमा विभक्त गरेर
धेरै पटक लड्दै
र, थोरै पटक उठ्दै
मैले तिमीलाई जन्माउने प्रयास गरेको छु।

यस्तै कविता विम्बहरूमा आफूलाई देखाउँदै, कविता लेख्दै आएका कवि दामोदर पुडासैनी किशोर साहित्यिक क्षेत्रमा पछिल्लो कालखण्डमा सबल ढङ्गले देखा परेका नाम हुन्।

काठमाडौं जिल्लाको जितपुरफेदी गाविसमा वि.संं. २०१९ जेठ १८ मा पिता हरिप्रसाद र माता तुलसाका छोरा भई जन्मेका यिनी जीवनका उकाली चढ्दै, ओरालीहरूबाट झर्दै र अनुभवहरू बटुल्दै शिक्षाक्षेत्रमा व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल सकारको महालेखा परीक्षक कार्यालयमा लेखापरीक्षण अधिकारीका रूपमा हालसम्म पनि कार्यरत छन्। कर्मचारी रहेर पनि आफ्नो रुचिको कारणले साहित्यकार बन्न सफल यिनका ४ वटा कवितासङ्ग्रहहरू प्रकाशित छन्।

समाजलाई सुगम पाइलामा अगाडि बढाउन मद्दत पु¥याउने रचना नै साहित्य हो। साहित्यले जीवन र जगत्लाई मिहीन रूपमा छामेर ती दुवैलाई उजिल्याउने काम पनि गर्दछ। यस खालको चिन्तन नै यिनका साहित्यिक चिन्तन हो। कविका रूपमा विशेष चर्चायोग्य व्यक्तित्व बनाइसकेका यिनी नियात्राकार, कथाकारका रूपमा पनि चिनिन्छन्। थुपै्र साहित्यिक सङ्घसंस्थामा आफ्नो संलग्नता राखेर देखा परिरहेका यिनी आफ्नो अम्मल नै सिर्जना गर्ने इच्छा हो भन्न रुचाउँछन्। लक्ष्मीप्रसाद देवकोटा र भूपि शेरचनका कविताहरू विशेष मन पराउने यिनी विदेशी साहित्यकारहरूमा चेखब, टाल्सटाय, गोर्की, शोलोखोबहरू मन परेको बताउँछन्।

कवितामा छुट्टै पहिचान देखाउन सफल कविका रूपमा देखा परेका कवि दामोदर पुडासैनी कविता लेखनमा तीन दशकअगाडिदेखि नै आफूलाई समर्पित तुल्याउँदै आएका हुन्। कवितामा स्थापित हुँदै कविका रूपमा आफूलाई चिनाउँदै आएका दामोदरका कवितामा आफ्नै खालका रस–माधुर्य, भाषा, सीप, सौन्दर्यका विम्बहरू छरपस्टिएका छन्। जीवनलाई सुख–दुःखका शृङ्खला भन्न मन पराउने पीडामा प्रेम सिर्जना गर्न सक्नु नै जीवनको सार्थकता हो भन्न रुचाउने यिनको जीवनदृष्टिले यिनले दुःखबाट पनि प्रेरणा प्राप्त गर्दै जीवन्त हुन सिके। नवीन शैली र नवीन विषयमा नवसिर्जना गर्ने यिनको भविष्यको इच्छा हो, सन्दर्भमा उनी आफ्नो सिर्जनाबारे लेख्ने गर्छन्।

आफूले भोग्दै गरेका, अनुभूत गरेका, देखेका–सुनेका भावनाकै अभिव्यक्ति हो सिर्जना। कवितामा शक्ति तथा ऊर्जाशीलता त्यस बेला व्याप्त हुन्छ, जसमा स्वाभाविक चित्रण र गुञ्जन समाहित हुन्छ। कवि दामोदरका कविताहरूमा पनि यस्तै स्वाभाविक चित्रण र गुञ्जन भएकै कारणले यिनका कविताहरू सबल देखिएका हुन्। ४ वटा कवितासङ्ग्रहमा १७८ वटा गद्य शैलीका कविताहरू प्रकाशित गराइसकेका कवि दामोदरका कविताहरूमा व्यक्त भएका आफन्तका अनुहारहरू यस खालका छन्। उनी कविताकै भाषामा लेख्छन् ः
आफन्तका अनुहारहरू
मन्दिर, मस्जिद, चर्च र गुम्बाको बहानामा बाँडिनु हुन्न
जात र रङ्गको आधारमा टाढिनु हुन्न
गाउँ, शहर, देश र महादेशको नशाले मात्र होइन
वाद र विवादको भूमरीले मात्र फाँडिनु हुन्न
मान्छेको साइनोको प्रतीक ‘रगत’ हो
मान्छेको आफन्त भन्नु ‘मान्छे’ हो
२०४९ चैत्रमा लेखिएको शेषोक्तिका यी पङ्क्तिहरूका आधारमा दामोदर कविका काव्यानुभूति विवेचना गर्दा यिनीभित्रको मानवीय चाहनाका अनुभूतिहरू कविता भएर पोखिएका छन् भन्न सकिन्छ। कविता सरल भाषामा लेख्न सफल कवि दामोदर पुडासैनीका सबैजसो कविताहरूमा मानवीय सन्दर्भका व्यथाकथाहरू मार्मिक ढङ्गले व्यक्त भएका छन्।

देश हेरेर, वातावरण नियालेर, जनमनका भावना छामेर कविता लेख्ने कविहरूकै कोटीमा दामोदर पुडासैनी ‘किशोर’लाई पनि राख्न सकिन्छ। आशा यिनका कविताले खोजेको चाहना हो, त्यस्तै प्रगतितिरको परिवर्तन यिनको भावनाभित्रको आकाङ्क्षा हो। यिनका अधिकांश कवितामा देशकै मर्म लुकेको भान हुन्छ अर्थात् देशभित्रका असङ्ख्य भावनाहरूकै धुकधुकी बोल्दै गरेको प्रतीत हुन्छ। यस अर्थमा यिनका कविताहरू सबल र सुन्दर छन्। मानवीय संवेदना हराएको हाम्रोजस्तो देशमा मानवीयताका सुन्दर आयामहरू रोप्न खोज्ने कवि दामोदर आँखाको खोजीमा आँखाहरू कवितामा आफ्नो भावना यसरी फुकाउने गर्छन् ः
आँखा जुध्दा
साटिन्छ माया भन्थे पूर्वजहरू
अचेल आँखा जुध्दा
चट्याङ पर्न लागेको छ
र, भस्म हुँदै छ मानव–अस्मिता
किन हो किन यतिखेर
बुद्ध, क्राइष्ट वा पैगम्बरका आँखाहरू
पोको पारेर राखिएको छ खोपाभित्र।
यही त हो पीडा देशको। सधैँ पीडामा मात्र देश दुखिरहँदा देशवासीहरूको अवस्था के होला ? सधैँ द्वन्द्व, सधैँ मारकाट, सधैँ अशान्तिमा देश रुमल्लिरहँदा देशको गति के होला ? कवि दामोदरको यो चिन्ता नेपालीमात्रको चिन्ता र दर्द हो। कविले सबैजसो कवितामा यस्तै कोरा मनभित्रका कञ्चन कुराहरू कवितामार्फत पोख्न खोजेका छन्। आकारको खोजीमा लाग्दालाग्दै कवि दामोदर आकारको खोजीका सन्दर्भमा लेख्छन्–
अहिलेसम्मका आकारहरूलाई
गल्र्यामगुर्लुम ढालेर
कोर्न खोज्दै छु सबैतिर
सत्य र स्वाधीनताको
नौलो र स्पष्ट आकार।
यही र यस्तै आकारको खोजीमा लाग्दै, आलोकित आयामको चाहना राख्दै, सिर्जनामा मन राख्दै आएका कविलाई जनमतकै आयाममा राखेर साहित्यमार्फत चिनाउन खोजिरहेछु।
दामोदर पुडासैनी ‘किशोर’ थुप्रै साहित्यिक संघसंस्थाका संरक्षक। धेरै खालका साहित्यिक पत्रपत्रिका तथा संघसंस्थाका सल्लाहकार। शिवपुरी साहित्य समाज तथा उपन्यास समाज नेपालका कार्यकारी सदस्य। सरकारी जागिर खाएर अति व्यस्त रहँदारहँदै पनि साहित्यमा आफू सक्दो मन दिएकै कारणले दामोदर पुडासैनीका साहित्यिक सिर्जना, साधना, यात्रा उल्लेखयोग्य छन्। त्यसैले त दामोदरलाई साहित्यिक यात्रामा बधाइ दिइरहेछु। दामोदरले कवितामा भनेजस्तै म पनि त्यस्तै मन पराएर भनिरहेछु ः
रातको बहानामा
संसारलाई कालो बनाउने बेला होइन यो
घाम बनेर जुट्नुपर्छ मान्छेहरू।
यस्तै घामको खोजीमा लागेका कवि दामोदरले जागिरको क्रममा थुप्रै देश र विदेशमा आफ्नो पाइलालाई टेक्न लगाए। र, आफूले अनुभूत गरेका प्रसंगहरुलाई मार्मिक ढंगले नियात्रामा उतार्ने जमर्को गरे। यिनी जहाँ–जहाँ पुगे, त्यस भूगोलको चर्चा यिनले जीवन्त ढंगले अक्षरमार्फत पोख्न जाँगर चलाए। धेरै देश चहारेका छन् यिनले, थुप्रै ठाउँको परिवेश नियालेका छन् र यिनले थुप्रै मनहरुसँग यात्राका क्रममा कुराहरु साटेका छन्। भूगोल, इतिहास मात्र होइन, यिनका नियात्राहरुको संवाद पनि रोचक छन्।

यात्राका प्रेमिल तरंगहरु २०६५ मा नै प्रकाशित गराएर आफूलाई नियात्राकारका रुपमा चिनाइसकेका यिनका नमेटिएका चित्रहरु (२०७०), मायालु हुम्ला (२०७१), सिमानाको रंग र सिमानाका तरंग (२०७२) र २०७३ कार्तिकमा पर्खालभित्रको राजधानी प्रकाशित गराएको देखिन्छ। पर्खालभित्रको राजधानीमा यिनले हिमाली क्षेत्रको पवित्रता, उच्चताबारे आफ्नो विचार प्रस्तुत गर्नुका साथै रहस्यको खोजी गर्न खोजेका छन्। जहाँ–जहाँ यिनी पुगे, त्यहाँ–त्यहाँको वर्णन काव्यात्मक भाषामा, मीठो शब्दशैलीमा जीवन्त हुने गरी पोखेका छन्। नियात्रामा रम्न जानेका दामोदरले नियात्रा साहित्यमा कवितामा भन्दा बलियो ढंगले आफ्नो प्रस्तुति पोखेर आफूलाई सफल नियात्राकारका रुपमा देखाउन सफल छन्।

कवितामा सुन्दर आकृति खोप्न जानेका कवि दामोदरले नियात्रामा पनि आफ्नो उज्यालो अक्षर कोर्न सफल छन्। कथामा सामयिकता पोख्न सिपालु कथाकारका रुपमा चिनिएका दामोदरले धर्मको ह्याङओभर पुस्तक प्रकाशित गराएर आफूलाई सफल टिप्पणीकर्ताको रुपमा पनि उभ्याएका छन्। सबैजसो विधामा साहित्य लेख्न जाँगर चलाउँदै आएका दामोदरका साहित्यिक यात्रामा अझ उच्चता थपिँदै जाओस्, शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्