विराटनगरको लगातार तेस्रो जित



काठमाडौंं, (नेस)
काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले लगातार तेस्रो जित आत्मसात गरेको छ।
जारी प्रतियोगितामा अपराजित रहने क्रममा विराटनगरले शुक्रबार भएको खेलमा चितवन टाइगर्सलाई ७१ रनले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविधालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो। जवाफमा लगातार तेस्रो हार व्यहोर्दै पुछारमा रहनेक्रममा चितवनले १८ ओभर २ बल क्रिजमा टिकेर १०३ रन मात्र बनाउन सक्यो।

विराटनगरको जितमा हङकङका खेलाडीद्वय बाबर हयात र अंशुमन रथले शतकीय साझेदारी गर्न सफल भए। सोही क्रममा ४२ बल खेलेका बाबरले ६ छक्का र ५ चौकाको मद्दतले ८१ रन जोडेका थिए। यस्तै अंशुमनले ४० बलमा ४१ रन जोड्दा कप्तान पारस खड्काले ८ बलमा १६ रनको योगदान गरेका थिए। बलिङतर्फ चितवनका प्रविन गुप्ताले ह्याट्रिकसहित पांच विकेट लिए। भीम सार्कीले सर्वाधिक २४ रन बनाएको इनिङ्समा विराटनगरका बसन्त रेग्मीले ११ रन खर्चेर ४ विकेट लिए।
पोखरा राइनोजको जित

शुक्रबारै भएको पहिलो खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स इलेभेनलाई ६ विकेटले हराएको थियो।टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रन जोडेको थियो। काठमाडौंले दिएको ९९ रनको सामान्य चुनौती पोखराले खेलमा १० बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्यो।
पोखराको जितमा इसरुल्लाहले अविजित ४५ रन बनाए भने सुनिल धमलाले २० रन तथा शक्ति गौचनले अविजित १८ रन जोडेका थिए। काठमाडौंका सागर पुनले २ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्