प्रणव र संरक्षक उपाधि नजिक



नेपाल समाचारपत्र
काठमाडौं
प्रणव खनाल र संरक्षकभूषण वज्राचार्य १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको सेमिफाइनलमा प्रणवले संरक्षकका भाइ सम्यकलाई ६–२ र ६–२ तथा संरक्षकले निन्वाम राईलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा मायांका राणा फाइनलमा पुगिन्। दोश्रो सेमिफाइनलमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई निर्णायक सेटमा ६–४ ले हराइन्। उक्त सेमिफाइनल बुधबार १–१ को बराबरी स्थितिमा खराब प्रकाशका कारण स्थगित भएको थियो। फाइनलमा मायांकाको भेट प्रेरणा कोइरालासंग हुनेछ। यस्तै यु–१४ ब्वाइज सिंगल्समा आदित सुवेदीले आर्यन गिरीलाई १–६, ७–५ र ६–० तथा निशान श्रेष्ठले सरोज तामाङलाई ७–५ र ६–३ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे।

यु–१८ गल्र्स डबल्समा मायान्का र माहिकाको जुम्ल्याहा जोडीले प्रेरणा कोइराला र सुभाङ्गीलक्ष्मी शाहको जोडीलाई ६–१ र ६–३ तथा विजिशा श्रेष्ठ र अभिलाषा विष्टको जोडीले इशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीलाई ६–१ र ६–१ को सीधा सेटमा पन्छ्याउदै फाइनल यात्रा तय गरे।

प्रतिक्रिया दिनुहोस्