भक्तपुरलाई प्रदेश राजधानी बनाउन अनुगमन



पुष्कर बुढाथोकी, भक्तपुर

३ नम्बर प्रदेशको राजधानी भक्तपुरमा राख्न यहाँका भौतिक संरचना र सडकको अनुमगन गरिएको छ ।भक्तपुरका नवनिर्वाचित सांसददेखि एमाले र काँग्रेस पार्टी, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नगरपालिका लगायतले भक्तपुर नै प्रदेश राजधानी उपयुक्त भएको भन्दै यसको माग गरेपछि अनुगमन सुरु गरेको हो ।

भक्तपुरको सानोठिमी क्षेत्रलाई मुख्य मन्त्री एवं मन्त्रालयहरु राख्ने र कृषि विकास तालिम केन्द्रको हललाई प्रदेशको सभा हल बनाउने तयारी अनित्म चरणमा पुगेपछि सडकको समेत अनुगमन सुरु भएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।

प्रदेश सभा स्थल र मन्त्रालय जाने सडकहरुको जानकारीका लागि सांसद महेश बस्नेत, प्रदेश सांसदहरु शशीजंग थापा, राजेन्द्रमान श्रेष्ठ सहित डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारी, उपत्यका विकास प्राधिकरण भक्तपुरका प्रमुख नवराज प्याकुरेल, उपत्यका सडक विस्ता आयोजनाको टोली सहित प्राबिधिक टोलीले सडकको अनुगमन गरेको छ ।

टोलीले प्रदेश सभा स्थल जाने छोटो सडकको रुपमा रहेको राधेराधेदेखि गार्मेन्ट फ्याक्ट्री हुदै थिमि खड्का गाउँबाट कृषि विकास बैंकको तालिम केन्द्र जाने सडक, मध्यपुर अस्पतालदेखि कमेरोटार जग्गा एकिकरण आयोजना हुदै थिमिको मध्यपुरथिमि वप्पा सडक, मध्यपुरथिमि र दधिकोट जाने नयाँ पुल, तर्खगाल सडक, सृजना नगर कटुञ्जे सडक, बालकोट, सिरुटार बिरुवा सडक, जोरपाटी चित्तपोल नाला सडक अनुगमन गरिएको सांसद बस्नेतले जानकारी दिनुभयो ।

अनुमगन गरिएको सडकको स्तरोन्नती गर्ने, कालोपत्र गर्ने र फराकिलो पार्न प्राथमिकताका साथ बजेट ल्याएर काम गर्ने बताउनुभयो । अनुमगनका क्रममा प्रदेश सांसद थापाले विकासका कामलाई तिब्रता दिन आफूहरु लागिसकेको बताउँदै भक्तपुरलाई पूर्ण रुपमा विकास नगरी बिश्राम नलिने बताउनुभयो ।

प्रदेशको राजधानी स्थापनाका लागि प्राविधिक टोलीले भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन समेत बुझाएको छ । सहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय भक्तपुरको प्राविधिक टोलीले मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय र सचिवालयका लागि भौतिक पूर्वाधार तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।

प्राविधिक टोलीले शिक्षा विभाग र तालिम केन्द्रमा तत्कालै मुख्यमन्त्री, मन्त्रालय र सचिवालय, प्रदेश सभा लगायत स्थापना गर्न सकिने जनाएको छ । टोलीले यहाँको भौतिक संचरनाको अनुगमनका क्रममा मन्त्रालयदेखि, सचिवालय राख्न सकिने गरि संर।चना निर्माण भएकाले सरकारलाई निकै सहज हुने जानकारी दिएको छ ।

राजधानीका लागि आवश्यक सबै पूर्वाधार तयारी अबस्थामा रहेको, शिक्षा विभागको भुइँतलामा ३० वटा सुविधा सम्पन्न कोठा रहेको, साढे दुईतले भवनमा पर्याप्त कोठा, बैठक हल, क्यान्टिनको व्यवस्था रहेको, शौचालय, खानेपानी, पार्किङस्थल, सडक, बत्ती, सभाहल रहेको, कृषि विकास बैंकको तालिम केन्द्रमा अत्याधुनिक सुविधायुक्त आवास लगायत पाँच वटा ब्लकको व्यवस्था रहेको, एटयाच बाथरुमसहितको होस्टेल, क्यान्टिनको व्यवस्था रहेको टोलीले सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र जिसस भक्तपुरलाई प्रतिवेदन पेस गरेको छ ।

टोलीले सानोठिमी शिक्षा विभागका अतिरिक्त शैक्षिक जनशक्ति विकास केन्द्रका दुई वटा ब्लककाका सुबिधा सम्पन्न भवनहरु, अनौपचारिक शिक्षा केन्द्र, परीक्षा नियन्त्रण कार्यालय लगायतका भवनहरु रहेकाले यसलाई प्रयोगमा ल्याउन सकिनेछ ।

प्रजिअ पोखरेलले प्रदेशको केन्द्रका लागि संरचना तयार भएको र स्थायी नभए पनि अस्थायी रूपमा तत्कालै मन्त्रालय स्थापना गर्न सकिने पूर्वाधार तयार रहेको बताउनु भयो । यद्यपी आवश्यक पूर्वाधार र अन्य विषयका लागि थप अध्ययन भईरहेको जानकारी दिनुभयो ।

यता भक्तपुर जिल्ला समन्वय समितिले सर्वदलीय एवं सर्वपक्षीय बैठक राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको राजधानी भक्तपुरमा बनाउन सकिने आधारसहितको प्रस्ताव पेस गरेको प्रमुख नवराज गेलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्