विजिशालाई हराउँदै प्रेरणा फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
प्रेरणा कोइराला १५औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्सतर्फ विजिशा श्रेष्ठलाई ६–२, ७–६ ले हराउँदै फाइनलमा प्रवेश गरेकी छन्।

प्रेरणाले उपाधिका लागि राणा दिदीबहिनी मायांका र माहिकामध्ये एकसँग खेल्नेछिन्। दोस्रो सेमिफाइनल खेल धमिलो प्रकाशका कारण स्थगित गरिएको छ। बिहीबार फाइनल खेल्ने खेलाडीको टुंगो लाग्ने पनि आयोजकले जनाएको छ। स्थगित हुनुअगाडि मायांका र माहिकाले एक–एक सेट जितेको अवस्था थियो। यस्तै सोही स्पर्धाको ब्वाइज सिंगल्सतर्फ निन्वाम राई र सम्यकभूषण व्रजाचार्य अन्तिम चारमा पुगेका छन्। निन्वामले श्रीयश अग्रवाललाई ६–४, ७–५ तथा सम्यकले आकाश मानन्धरलाई ६–०, ६–० ले ह्वाइटवास गरेका थिए।

यु–१४ ब्वाइज सिंगल्समा आदित सुवेदीले कुवेहाङ राईलाई ६–३, ६–०, आर्यन गिरीले निश्चल अधिकारीलाई ६–३, ६–१ तथा निशान श्रेष्ठले आदित अग्रवाललाई ६–०, ६–१ को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे। सरोज तामाङ पनि आदित सुवेदीबाट वाकओभर पाउँदै अन्तिम चारमा पुगे। सोही उमेर समूहको गल्र्स सिंगल्समा अभिलाषा विष्टले रायना शाहलाई ४–६, ६–१, ६–१ तथा इशाश्री शाहले सर्भानी श्रेष्ठलाई ६–२, ३–६, ६–३ को सेटमा पन्छ्याउँदै उपाधि भिडन्त पक्का गरे।

प्रतिक्रिया दिनुहोस्