प्रदेशसभामा १३ हजार ३ सय मत बदर



गणेश घिमिरे, इलाम

इलाममा समानुपातिकतर्फको मतगणना बिहीबार बिहान सम्पन्न भएको छ। मतगणनामा नेकपा एमालेले जम्मा प्रतिनिधिसभातर्फ ६१ हजार ९ सय २८ मत प्राप्त गर्दै इलाममा समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ। एमालेले कांग्रेस भन्दा १९ हजार ५ सय ३६ मत बढी ल्याएको हो। कांग्रेसले जम्मा ४२ हजार ३ सय ९२ मत ल्याएको छ। यस्तै समानुपातिकतर्फ इलाममा तेस्रो दल बनेको नेकपा माआवादी केन्द्रले ७ हजार २ सय २६ मत प्राप्त गरेको छ।

दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा समानुपातिकतर्फ जम्मा १ लाख ३४ हजार २ सय २७ मत खसेको थियो। त्यसमा १ लाख २६ हजार ४ सय ४९ मत सदर भएको थियो। सदर भएको मतगणनाको क्रममा इलाममा समानुपातिकतर्फ प्रतिनिधिसभामा एमाले पहिलो, कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको हो। प्रत्यक्षतर्फ निर्वाचनमा पनि जिल्लामा वाम गठबन्धनले क्लिन स्विप गर्दै पहिलो स्थान हासिल गरेको थियो। यसै गरी समानुपातिकको प्रदेशसभातर्फ पनि एमाले पहिलो भएको छ। क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’ तथा क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’ प्रदेशसभातर्फ समानुपातिकमा जम्मा १ लाख ३४ हजार २ सय २७ मत खसेको थियो। जसमा १ लाख २० हजार ८ सय ५९ मत सदर भएको थियो। सदर मतमध्ये एमालेले प्रदेशसभामा सबैभन्दा बढी ५७ हजार ६ सय ६५, दोस्रो स्थानमा रहेको कांग्रेसको ३९ हजार ८ सय ७५ र तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ८ हजार ६ सय ९२ मत पाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ जम्मा ८ हजार ६६ र प्रदेशसभातर्फ जम्मा १३ हजार ३ सय ६८ मत बदर भएको छ। यसै क्रममा समानुपातिकतर्फको अन्तिम मतगणनाअनुसार संघीय समाजवादी फोरम नेपाल जिल्लामा चौथो दल बन्दै प्रतिनिधिसभामा ३ हजार ३ सय ५७ र प्रदेशसभामा ३ हजार ३ सय ४० मत प्राप्त गरेको छ। प्रतिनिधिसभातर्फ नै अरुणपूर्व लिम्बुवान राज्य हुनुपर्ने माग राख्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पाँचौं पार्टी भएको छ। उसले प्रतिनिधिसभातर्फ २ हजार ३ सय ७२ र प्रदेशसभातर्फ २ हजार ८ सय २६ मत पाएको छ। समानुपातिकतर्फको गणना सकिएर नतिजा सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए। सुवेदीले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्