निर्वाचन परिणाम, कसैलाई हाई–हाई कसैलाई बाईबाई



    प्रशान्त वली, काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपरिणाम करिब अन्तिम चरणमा पुगेको छ। मंगलबार अबेरसम्म कूल १ सय ६५ सिटमध्ये १ सय ६१ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ।
जसमा वाम गठबन्धनको एमाले ७७ सहित अग्र स्थानमा छ। माओवादी केन्द्र ३६, नेपाली कांग्रेस २२, राष्ट्रिय जनता पार्टी ११, संघीय समाजवादी फोरमले १० स्थानमा सफलता हासिल गरेको छ। सार्वजनिक परिणामअनुसार राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्तिले १⁄१ सिटमा वियजी हासिल गरेका छन्। स्वतन्त्रसहित अन्य ५ स्थानमा विजयी भएका छन्।
यसपटक शीर्ष ३ दलका दोस्रो वरीयताक्रमका नेतालाई चुनाव फापेन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हार व्यहोर्नुपर्यो। राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण भूमिकामा दोहोरिने यी ३ दलका सेकेन्डमेन चुनावी दौडमा सफल बन्न सकेनन्।
वाम गठबन्धनका सूत्रधार मानिएका गौतम र श्रेष्ठले चुनावमा पराजय व्यहोर्नुभयो भने २०४८ देखि संसद्मा निरन्तर प्रतिनिधित्व गर्दै आउनुभएका विजयी पौडेललाई  यसपटक पल्ला भारि भयो।
उहाँलाई वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले तनहुँ १ बाट पराजित गर्नुभयो। कांग्रेसकै नेता गोविन्दराज जोशी पौडेलका विरुद्ध बागी उठेपछि निर्वाचनअघि नै चुनावी माहोल बिग्रिएको थियो। मुलुकभर बामपन्थी गठबन्धनले उत्साहपूर्ण नतिजा प्राप्त गरिरहेका बेला गौतम र श्रेष्ठ त्यो सूचिमा सामेल बन्न सक्नुभएन।
वाम गठबन्धन निर्माणको महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख नेता हुनुहुन्थ्यो, गठबन्धनको माहोल उहाँकै निवास ललितपुरस्थित भैंसेपाटीमा तयार भएको थियो। चुनावपछिका प्रधानमन्त्रीका दावेदार मानिनुभएका उहाँ निर्वाचनमा असफल भएसँगै सत्ताको नायक बन्ने अवसरबाट वञ्चित बन्नुभएको छ। वाम गठबन्धनले सफलता हासिल गर्दा माओवादी नेता श्रेष्ठ आफ्नै पूर्वसहयात्री डा. बाबुराम भट्टराईसँग पराजित बन्नुभयो। २०६४को पहिलो संविधानसभा चुनावमा समानुपातिकतर्फबाट संसद् बनेपनि उहाँलाई प्रत्यक्षतर्फको चुनाव फापेन। श्रेष्ठ २०७०को दोस्रो संविधानसभामा मकवानपुरबाट समेत पराजित बन्नुभएको थियो।
विकासप्रेमी नेताको छवि बनाएका डा. भट्टराईसँग श्रेष्ठ स्वभाविक रूपमा असफल बन्नुभएको विश्लेषण गर्न थालिएको छ। त्यसो त कांग्रेसका पौडेलबाहेकका अन्य शीर्ष नेता पनि यो निर्वाचनमा असफल बनेका छन्। कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, डा. रामशरण महत, डा. प्रकाशसरण महत, अर्जुननरसिंह केसी, दीपक गिरी, महिला नेतृ डिना उपाध्याय, सीता गुरुङलगायतका नेता चुनावमा पराजित हुनुभयो। यस्तै राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरालाई यो चुनाव उपलब्धिमूलक बन्न सकेन ।
प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेपछि नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ। चुनावबाट ७७ सिट प्राप्त गर्दै एमाले पहिलो दल बनेको छ। यस्तै प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ३६ सिट प्राप्त गर्दै माओवादी केन्द्र दोस्रो दल बनेको छ।
वामपन्थी गठबन्धनले चुनावअघि दाबी गरेझै प्रतिनिधिसभामा प्रत्यक्षतर्पm दुई तिहाइ बहुमत हासिल गर्न सफल बनेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा ५ वर्षका लागि २ सय ७५ प्रतिनिधिसभा सदस्य र ५ सय ५० प्रदेशसभा सदस्य चुनिँदै छन्। त्यसमध्ये प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद चुनिने क्रम अन्तिम चरणमा पुगेको छ। यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० सांसद चुनिनेछन्।
प्रत्यक्ष तर्फको प्रतिनिधिसभा निर्वाचनमा प्रदेश नम्बर एकबाट एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराईसहितका शीर्ष नेता निर्वाचित हुनुभएको छ। सोही प्रदेशबाट एमालेका वसन्त कुमार नेम्वाङ, राजेन्द्रप्रसाद गौतम, विशाल भट्टराई, यज्ञराज सुनुवार, पवित्रा निरौला, लालप्रसाद साँवा लिम्बू, भवानीप्रसाद खापुङ, राजेन्द्रकुमार राई, घनश्याम खतिवडा, जयकुमार राई, भानुभक्त ढकाल, लालबाबु पण्डित विजयी हुनुभएको छ। पूर्वसामान्य प्रशासन मन्त्री पण्डित कांग्रेसका हेबीवेट मानिने डा. शेखर कोइरालालाई पराजित गरेपछि निकै चर्चामा हुनुहुन्छ।
वामपन्थी गठबन्धनबाट प्रदेश नम्बर २ मा प्रतिनिधिसभामा लीलानाथ श्रेष्ठ र रघुबीर महासेठ मात्रै निर्वाचित हुनुभएको छ। वामपन्थी गठबन्धन अपेक्षाअनुसार यहाँ निकै कमजोर सावित हुनपुग्यो।
प्रदेश ३ मा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, ईश्वर पोख्रेल, सुरेन्द्र पाण्डे, महेश वस्नेत, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी नारायणप्रसाद खतिवडा, शेरबहादुर तामाङ, गणेशकुमार पहाडी विजयी हुनुभएको छ। यसै गरी एमालेबाटै कृष्णबहादुर राई, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, नवराज सिलवाल, गोकुलप्रसाद बाँस्कोटा, कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, कृष्णभक्त पोख्रेल, कृष्णलाल महर्जनले समेत सफलता हासिल गर्नुभएको छ।
यस्तै प्रदेश नम्बर ४ मा एमालेका खगराज अधिकारी, रविन्द्र अधिकारी, पोल्देन छोपाङ गुरुङ, प्रेमप्रसाद तुलाचन, भुपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, जगतबहादुर सुनार (विश्वकर्मा), कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, तिलबहादुर महत क्षेत्री, पदम गिरी निर्वाचित हुनुभएको छ। प्रदेश ५ बाट एमालेका केन्द्र्रीय नेता विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, गोकर्णराज विष्ट, छविलाल विश्वकर्मा, सोमप्रसाद पाण्डेय, दलबहादुर राना, बृजेशकुमार गुप्ता, मेटमणि चौधरी, नन्दलाल रोका क्षेत्री, हृदयेश त्रिपाठी, हीराचन्द्र केसीले सफलता प्राप्त गर्नुभएको छ।
प्रदेश ६ बाट धनबहादुर बुढा, गोपालबहादुर बम, रविन्द्रराज शर्मा, धुव्रकुमार शाही, नवराज रावत, राजबहादुर बुढाक्षेत्री विजयी हुनुभयो। प्रदेश ७ मा एमालेका उपाध्यक्ष भीम रावलसहित लालबहादुर थापा, भैरवबहादुर सिंह, दामोदर भण्डारी, गणेशसिंह ठगुन्ना, यज्ञबहादुर बोगटी, प्रेमबहादुर आले, नरबहादुर धामी, दीपक प्रकाश भट्ट र नारदमुनि राना विजयी हुनुभएको छ। राना प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणालाई पराजित गरेपछि निकै चर्चामा हुनुहुन्छ।
माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कृष्णबहादुर महरा, मातृकाप्रसाद यादव, वर्षमान पुन शक्तिबहादुर बस्नेत, हरिबोलप्रसाद गजुरेल, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, अग्निप्रसाद सापकोटा, सुरेन्द्रकुमार कार्की, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, देवेन्द्र पौडेल, टेकबहादुर बस्नेत विजयी हुनुभयो। निर्वाचन नजिकिँदै जाँदा नयाँ शक्ति परित्याग गरेर पुरानै पार्टीमा फर्किएका नेता पौडेललाई यो निर्वाचनले राजनीतिक उचाइ बढाएको चर्चा गर्न थालिएको छ।
सोही पार्टीबाट कमला रोका, पम्फा भुसाल, बीना मगर निर्वाचित महिला सांसद बन्नुभएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा पति साकार दाहाल प्रकाशको निधनले शोकमा रहनुभएकी मगरले कञ्चनपुरबाट चुनावी सफलता हासिल गर्नुभएको छ।
माओवादी केन्द्रकै प्रभु साह, रामेश्वरराय यादव, गौरीशंकर चौधरी, सुदन किराँती, दुर्गबहादुर रावत, हरिराज अधिकारी, श्यामकुमार श्रेष्ठ, महेश्वरजंग गहतराज, लेखराज भट्ट, हितबहादुर तामाङ, सुरेशचन्द्र दास, शिवकुमार मण्डल, अमनलाल मोदी, गंगाबहादुर तामाङ, हेमकुमार राई, गजेन्द्रबहादुर महत, सन्तकुमार थारु, चक्रपाणि खनाल, सुरेशकुमार राई पनि निर्वाचित हुनुभएको छ।
निर्वाचनअघि बनेको वामपन्थी गठबन्धनले कांग्रेसलाई निकै ठूलो धक्का दिने अपेक्षा गरिएको थियो, अहिले परिणाम पनि त्यस्तै आएको छ। कांगे्रसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवासहित डा. मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा, प्रकाशमान सिंह अमरेश सिंह, डा. शशांक कोइराला, अभिषेकप्रताप शाह, सीताराम मेहता प्रतिनिधिसभा सदस्यतर्फ विजयी हुनुभएको छ। गृह जिल्ला भोजपुर चटक्कै छोडेर सुनसरीबाट निर्वाचन लड्दै गर्दा जिल्लाबासी र पार्टीका शुभेच्छुकहरुबाट निकै आलोचनासमेत खेपेका नेता कार्कीलाई नयाँ क्षेत्र फापेको छ।
यही निर्वाचनबाट कांग्रेसका थोरै प्रत्यक्ष निर्वाचित हुने सांसदको सूचीमा सञ्जय गौतम, देबेन्द्रराज कंडेल, भरतबहादुर शाह, डा. नारायण खड्का, तेजुलाल चौधरी, प्रदिप गिरी, उमाकान्त चौधरी, भीमसेनदास प्रधान, मोहन आचार्य, राजन केसीसमेत सूचिकृत हुनुभएको छ। सफलताको सूचीमा देवप्रसाद तिमिल्सिना, प्रमोदकुमार यादव, मोहम्मद अफताव कलामसमेत रहनुभएको छ।
निर्वाचनको आखिरी समयमा वामपन्थी गठबन्धन छोडेर कांग्रेससँगको चुनावी तालमेल नयाँ शक्तिका पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई गज्जबले फापेको छ। धेरै ठाउँको चुनावी माहोललाई तान्न सफल गोरखा क्षेत्र नं २ बाट उहाँले संसद्मा प्रतिनिधित्व गर्दै हुनुहुन्छ। राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई यो चुनाव फाप्यो। पौडेलको सफलतासँगै जनमोर्चाले वर्षौपछि प्यूठानमा पार्टीलाई उचाइमा पुर्याउन सफल भएको सो पार्टीका कार्यकर्ता तर्क गर्छन्। जुम्ला र दैलेख सन्तोषजनक अवस्थामा रहेको नेमकिपाका नेता चुनावी मुखैमा वामपन्थी गठबन्धनमा प्रवेश गरेपछि सो पार्टीको सफलता भक्तपुरमा मात्रै खुम्चिएको छ।
स–साना मधेसवादी दल आपसमा मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अधिकांश नेता यो चुनावमा सफल बनेका छन्। महन्त ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादब अनिलकुमार झा, शरदसिंह भण्डारी निर्वाचित हुनुभएको छ। मधेस राजनीतिका चर्चित पात्र महतोले कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गर्न सफल बन्नुभएको छ। सोही पार्टीबाट लक्ष्मणलाल कर्ण, चन्द्रकान्त चौधरी, एकवाल मियाँ, रेशम चौधरी निर्वाचित हुनुभएको छ। कैलाली घटनाका मुख्य आरोपी चौधरीले निर्वाचनमा सफलता प्राप्त गरेपछि उहाँको अबको राजनीतिक भविष्य के कस्तो हुन्छ भन्ने चर्चा गरिन थालिएको छ।
यही निर्वाचनबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसहित सोही पार्टीका रामबाबु यादव, विमल श्रीवास्तव, प्रदिप यादव, हरिनारायण प्रसाद रौनियार विजयी हुनुभयो। यस्तै, मोहमद इस्तियाक राई, रामसहाय प्रसाद यादव, सुरेन्द्रकुमार यादव, डा. सूर्यनारायण मण्डलसमेत निर्वाचित हुनुभएको छ। पार्टीले टिकट नदिएपछि माओवादी विरुद्धका बागी उम्मेदवार छक्कबहादुर लामाले हुम्लाबाट चुनावी सफलता हासिल गर्नुभएको छ। उहाँ यो निर्वाचनका स्वतन्त्र निर्वाचित सांसदसमेत बन्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्