६७ प्रतिशत मतदान, शहरी क्षेत्रका मतदातामा उत्साह देखिएन



सुनील महर्जन, काठमाडौं
४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

यस प्रतिशतलाई आयोगले उत्साहजनक, व्यापक सहभागिताको उपजका रूपमा लिएको जनाएको छ। सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको थियो।

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा कुल मतदाता १ करोड २२ लाख ३५ हजार ९ सय ९३ रहेका थिए।

१ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेशसभा सदस्यका लागि ७ हजार ७ सय ५२ मतदानस्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएको थियो। ती मतदान केन्द्र डेढ घण्टादेखि कम्तीमा ५ मिनेटमा पुग्ने सक्ने दूरीमा राखिएको थियो।

दिउँसो ३ बजेसम्म ५७ प्रतिशत मतदान भएको थियो। त्यस्तै २ बजेसम्म ५० प्रतिशत मतदान भएको थियो। यद्यपि छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मथुरा निम्न माध्यमिक विद्यालय नेटा मतदानस्थलका (क) र (ख) गरी दुईवटा मतदान केन्द्रको मतदान कार्य बिहीबार स्थगित भएको छ। मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान कार्य स्थगित भएको हो। सो मतदान केन्द्रमा केही दिनभित्रै पुनः मतदान गर्ने व्यवस्था मिलाइनेछ।

हिजो भएको निर्वाचनमा खसेको मत पहिलो चरणको निर्वाचनको तुलनामा तीन प्रतिशतले बढी हो। १० मंसिरमा ३२ जिल्लामा भएको निर्वाचनमा ६४ प्रतिशत मत खसेको थियो। उच्च हिमाली भेगमा अत्यन्त चिसो, भौगोलिक विकटता र सुरक्षा चुनौतीका आधारमा सो प्रतिशतलाई सन्तोषजनक मान्नुपर्ने आयोगसँगै निर्वाचन पर्यवेक्षण गरेकाहरूले प्रतिक्रिया दिएका थिए। आयोगको सो भनाइका आधारमा दोस्रो चरणको निर्वाचनमा खसेको मतको तुलना गर्ने हो भने सन्तोषजनक नभएको निर्वाचन पर्यवेक्षकहरू बताउँछन्।

२०४८ सालदेखिको निर्वाचनको पर्यवेक्षण गर्दै आउनुभएका आम निर्वाचन पर्यवेक्षण समितिका महासचिव कृष्णमान प्रधानले भन्नुभयो– ‘खसेको मत प्रतिशत सन्तोषजनक भएन।’ मत प्रतिशत सन्तोषजनक नहुनुमा महासचिव प्रधानले चारवटा कारणहरू औंल्याउनुभयो।

पहिलो कारण अत्यन्त चिसोको समयमा निर्वाचन भएकाले ज्येष्ठ नागरिक, फरक क्षमता भएका र सुत्केरी महिलाहरू भोट हाल्न गएनन्। दोस्रो कारण राजनीतिक दलप्रति वितृष्णा रहेको छ। ‘जुनसुकै उम्मेदवार जितेपछि आफ्नो क्षेत्रमा नाकमुख देखाउन आउने होइन। देश र जनताप्रति जवाफदेही र उत्तरदायी बहन गर्ने विश्वास हराएको छ।’ –उहाँले भन्नुभयो।

दलहरूको माथिल्लोस्तरमा गठबन्धन हुँदा तल्लो पंक्तिमा रहेका मतदाताले त्यसलाई खासै नरुचाउनु तेस्रो कारण हुन्। चौथो भनेको सुरक्षा व्यवस्थाप्रति मतदाताहरू आश्वस्त नहुनु रहेका छन्।

संविधान जारी भएपछि संघीय र प्रादेशिक संरचनाका लागि पहिलो पटक भएको निर्वाचनमा मत प्रतिशत बढी नै खस्ने आयोगले पनि अपेक्षा गरेको थियो। जनसुकै दलले जिते देश र जनताको स्थिति आधारभूत परिवर्तन ल्याउने विश्वास शहरी क्षेत्रका मतदातामा नदेखिएको संकेतका रूपमा निर्वाचन पर्यवेक्षणहरूले लिएका छन्।

काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदाताहरू भीड देखिएको थिएन। मतदाताहरू सहजै मतदान केन्द्रमा पसेर खुरुखुरु मतदान गरेर बाहिर निस्किने स्थिति थियो। मतदाता अलि कमै आएका हुन् कि भन्ने प्रश्नमा ललितपुर महानगरपालिका–१६ स्थित मंगलबजार मतदानस्थलमा खटिएका सुरक्षाकर्मी र मतदान अधिकृतसँग जिज्ञाशा राख्दा ११⁄१२ बजेपछि मतदाताहरू आउने विश्वास व्यक्त गरेका थिए।

बिहानीको तुलनामा दिउँसो समयमा लामबद्ध भएका मतदाताहरू अलि बढी देखिन्थे। लामाबद्ध भएका अधिकांश महिलाहरू रहेको पाइएको छ। आयोगका अनुसार दिउँसो १० बजेसम्ममा २० प्रतिशत मतदान भएको थियो।

ललितपुरको क्षेत्र नम्बर १ को कोन्ज्योसोम गाउँपालिकाको भारदेउ, टीकाभैरवको सामुदायिक भवनलगायत मतदान केन्द्रमा दिउँसो १२ बजेसम्ममा थोरै मत खसेको मतदान अधिकृत कृष्णप्रसाद पौडेलेले बताउनुभयो। ललितपुर, काठमाडौं र भक्तपुरमा विभिन्न मतदान केन्द्रहरूमा खासै भीडभाड नदेखिएपछि शहरी क्षेत्रमा निर्वाचनमा उत्साह कम छाएको निर्वाचन पर्यवेक्षण र स्वयं उम्मेदवारले अनुभूत गरेका थिए।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा मतदाताहरू अलि पातलो देखिएको स्वीकार गर्नुभयो। काठमाडौं उपत्यकालगायत जिल्लामा बिहान ७ बजेअघि मतदाताहरू मतदान केन्द्रहरूमा लामबद्ध थिए। ‘यो प्रतिशत प्रारम्भिक विवरण हो। मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने सम्भावना छ।’ –यादवले भन्नुभयो।

बढ्दो चिसोको समेत वास्ता नगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाताहरूले मतदान गर्नुभएको प्रमुख निर्वाचन आयुक्त डा. यादवको दाबी रहेको छ। केही मतदान केन्द्रमा मतदान प्रतिनिधि समयमा उपस्थित नभएका कारणले केही ढिलो मतदान आरम्भ भए पनि सबै मतदान केन्द्रहरूमा तोकिएकै समयमा निर्वाचन शुरू भएको आयोगले जनाएको छ।

विगतमा भएको संसदीय निर्वाचनमध्ये २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनवाहेक २०४८, २०५१, २०५६, २०६४ मा भएको निर्वाचनमा पनि कुल मतदाताको ६५⁄६६ प्रतिशतको हाराहारीमा मत खसेको पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले जानकारी दिनुभयो। ‘६७ प्रतिशतलाई सन्तोषजनक मान्नुपर्दछ’, उहाँले भन्नुभयो– ‘शहरी क्षेत्रका मतदातामा निर्वाचनप्रति कम उत्साह रहेको सही हो।’

मतदान गर्नु आफ्नो अधिकार, राजनीतिक दलको घोषणापत्र पढेर मतदाता मत हाल्ने प्रेरित भएको पाइएन। शहरी क्षेत्रमा विशेषतः सञ्चारमाध्यम, सामाजिक सञ्जाल हेरेर मतदाताहरू मत हाल्न उत्प्रेरित भएको पाइयो।

परिवारका मुली, नाताकुटुम्ब, छिमेकीले भनेको आधारमा उम्मेदवार चयनले प्राथमिकता पाएको देखियो। प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक मत भन्दा जानेर बुझेर भन्दा पनि मतदान केन्द्रमा राखिएको तीनवटा मतपेटिकामा मत खसाले भन्ने बताउँने सर्वसाधारणहरू पनि कम भेटिएनन्। ग्रामीण क्षेत्रमा मात्र नभई शहरी क्षेत्रमा मतदाता शिक्षा खासै प्रभावकारी भएको थिएन।

मतदान सम्पन्न भएलगत्तै सबै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा लगिने क्रम राति शुक्रबार बिहानसम्म सकिने आयोगले जनाएको छ।

संकलन भएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन्। मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको छ।

दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मङ्सिर १० गते पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य साँझ ५ बजेबाट शुरू गरिएको छ। पहिलो चरणमा ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको थियो।

दोस्रो चरणको निर्वाचनका सम्बन्धित जिल्लाको सदरमुकाममा मतपेटिका प्राप्त भइसकेपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले आवश्यक तयारी पूरा गरी राति नभए आज बिहानसम्ममा मतगणना शुरू गर्ने आयोगले तयारी अघि बढाएको छ।

मतपरिणाम चारदेखि एक साताभित्र आउने आयोगले जनाएको छ। ‘निर्वाचनबाट संविधान कार्यान्वयन गर्न र सङ्क्रमणकालको अन्त्यका लागि महत्त्वपूर्ण योगदान पुगेको विश्वास लिएको छु।’ –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्