आर्मीको लगातार दोस्रो जित



झापा (नीलो) र सरस्वतीबीचको खेलको दृश्य। तस्वीरः उजोल डंगोल

नेपाल समाचारपत्र
काठमाडौं
डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले जारी ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा आर्मीले मनाङमस्र्याङ्दी क्लबमाथि सानदार जित हात पारेको हो। आर्मीले मनाङलाई ५–१ गोलअन्तरले हराएको थियो। टोलीका जितमा प्रिजन तामाङ, दिनेश योन्जन, दोर्जे तामाङ र रोमन लिम्बुले समान एक–एक गोल गरे। एक गोल आत्मघाती थियो। मनाङका तर्फबाट एक मात्र गोल गरे आदित्य शाक्यले।

आर्मीले २०औं मिनेटमा प्रिजनको गोलमार्फत् मनाङमाथि आधिपत्य जमाएको थियो। पहिलो हाफमा आर्मीलाई मनाङले यसै एक गोलमा रोके पनि दोस्रो हाफमा भने सकेन। दोस्रो हाफमा आर्मीले थप चार गोल गरेको थियो। जसमा दिनशेले ६२औं मिनेटमा २–० को अग्रतामा राखे भने ६७औं मिनेटमा दोर्जेले टोलीको तेस्रो गोल गरेका थिए। आदित्यले ७४औं मिनेटमा एक गोल फर्काएर गोलअन्तर खुम्च्याए भने एक मिनेटपछि नै आर्मीले आत्मघाती गोल उपहार पायो।

तर आर्मी ८८औं मिनेटमा १० खेलाडीमा सीमित भयो। कप्तान सुमान अर्याल दोहोरो पहेँलो कार्ड आत्मसात गरेर बाहिरिँदा पनि मनाङले खेलमा फर्कन सकेन। जबकि आर्मीले त्यसपछि एक गोल थपेर प्रतियोगितामा दोस्रो जित हासिल गरेको थियो। पाँचौं गोल रोमनले गरेका थिए।

लगातार दोस्रो जितसँगै समूह ‘बी’मा रहेको आर्मीले ६ अंक जोड्दै क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। आर्मीले पहिलो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको थियो। यता लगातार दोस्रो हार बेहोरेको मनाङको क्वार्टरफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। अंकविहीन मनाङ पहिलो खेलमा फ्रेन्डस क्लबसँग पराजित भएको थियो।

यस्तै हिजै भएको अर्को खेलमा झापा ११ लाई ३–२ ले संघर्ष गरी हराएर सरस्वती युथ क्लबले जितको स्वाद लियो। टोलीको जितमा रोहन थपलिया, दीपक घिसिङ र सुजन श्रेष्ठले समान गोल गरे। खेलमा सरस्वती ६९औं मिनेटमा ३–० को अग्रतासँगै फराकिलो जिततिर अग्रसर थियो। ७०औं मिनेटमा अजय दनुवारले एक गोल गर्दै झापालाई खेलमा फर्काउने प्रयास गरे। अतिरिक्त समयमा सविन थापामगरले एक गोल गरेपनि झापाले खेल ३–२ ले गुमाउन पुग्यो।
जितसँगै समूह ‘ए’मा रहेको सरस्वतीले ३ अंक जोड्दै अन्तिम आठमा पुग्ने सम्भावना जीवितै राखेको छ। सरस्वती पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो। झापा–११ भने पहिलो खेलमा च्यासलसित अन्तिम सेकेन्डमा बराबरीमा रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्