भिजिट भिसा किन बन्द ?



नेपाल सरकारले भिजिट भिषामा विदेश जान स्वीकृत नदिने निर्णय गरेको छ। जुन एकदम गलत कदम हो जसले लाखौं नेपालीलाई अझै पीडा दिएको छ। आफूले नेपालमा रोजगारी दिन नसक्ने, अन्तर्राष्ट्रिय जगतबाट आउने सहयोग अनुदान सबै आफ्नो र कार्यकर्ताको पालनपोषणमा लगानी गर्ने यो सरकारबाट देशमा रोजगारीको सिर्जना गर्ने कल्पनासमेत गर्न सकिँदैन। यो बारेमा मुख किन खोल्दैनन् बुद्धिजीवी कहलिएकाहरु? विदेशी कम्पनीले नेपालमा प्रायः निशुल्क भिसा दिने गर्दछन्। कतिपयको लागत एकदम न्यून हुने गर्दछ। उल्टै कम्पनीहरुले म्यानपावरलाई कामदार उपलब्ध गराए बापत रकम दिने गर्दछन्। जुन पैसा कम्पनीका अधिकारीहरुको मिलेमतोमा म्यानपावरहरुले लिन्छन्। नेपालबाट विदेश पठाउदा लाग्ने शुल्क महँगो बनाएर तेसको केही प्रतिशत सरकारलाई बुझाउनुपर्दछ। पैसा तिर्नेबेला एउटा र एयरपोर्टमा देखाउने भन्ने बेला एक चौथाइ मात्र तिरेको हो भन्न लगाइन्छ। जुन माथिसम्मको सेटिङमा हुन्छ।

केही कम्पनीमा थोरै मात्रामा कामदार चाहिने हुँदा २÷४ जनाका लागि भिसा पठाउन ज्यादै झन्झटिलो हुने कम्पनीहरु बताउँछन्। यसका लागि भरपर्दो माध्यम हो भिजिट भिसा। विभिन्न देशहरुले नेपालीलाई भिजिट भिसा दिने गर्दछ्न। कति समयका लागि हो त्यो अवधिमा हामीले आफूलाई मन पर्ने आफ्नो योग्यता र सीपको आधारमा कम्पनीसँग अन्तर्वार्ता गरेर काम खोज्न सकिन्छ जुन एकदम राम्रो पक्ष हो। नेपालबाट ल्याउने कामदारहरुलाई आकर्षक काम र दाम भनेर ल्याइन्छ तर विदेशमा आएपछि काम अर्कै र दाम ज्यादै न्यून हुने गर्दछ। लाखौं नेपाली यसको सिकार भएका छन्। महँगो शुल्क तिरेर थोरै तलबमा काम गर्न बाध्य छन्। ऋण धन गरेर कमाउने आशा राखेर आएको नेपालीलाई यहाँ पशुतुल्य व्यवहार गरिन्छ। नेपाल सरकारको कमजोर विदेश नीतिले गर्दा एउटै कामका लागि पनि अन्य देशको तुलनामा निकै कम तलब पाउने गर्दछन्। साथै तल्लो दर्जामा काम गर्नेले पनि नेपालीको इज्जत गर्दैन। भिजिट भिसाबाट सरकारलाई कुनै फाइदा नहुने हुँदा यो बन्द गरिएको जो कोही विदेशीन विवश नेपालीले बुझ्न सक्छन्। यस्तो निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गर्दछौं।
सूर्य रेग्मी, खाडीबाट

सुध्र नेता
६ सय हाराहारीका सभासद, ८० राष्ट्रिय स्तरका दल, हजारौं नेता, ४० भन्दा बढी मन्त्री, त्यही पनि देशका जनताले एक छाक खानका लागि संघर्ष निरन्तर गरिरहेका छन्। नेपाल विश्वकै सुन्दर देशको सूचीमा परेको छ। तर, केही भ्रष्ट नेताले यो सुन्दर देशलाई कुरुप बनाएका छन्। अकाशमा ध्रुबतारा देखिएझैं यी नेताहरु चुनावको बेला मात्रै देखा पर्छन्। विभिन्न क्षेत्रमा अग्रस्थानमा चिनिने यो देश, आज आफ्नै देशको नेताले गर्दा सबैभन्दा पछाडि परेको छ। शान्तिका दूत मानिने गौतम बुद्ध जन्मिएको यो देश आज अशान्त बनेको छ। देशसँग सबै कुरा भएर पनि, दुर्भाग्यवस गरिब हुन बाध्य बनेका छन् यहाँका जनता। यहाँका नेताहरु भने विदेश भ्रमणमै करोडौं स्वाहा गराउँछन्। तर, आफ्नै देशको दुर्गम क्षेत्र र गाउँमा जाने समय यिनीहरुलाई हुँदैन। भेष–भूषा, भाषा र जातिमाथि राजनीति गर्नेहरु, यदि देशका लागि राजनीति गर्थे भने सायद नेपालको यस्तो दुर्दसा हुने थिएन। आफ्ना छोराछोरीलाई विदेशमा पढाउने तर गरिब जनताका छोराछोरीलाई आन्दोलनमा सहभागी गराई राष्ट्रियताको ढोङ बजाउने नेताले जबसम्म देशको नेतृत्व गर्नेछन् तबसम्म देश यो दुर्दशाबाट कहिले पनि मुक्त हुने छैन। देश विपन्न आफ्नो कारणले भन्दा पनि नेताको कुवुद्धिले गर्दा हो। असल नेतृत्व गर्ने व्यक्ति नभएका कारणले हो। जुन दिन देशमा मधेसीले पहाडी, पहाडीले मधेसी, पश्चिमीले पूर्वेली र पूर्वेलीले पश्चिमीलाई आफ्नो हुन् भन्ने बुझ्छन् त्यो दिन यो देश आर्थिक मात्र होइन हरेक कुरामा विकसित हुनेछ। यदि देशका नेताले नै देश विकास गर्ने महान् कार्यमा आफ्नो सहभागिता जनाउँदैनन् भने देशमा आउन सक्ने समस्या र दुर्घटनाको कसले जिम्मेवारी लिने समस्या नै समस्याको कुरा छ।

त्यसैले यो पत्रमार्फत म सबै नेता, मन्त्री एवं दललाई एकजुट भएर देशको विकास गर्न मद्दत पु¥याउन हार्दिक अनुरोध गर्दछु। साथै हाम्रो आपसी झै–झगडाबाट अरुले फाइदा उठाउने मौका पाउने भएकाले सबैजना मिलि देश बदल्न एकजुट हुन सबैसँग अग्रह पनि गर्दछु। देशलाई चाहिएको राष्ट्रिवादी नेता हो, लम्पसारवादी होइन। त्यसैले राजनीति गर्नुनै छ भने राष्ट्रियताका लागि गरौं, कुनै भाषा, जात वा धर्मका लागि नगरौं।
सम्पन्न पाण्डे ,काठमाडौं

ड्राइभरलाई ट्राफिकले सतायो
सवारी साधन चलाउँदा ट्राफिक प्रहरीले निकै दुःख दिने गरेको मैले महशुस गरेको छु। गाडी चलाउँदा ट्राफिकले अनावश्यक चेकिङ गर्छ, दुःख दिन्छ र सताउँछ। साइड लगाएर चेक गरे पनि हुन्थ्यो। बिनाकारण पनि त्यत्तिकै जरिवाना पनि काटेको छ। जसले गर्दा हामीजस्ता सवारी चालकहरुले ट्राफिक प्रहरीबाट निकै सास्ती व्यहोर्नुपरेको छ। राति गाडी चलाउँदा पनि मैले ट्राफिकबाट गाली खेप्नुपरेको छ। पार्किङ गर्ने ठाउँ छैन। एकैछिन कहीं कतै साइड लगाएर रोक्यो भने पनि किन रोकेको भनेर गाली खाएको छु। यस विषयमा ट्राफिकको केन्द्रीय निकाय गम्भीर हुनुपर्छ। सवारी भएर त ट्राफिक भएको होला। हामीलाई गाली नगरियोस्। बरु मुस्कानसहितको सेवा भनेजस्तै मिठो रुपमा भद्र व्यवहार गरियोस्। हामीलाई भजाइ खाने भाँडो बनाउँदा पिर लाग्छ।
भीमराज कपाली, काठमाडौं

प्रतिक्रिया दिनुहोस्