मेसी प्रतिबन्धबाट मुक्त



ब्युनस आयर्स, (एजेन्सी)

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीमाथि लगाइएको अन्तर्राष्ट्रिय चार म्याचको प्रतिबन्ध हटाएको छ।

फिफाले म्याच प्रतिबन्धसँगै लगाइएको १० हजार स्वीस फ्रान्क जरिवाना पनि हटाउने जनायो। फिफाको उक्त निर्णय कार्यान्वयन भएपछि अर्जेन्टिनाले फिफा विश्व कपमा छनोटका लागि पुनः मेसीको साथ पाउने भएको छ।

यसअघि विश्वकप छनोटअन्तर्गत २४ मार्चमा चिलीविरुद्धको खेलमा सहायक रेफ्रीलाई अपशब्द बोलेका कारण फिफाले मेसीमाथि अन्तर्राष्ट्रिय चार म्याच प्रतिबन्ध गरेको थियो।
चिलीविरुद्धको खेल दौरान कुनै चेतावनी कार्ड नपाए पनि क्यामेराको सहायताले मेसीलाई दोषी ठहर गरिएको थियो।

तर अर्जेन्टिनी फुटबल संघले उक्त कारबाही लागू नगर्न अपिल गरेको थियो। जसअनुसार फिफा अपिल कमिटीले मेसीलाई चार खेल प्रतिबन्ध लगाउनका लागि आधारहरू पर्याप्त नभएको जानकारी गराउँदै प्रतिबन्ध हटाउन राजी भएको हो।

फिफाको पछिल्लो निर्णयप्रति मेसीका वकिल जुआन डी डियोस क्रेस्पोले सन्तुष्ट रहेको संकेत दिएका छन्। उनले भने– ‘मैले राम्रो काम गरेको जस्तो लाग्यो। यसपटक हामीलाई केही नबोल्न भनेका छन्।

फिफाले निर्णय गरेपछि मात्र हामीले प्रतिक्रिया दिनेछौं।’

फिफाको प्रतिबन्धका कारण २८ मार्चमा मेसीको अनुपस्थितिमा बोलिभियाविरुद्ध खेलिएको म्याचमा अर्जेन्टिना २–० ले पराजित भएको थियो। अहिले अर्जेन्टिना विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहको पाँचौं स्थानमा छ। विश्वकपमा सोझै छनोट हुनका लागि अर्जेन्टिनाले कम्तीमा पनि चौथो स्थान हासिल गर्न आवश्यक छ।

उरुग्वे, भेनेजुएला र पेरूविरुद्ध अर्जेन्टिनाले खेल्ने आगामी म्याचमा मेसीले स्थान पाउनेछन्। अर्जेन्टिना दक्षिण अमेरिकी समूहको पाँचौं स्थानमा छ।

शीर्ष चार टोलीले मात्रै स्वतः विश्वकपमा छनोट हुने प्रावधानअनुसार अर्जेन्टिना एक स्थान तल छ।

जब मेसीलाई सजाय तोकियो उनको क्लब बार्सिलोनाले त्यतिबेला रिसाएको भावमा वक्तव्य निकालेको थियो। वक्तव्यमा लेखिएको थियो– ‘आश्चर्य, एक उदाहरणीय खेल व्यक्तित्वलाई सजाय।’

अर्जेन्टिना विश्वकपमा स्वतः छनोट हुने अवस्थाबाट बाहिरिने सम्भावना अहिले छ।

अर्जेन्टिनासँग प्रमुख कोच पनि छैन। एडगार्डो बाउजा अप्रिलमा टोलीबाट बाहिरिएपछि अर्जेन्टिना फुटबल संघले अहिलेसम्म प्रमुख कोच नियुक्ति गरेको छैन। विनाप्रमुख कोच अर्जेन्टिनाले अगस्टमा उरुग्वेको यात्रा गर्न सक्नेछ यदि कोच नियुक्ति नभएमा।

यदि मेसीको उपस्थितिमा बाँकी खेल जितेमा अर्जेन्टिना विश्वकपमा स्वतः छनोट हुने सम्भावना बलियो भएको छ। उनीहरुले पेरु र भेनेजुएलालाई हराएर शीर्ष चारमा उक्लिने आशा पनि गरेका छन्।

अर्जेन्टिना गत विश्वकपको रनर अप टोलीसमेत हो। ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपमा अर्जेन्टिना जर्मनीसँग १–० गोलअन्तरले हारेको थियो।

प्रतिक्रिया दिनुहोस्