सिमेन्टमा माग बढ्दो आपूर्ति अझै कम

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
कासको मेरुदण्डका रूपमा रहेको पूर्वाधार निर्माणमा मुख्य हिस्सा सिमेन्टको हुन्छ। पछिल्लो समस्यमा नेपालमा वृद्धि हुँदै गएको पूर्वाधार निर्माणको क्रम र भूकम्पपछि पुनर्निर्माणको कामले सिमेन्टलगायतका निर्माण सामग्रीको माग वृद्धि हुँदै गएको छ।

नेपाल सिमेन्टमा आत्मर्निभर हुँदै गएको पृष्ठभूमिमा हाल करिब चार दर्जन सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन्। स्वयम् सरकार आफैंले पनि यो क्षेत्रमा लगानी गरेको छ। तर, निजी क्षेत्रको सहभागिता भने बढी छ। बजारमा उपभोक्ताको मागअनुसार सिमेन्टको उपलब्धता नभएको लगायतका गुनासो विद्यमान छ, त्यसबाहेक नेपालमा सिमेन्टको पछिल्लो अवस्था के छ ? भन्ने सन्दर्भमा सिमेन्टको बजारीकरणमा मुख्य भूमिका खेल्दै आएका प्रतिनिधिसँग नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गर्नुभएको संक्षिप्त कुराकानी।

ठूला परियोजनामा स्वदेशी सिमेन्टको प्रयोग बढ्दो

सुजन पौडेल

व्यवस्थापक
बुटवल सिमेन्ट

औसतमा सिमेन्टको बजार राम्रो रहेको छ। भारतबाट आयबाट हुने कच्चा पदार्थको आयात समयमै हुन नसक्दा बजारको माग अनुरुप उद्योगहरूले सिमेन्ट बजारमा पठाउन सकेका छैनन्। साथै भारतको उत्तरप्रदेश राज्यमा ओभरलोड बन्द भएको कारण र कच्चा पदार्थको मूल्यवृद्धिका कारण बजारमा समस्या देखिएको छ। यो सिजनमा विगतको भन्दा भारतबाट आयात हुने कच्चा पदार्थमा समस्या देखिएको छ। कच्चा पदार्थमा पहिलेको तुलनामा भण्डै दोब्बरले वृद्धि भएको र ओभरलोड गर्न नपाउने भारतीय नयाँ नियमका कारण ढुवानीमा समेत मूल्य वृद्धि भएको छ। पहिले १ र्याक सामान ९० देखि सय ट्रकमा ल्याउन सकिन्थो भने हाल २ सयदेखि २ सय ५० ट्रकको आवश्यकता पर्छ।

नेपालमा साधारणता ओपीसी ढलानको लागि प्रयोग र पीपीसी अरु कामको लागि प्रयोग गरिन्छ। ठूलो निर्माण, चिसो ठाउँमा ओपीसी प्रयोग गर्ने र गर्मी ठाउँमा पीपीसीको प्रयोग भइरहेको समेत छ। तर, भारतमा ओपीसीको प्रयोग कम गरिन्छ। मागपछि मात्र ओपीसी उत्पादन गरिन्छ। सबैकाम पीपीसी र पीएससी सिमेन्टबाट नै गरिएको पाइन्छ। नेपालमा भने ओपीसीको प्रयोग बढी रहेको छ। ठूला परियोजनामा हाल धेरैजसो स्वदेशी सिमेन्टले नै प्रयोग भइरहेको छ। मध्यमाञ्चल र पश्चिम क्षेत्रमा आफ्नो बजार क्षेत्र बनाएर सिमेन्टले उत्पादन गर्दै आएको छ।

सिमेन्टको माग बढ्दै गएको छ

राजु श्रेष्ठ

ब्रान्ड मेनेजर
मारुती सिमेन्ट

विगतको वर्षभन्दा यस वर्ष सिमेन्टको ५० प्रतिशतले माग बढेको छ। सबै सिमेन्ट कम्पनीहरूले रामै्र बिक्री गरिरहेका छन्। भारतबाट जस्ले कच्चा पदार्थ ल्याएर सिमेन्ट उत्पादन गर्दै आएछन ती कम्पनीलाई हाल भारतले कच्चा पदार्थमा कडाई गरेका कारण सिमेन्ट पर्याप्त उत्पादन गर्न सकिरहेका छैनन्। जो हामी जस्ता स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर सिमेन्ट उत्पादन गर्छौं त्यस्ता कम्पनीले नै बजार माग धान्नु पर्ने हुँदा हाल बजारमा सिमेन्टको माग बढी देखिएको हो।

अहिले सिमेन्टको सिजन भएकाले गर्दा पनि माग बढेको हो। कच्चा पदार्थको मूल्य बढ्दै गएकाले पनि सिमेन्टको मूल्यमा उतारचडाब आएको हो। सरकारले नै विदेशी कम्पनीलाई ठूला परियोजनामा प्रयोग गरेको छ, त्यसो भन्दैमा स्वदेशी सिमेन्ट नराम्रो भन्ने होइन। स्वदेशी सिमेन्ट पहिलेको तुलनामा हाल ठूला परियोजनामा प्रयोग हुँदै आएको छ। मारुती सिमेन्ट हाल ८० प्रतिशत ठूला परियोजना प्रयोग हुँदै आएको ब्रान्ड हो। स्वदेशी सिमेन्टको प्रयोग हुनुपर्छ र विदेशी सिमेन्टको भर पर्नु हुँदैन भनेर हामीले सम्बन्धित निकायमा माग गरेको छँैं।

ओपीसी सिमेन्ट ठूला परियोजना प्रयोग गरिन्छ। मागेको खण्डमा हामीले ल्याब टेस्ट रिर्पाेट पनि उपल्ध गराउँछँैं हाल हामीले दैनिक ३८ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएका छँैं। ठूला परियोजनालाई लक्षित गरेर हामीले ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएका छँैं। हामीले बजारमा उच्च स्थान ओग्टदै आएका छँैं, अरुको तुलनामा ओपीसी सिमेन्टको मूल्य बढी रहेको छ। सिमेन्टको माग बजारमा उच्च छ। विभिन्न विदेशी कम्पनीले समेत लगानी बढाएका छन्। बजार मागलाई सम्बोधन गर्न कम्पनीले नयाँ–नयाँ मेसिन भित्र्याएर उत्पादन क्षमता बढाउँदै छ।

सिमेन्टको मागअनुसार आपूर्ति कम

सुवास खतिवडा

ब्रान्ड मेनेजर
युनाइटेड सिमेन्ट

सिमेन्ट एकदमै दु्रत गतिमा अघि बढिरहेको उद्योग हो। कुनै पनि विकासशील मुलुकमा भौतिक संरचना निर्माणमा बढी जोड दिइएको हुन्छ। त्यही भएर नेपालजस्तो विकासशील मुलुकमा सिमेन्टको बढी माग हुन्छ। नेपाल भूकम्पपछि पुनर्निर्माणको चरणमा छ। त्यसैले सिमेन्टको एकदमै राम्रो माग छ।

नेपालमा माग अनुसारको सिमेन्ट अझै पनि उपलब्ध भइसकेको छैन। यसको मुख्य कारण भनेको अझै पनि नेपालमा पर्याप्त सिमेन्ट उद्योग छैनन्। हामीलाई अझै दुई तीन वटा ठूला सिमेन्ट उद्योग चाहिएको छ। अहिले पनि पूर्ण रूपमा मुलुक सिमेन्टमा आत्मनिर्भर भइसकेको छैन। नेपाली बजारमा आयातित सिमेन्ट छ। तर, पहिलेको भन्दा अहिले एकदमै परिवर्तन भइसकेको छ। १० वर्ष अगाडि नेपाली सिमेन्टको हिस्सा ३० प्रतिशतमात्रै थियो। अहिले करिब २० प्रतिशतमात्रै आयात हुन्छ।

सिमेन्टको बजार अलिकति सिजनल पनि हुन्छ। सिजन भनेको फागुनबाट जेठसम्मको अवधिमा माग एकदमै बढी हुन्छ र सप्लाई कम हुन्छ। त्यही भएर बजारमा सिमेन्टको अभाव हुन्छ, केही ठूला युनिट आउँदैछन्। अब केही समयपछि मागअनुसारको आपूर्ति हुन सक्ला भन्नेमा हामी आशावादी छँैं।

ठूला आयोजनामा विदेशी सिमेन्टको प्रयोग बढी हुन्छ। साना निर्माणमा मात्रै स्वदेशी सिमेन्ट प्रयोग हुन्छ भन्ने आम बुझाईमा अहिले परिवर्तन आएको छ। ठूला परियोजनामा पनि स्वदेशी सिमेन्टको माग बढिरहेको छ। ड्युटी फ्री प्रोजेक्टमा अहिले पनि भारतीय सिमेन्ट नै बढी प्रयोग भइरहेको छ। तर, यसको मतलब यो होइन कि नेपाली सिमेन्टले सानो संरचना मात्र बनेको र विदेशी सिमेन्टले ठुलो बनेको भन्ने होइन। ठूला जलविद्युत्, सडक आयोजना र व्यावसायिक भवन निर्माण राम्रोसँग नेपाली सिमेन्ट प्रयोग भइरहेको छ।

अहिले मूल्यमा उतारचढाव आउनुमा एउटा माग र आपूर्तिका कारण हो। अहिले मूल्य एकदमै बढेको हो भन्ने मलाई लाग्दैन। कम्पनीको राखेको मुल्यमा केही मुनाफा राखेर नै डिलर ले विक्री वितरण गर्ने हो। अहिले मूल्य बढ्नुमा भारतबाट आयात हुने क्लिंकर कम मात्रामा आइरहेको छ। कम क्लिंकर आयात हुँदा बजार माग अनुसार सिमेन्ट पर्याप्त उत्पादन भइरहेको छैन।

ओपीसीमा क्लिंकरको मात्रा ९८ प्रतिशतसम्म हुन्छ। पीपीसी सिमेन्टमा केही प्रतिशत खरानी मिसाइएको हुन्छ। यो खरानी भनेको काठको खरानी होइन ठूला थर्मल प्लान्टबाट उत्पादन भएको खरानी हो। पीपीसी सिमेन्टका लागि चाहिने एउटा वस्तु नै हो खरानी। यी दुईवटा सिमेन्टमा मुख्य फरक के हो भने ओपीसी सिमेन्ट चाँडो सेट हुन्छ। ओपीसीको स्ट्रेन्थ भनेको २८ दिनको हुन्छ। त्यो भनेको ओपीसी सिमेन्ट पीपीसीको तुलनामा चाँडो सेट हुन्छ।

ढलान र पिलर बीम जस्ता काममा छिटो सेट हुने र पकड शक्ति छिटो जमाउने भएकोले ओपीसी सिमेन्ट प्रयोग हुन्छ। अनि जुनमा बिस्तारै सेट हुन्छ, जस्तै प्लास्टर, फ्लोरिङ अथवा वाल लगाउँदा पीएससी र पीपीसी सिमेन्ट प्रयोग गर्नुपर्छ। ओपीसी, पीपीसीभन्दा केही महँगो छ, किनभने ओपीसीमा क्लिंकरको मात्रा बढी छ। पीपीसीमा पोजोलोनाको मात्रा बढी हुन्छ। क्लिंकर पोजोलोनाभन्दा महंँगो हुने भएको कारणले नै ओपीसी सिमेन्ट अन्य दुईको तुलनामा महंँगो भएको हो।

युनाइटेड सिमेन्टको मुख्य लक्षित बजार काठमाडौं उपत्यका र समग्रमा बाग्मती अञ्चल हो। त्यो बाहेक नारायणघाट र पोखरा हाम्रो दोस्रो प्राथमिकताको बजार हो। हाम्रो कम्पनी नयाँ नै हो। दुई तीन महिनामा हामी निकै माथि उठेका छौं। धेरै अगाडिदेखि सिमेन्ट क्षेत्रमा रहेका उद्योगसँग प्रतिस्पर्धा गरिरहेका छौं।

भोलिका दिनमा नेपालमा सिमेन्टको स्कोप राम्रो छ। अहिले विदेशी लगानी पनि भित्रिरहेको छ। हामीसंँग सिमेन्ट उत्पादनका लागि चाहिने प्रशस्त कच्चा पदार्थ छ। हाम्रो उत्पादन क्षमता २१ हजार बोरा प्रतिदिन हो। तर, अहिले औसत १८ हजार बोरा उत्पादन गरिरहेका छौं।

सिमेन्ट उद्योगमा अझै विद्युत् अभाव

रमेश थापा

सिनियर मार्केटिङ सेल्स मेनेजर
अर्घाखाँची सिमेन्ट

अहिले बजारमा सिमेन्टको माग राम्रो छ। कुनै पनि कम्पनीले बजारको माग अनुरुप आपूर्ति गर्न सकेका छैनन्। कतिपय सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिंकर भारतबाट आयात हुन्छ। तर, हामीलगायत केही कम्पनीले मात्र स्देशमा नै क्लिनकर उत्पादन उत्पादन गर्छौं।

भारतमा अहिले ओभरलोड दिँदैन त्यस कारण क्लिंकर भारतबाट ल्याएर नेपालमा उत्पादन गर्ने कम्पनीलाई अहिले समस्या रहेको छ। पहिले एक र्याकलाई १ सय ५० गाडी भए पुग्थ्यो। अहिले २५० भन्दा बढी गाडी चाहिन्छ। त्यसले गर्दा लागत मूल्य बढेको छ। क्लिंकर कम मात्रामा आउँदा सिमेन्टको माग उच्च छ। अहिले मागअनुसार सिमेन्ट आपूर्ति हुन सकेको छैन। अहिले हामीले पनि तीन दिनपछि अर्डर दिन सक्छौं। भैरहवामा अघोषित लोडसेडिङले थप समस्या रहेको छ। भारतबाट ल्याइएको लाइनमा पूरा पावर आउँदैन। त्यसले गर्दा जेनेरेटरबाट मात्रै चलाउनु परेको छ, त्यसैले मूल्य बढेका हो।

ठूला परियोजना अहिले नेपाली उत्पादन प्रयोग हँुदै आएको छ। तर, समस्या के छ भने नेपाली सिमेन्टमा ग्रेड लेख्न मिल्दैन, भारतीय सिमेन्टले ग्रेड लेख्छ। हामीले आफ्नो उत्पादन अनुसार ग्रेड लेख्नु पाउनुपर्ने हो। ग्रेड दिने कुरा त भएको तर कहिले दिने हो अत्तोपत्तो छैन। हाम्रो दैनिक २४ हजार बोरा सिमेन्ट उत्पादन हुन्छ। सिमेण्ट पाउन तीन दिन पर्खनुपर्छ अर्डर गरेपछि। सिमेन्ट उद्योग थपिँदैछन्। हामीले पनि उद्योग क्षमतालाई थप गरेर मंसिरबाट दैनिक ६० हजार बेरा सिमेन्ट उत्पादन गर्ने तयारीमा छौं।

ओपीसी र पीपीसी सिमेन्टको प्रकार हो। बढी स्ट्रेन्थका कारण इन्जिनियर र विज्ञहरूले ओपीसी सिमेन्ट नै सिफारिस गरेको पाइन्छ। पहिला ओपीसी सिमेन्ट ठूला आयोजनामा मात्र प्रयोग हुने गरेकोमा अहिले घर निर्माणमा पनि हुन थालेको छ। पानीमुनिको ढलान र सुख्खा ठाउँमा गर्ने ढलानले यी दुई प्रकारका सिमेन्टको आफ्नै विशेषता छ। पीएसी भन्ने पनि हुन्छ। त्यसमा फलाम खानीबाट निस्केको गुड्का हुन्छ।

नेपाली सिमेन्टले ग्रेड लेख्न नपाउँदा समस्या

सुनील पौडेल

सिनियर प्रोजेक्ट मेनेजर
जगदम्बा सिमेन्ट

पछिल्लो समयमा भारतमा लोडिङ सिस्टममा भएको कडाई क्लिंकर तथा अन्य कच्चा पदार्थको कमीको कारणले गर्दा नेपालमा मागअनुसारको सिमेन्ट उत्पादन हुन सकेको छैन।

नेपालकै कम्पनीले पनि क्लिंकरहरू उत्पादन गरिरहेका छन्। तर, त्यो क्लिंकर पनि कोल र बिजुलीको अभावका कारणले पर्याप्त मात्रामा उत्पादन गर्न सकिरहेको छैन। साथै उनीहरू आफैं पनि सिमेन्ट उत्पादन गर्छन्।

मूल्य जति बढ्नु पर्ने हो त्यो बढेको छैन। सिमेन्ट उत्पादक संघले २० देखि ३० रुपियाँ मूल्य बढाउने भनेर उत्पादक कम्पनीलाई पत्र पनि पठायो। त्यसमा सरकारले नबढाउन आग्रह गरेपछि त्यो पनि बढ्न सकेन। अनि बढेको मुल्य घट्न नसक्नुको कारण भारतबाट आयात हुने कच्चा पदार्थमा मूल्य बढेको भएर हो। प्रतिटन २ देखि ३ हजार रुपियाँ बढेको छ। सो अनुसारले कम्पनीले सिमेन्टको मूल्य बढाउन पाएनन्। उपभोक्तालाई राहत पाउन भनेर नै हामीले मूल्य नबढाएका हौं।

लोडसेडिङ पक्कै पनि कम भएको हो। तर, २४ घण्टा बिजुली उद्योगले पाइरहेका छैनन्। अहिले पनि ८ देखि १० घण्टा उद्योगमा बिजुली गएको अवस्था छ। पहिलेको तुलनामा अहिले कम भने पक्कै भएको हो। त्यति मात्रले पनि प्रतिबोरा बराबर ८ देखि १० रुपियाँ प्रतिबोरा कम मूल्य पर्न जान्छ। मुख्यरुपमा सिमेन्टको कम्पोनेन्ट भनेको क्लिंकर नै हो। त्यो क्लिंकरकै मूल्यवृद्धि भएको कारणले मूल्य बढेको हो।

भूकम्पदेखि सबै मानिसहरू डराएका छन्। भारत र पश्चिमा मुलुकमा हेर्ने हो भने पीपीसी र पीएससी सिमेन्टको प्रयोग ९० प्रतिशतभन्दा बढी छ। नेपालको जलविद्युत्मा तपार्इंले अध्ययन गर्नुभयो भने ओपीसी र पीपीसी सिमेन्ट मिलाएर बढी प्रयोग भएको छ।

ओपीसीले बनाएका संरचना ५० वर्षसम्म टिक्छन भने पीपीसी र पीएससी सिमेन्टको आयु सय वर्षसम्म हुन्छ। तर, यो खालको ज्ञान र शिक्षा जनस्तरमा पुग्न नसकेको कारणले सबै मानिस ओपीसी सिमेन्टको पछि लागेका छन्। दुई तीन तलासम्मका घरलाई पीपीसी सिमेन्टकै प्रयोगले पर्याप्त हुन्छ। तर, त्यो ज्ञान सरकारी पक्षबाट पनि भएन र हामी निजी क्षेत्रबाट पनि अलि–अलि मात्रै कोसिस भएको छ।

पर्याप्त ज्ञानको कारणले गर्दा ग्राहकले बढी मूल्य तिरेर ओपीसी सिमेन्ट प्रयोग गरिरहेका छन्। ओपीसी सिमेन्ट अन्य दुईको तुलनामा १ सय २० रुपियाँदेखि १ सय ५० रुपियाँ महँगो छ।

ठूला परियोजनामा सरकारले भन्सारलगायतका सुविधा दिँदा भारतीय सिमेन्ट नेपाली सिमेन्टभन्दा कम मूल्य पर्न जान्छ। ठूला आयोजनामा विदेशी परामर्शदाताले कुन ग्रेडको सिमेन्ट प्रयोग गर्ने भनेर लेखिएको हुन्छ। तर, नेपालमा सिमेन्टको बोरामा हामीले ग्रेड लेख्न पाउँदैनौं।

नेपाली सिमेन्टको ग्रेड नखुलाइएका कारणले हाम्रो इस्फेसिफिक नै मिल्दैन। भारतीय सिमेन्टले ५३ ग्रेड ४३ गे्रडको सिमेन्ट भनेर लेखिएको हुन्छ तर हाम्रो बोरामा खाली ओपीसी, पीपीसी सिमेन्ट मात्र भनेर दिएको हुन्छ। त्यो बोरामा ग्रेड लेख्न नपाएको कारणले पनि ठूला आयोजनामा प्रयोग हुन पाएको छैन।

निजीस्तरबाट सञ्चालित आयोजनामा ९० प्रतिशतभन्दा बढी नेपाली सिमेन्ट प्रयोग भएका छन्। सिमेन्टको आयु भनेर ठ्याक्कै यति नै भनेर तोक्न सकिने अवस्था छैन। त्यसको प्रयोग कुन ठाउँमा कसरी भयो भन्ने कुरा हो। हामीले बुझ्नपर्ने के पनि छ भने सिमेन्टको गुणस्तरले मात्र संरचना बलियो हँँदैन। त्यसको भण्डारण र टेक्नोलोजी र प्लास्टर गर्ने विधि सहि तरिकाले पालना गरियो भने मात्र लामो समय टिकाउ हुन्छ।