‘महीविनाको दही’ भनेझैँ नेतृत्वविनाको गन्तव्य आफैँमा घातक हुन्छ । तथापि अहिले नयाँ नेतृत्व चयन भइसकेको छ । संयमित भएर कार्यशैलीको अनुगमन गर्दै पूर्वाग्रह नराखी ‘वाच डग’को भूमिकामा सबै नागरिक रहन आवश्यक छ ।
कसैलाई पनि कुनै कार्यभार सुम्पिएपछि कार्य गर्ने वातावरण बनाउने र सकारात्मक सुझाव दिएर कार्य सफलताको लागि सहयोग गर्ने दायित्व हामी सबैको हुन्छ । होइन भने तिनै जेनजीले जसरी पूर्वप्रधानमन्त्रीलाई फ्याँकेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतले विजयी गराउने भूमिका निभाए, त्यसरी नै यस सरकारलाई पनि तहसनहस गराउँदैनन् भन्न सकिँदैन ।
कहिलेकाहीँ देखाउने काम एउटा र वास्तविकता फरक पनि हुन सक्छ । त्यस विषयमा हामी सजग हुन अति आवश्यक हुन्छ । यस सरकारको फाइदा पनि तिनै स्वार्थी, लोभी, पापी र ऐस–आराममा लिप्त ब्वाँसाहरुले लिएर देशलाई धरापमा नपार्लान् भन्न सकिन्न ।
यसो हुन नदिन सबैका दृष्टि खोलिनुपर्छ । त्यसैले निर्णय गर्दा संवेदनशील र सावधान हुनु जरुरी छ । कुनै धर्म, वंश, राजनीतिक दल, सामाजिक–धार्मिक अभियन्ता कसैमा पनि पूर्ण विश्वास गर्नुपूर्व हजार कोणबाट सोच्नुहोला ।
सबै फोहोरी खेलका स्वार्थी खेलाडी पनि हुन सक्लान् । त्यसैले कुनै पदीय दायित्वमा छनौट गर्दा स्वस्फूर्तरुपमा आह्वान गरौँ र को के–कति कारणले योग्य छ÷छैन, छिटो छलफल गरी सत्य, कर्तव्यनिष्ठ, इमानदार र स्वच्छ छवि भएका सबैलाई लिस्टिङ गर्ने गरौँ । केही राष्ट्रियताका प्रश्नपत्र बनाएर लिखित परीक्षा लिई त्यसको आधारमा पदभार दिने प्रणालीको विकास गरी कार्यान्वयन गर्ने बानी गरौँ । होइन भने यी सबै भोलि शेर हुँ भन्ने सम्झेर तिमी–हामी सबैलाई नजर बन्द गराई महिला र युवाले केही गर्न सक्दैनन् भन्नेछन् ।
शरीरबाट प्राण ननिस्कँदासम्म म नै कुर्सीमा रहनुपर्छ र म भइन भने पनि मेरा शाखा सन्तानले मात्र राज गर्न पाउनुपर्छ भन्ने नीतिको निर्माण गरी हाम्रा सन्तानलाई दलित, अशक्त र अपाङ्ग बनाउनेछन् । महिला, बालबालिका र युवालाई अयोग्य बनाउने अनि पोथीले बास्नुहुँदैन अर्थात् महिलाले नेतृत्व गर्नुहुँदैन, युवाहरुले जान्दैनौ भन्ने मानसिकताले गरिब र दलित बनाएर तिमीहरुले छुनुहुँदैन भनी पन्छाउने षड्यन्त्र नगर्लान् भन्न पनि सकिन्न । यसरी वि.सं. २०३६ भन्दा पनि पछि धकेल्ने कार्य हुन सक्छ, यसमा सजगता अपनाउनुपर्छ ।
म यो देशको एउटा नागरिक भएका कारण सत्यताको विजय, नेपाल धर्ती आमाको सुरक्षा र ती आमाका सबै सन्तानले पेटभरि खान, शरीरभरि ढाक्ने लुगा लगाउन, ज्ञान प्राप्तिका निम्ति शान्तिपूर्वक विद्या आर्जन गर्न, ओत लाग्नका निम्ति सबैलाई छानो हुन र स्वस्थ्य जीवन जिउन यहाँ स्वच्छ वातावरण बनोस् भन्ने चाहन्छु ।
हामी कुनै वर्ग, वंश, दलको आधिपत्यमा परेर दासी बन्नुहुँदैन । तथापि हामीले पनि स्वतन्त्रताको अपमान गरी छाडातन्त्र अवलम्बन गर्नुहुँदैन । सबैले कर्तव्य, जिम्मेवारी र अधिकारको वास्तविकतालाई बुझेर कार्यान्वयन गर्नुपर्छ । हामीसँग पर्याप्त अन्न छैन भने जे–जति छ सबैले बाँडेर खाऔँ । कोही पनि भोको, नाङ्गो नबस्ने समाजको परिकल्पना हामी सबैले अन्तरमनले गरौँ । सोही बमोजिम कार्यान्वयन गरौँ, अवश्य पनि अराजकता र अनुशासनहीन कार्य कहिल्यै हुनेछैनन् ।
सत्तामा रहेकाहरु र सत्ता चलाउन सक्छु, म योग्य छु भन्नेहरुलाई मेरो पहिलो प्रश्न– ‘कुनै ऋण नलिई हामीसँग कुनै स्रोत–साधन नभएको बेला हजुरहरुले कसरी राज्यलाई सुव्यवस्थित सञ्चालन गर्नुहुन्छ ?’ गर्छु भनेर जानेलाई पनि ठूलो चुनौती छ ।
तथापि बुद्धि पु¥याएर गरियो भने चुनौतीलाई अवसरमा बदल्न सकिन्छ । अर्थशास्त्रको एउटा सिद्धान्तले भन्छ कि ‘हाइ रिस्क, हाइ गेन’ अर्थात् जसले अति संवेदनशील अवस्थामा उत्पन्न उच्च चुनौतीलाई स्वीकारेर संयमित भई सद्बुद्धिले निश्चित समयमा कार्यान्वयन सम्पन्न गर्छ, तत्पश्चात् चुनौती अवसरमा परिणत भई उच्च प्राप्ति हुन्छ । अर्थशास्त्रले अर्थतन्त्रको सुदृढीकरणको मार्गनिर्देश गरिरहेको हुन्छ । यद्यपि हामी आफ्नो काम, कर्तव्य र अधिकार बिर्सिएर निश्चित समयअगावै लोभ, मोह, ईष्र्या र अति महत्वाकांक्षाका कारण कर्म बिर्सिन्छौं ।
कसैले भड्काएको भरमा नै अस्थिरताका कारण म नै नेतृत्वकर्ता हुँ, मैले पाउनुपर्छ भनी अर्को समूह खोल्ने र विपरीत भई जाने प्रवृत्तिका कारण कार्यान्वयन रोकिएर गन्तव्यविनाको यात्री हुन सक्छ । यसपछि आजको हाम्रो देशको अवस्था सिर्जना हुन्छ । साथ दिन्छु भन्नेहरुको निःस्वार्थी भावना स्वार्थमा रुमलिँदा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भन्ने उखानको यथार्थ चरितार्थ हुन्छ ।
त्यसैले म भन्छु, ‘अति संवेदनशील तर शीघ्र सही निर्णय क्षमता भएका स्वच्छ छविका कोही हुनुहुन्छ र हजुरलाई सबैले स्वीकार्नुहुन्छ भने आफ्नो नाम आफैँले प्रस्ताव गर्नुस् ।
मेरो बुझाइ जेनजी कहिल्यै कसैको दबाब, प्रलोभनमा आउने छैन । यदि कसैको रणनीतिक योजनामा जेनजी समूह प¥यो वा पारियो भने हामीले आफ्नो खुट्टामा आफैँले बन्चरो हान्यौँ । हामीलाई हाम्रै सन्तानले निर्दोष भए पनि मारेर कालकोठरीमा बन्धित हुनेछौँ र सूचनाको अधिकार त के सबै अधिकारबाट वञ्चित भई शून्यता हुनेछौँ ।
निर्मला पन्तजस्ता थुप्रै आत्माहरु रुनेछन् । २०८२ भदौ २३ गते ओझेल परेका थुप्रै आत्माहरु भड्कनेछन् । अन्याय, अत्याचार, भोकमरी, खडेरीलगायत सबै कष्टले थिचेर ऋणको भारीले च्याप्नेछ । त्यसैले सबै सचेत भई यी सबैबाट मुक्त भएर अगाडि बढ्नुपर्छ । स्वच्छ, स्वतन्त्र र अनुभवी छवि भएको जेनजी समूहको निगरानीमा रहिरहने नेतृत्व विकास गरी सबैले सचेत भई लागौं ।
कोही कसैको स्मरणमा त्यस्तो व्यक्तिको नाम आएमा स्थानीय होस् वा प्रतिनिधिसभाका लागि होस्, जुनसुकै स्थानमा पनि सार्वजनिक रुपमा नाम प्रस्ताव गर्न हामी पछि पर्नुहुँदैन । मेरो झुकाव कोही कसैसँग छैन । म माया गर्छु भन्नेहरुको भीडमा एक्लो यात्री हुँ । एक्लै हिँड्न डराउँदिन ।
कतै पनि सत्य मर्नुहुँदैन । असत्यले गरेको भूल स्वीकार्नै पर्छ । देशमा सत्य स्थापित हुनुपर्छ । मनमा स्थिरता र शान्ति प्राप्ति हुनुपर्छ । तेरो र मेरो भन्ने भाव मेटिनुपर्छ । अगाडि ‘ओहो ! हजुर त भगवान् नै हो’ भन्ने तर पछाडिबाट तीर चलाएर मार्ने संस्कार र हजुरीवादको अन्त्य हुनुपर्छ ।
दण्ड सजाय दिने हजुर हामी कोही होइनौं । परमात्मा स्वयंले सबैका खाता खोल्नुहुन्छ । त्यसैले पालोको पर्खाइमा बसौँ । सबैको पालो आउँछ । धैर्यधारण गरौं, सकिन्छ भने कर्मयोगी बनौं । सत्मार्ग, सत्कर्म, सद्भक्ति र सद्बुद्धिमा लागौं । स्वार्थ त्यागी कर्म गरौं । कर्म गर्नेहरूलाई कर्म गर्ने वातावरण बनाइदिऔं । सकिन्छ, नेतृत्व गरौं, सकिन्न भने ‘गर्छु भनेर अगाडि बढेकालाई साथ सहयोग गरौं’ ।
अरुले बनाएको मादललाई ठोक्ने मात्रै होइन, आफैँले मादल बनाउने कला पनि सिक्दै गरौं र अरुलाई पनि सिकाउँदै गरौं । आवश्यक पर्दा सबैलाई काम आउँछ । जेनजीको रगतको होली खेलेर सत्ता हडप्ने सपना कसैले पनि नदेखौँ ।
एउटी निर्दोष आमालाई सोध– अबोध बालकलाई जन्माउँदा आफू मरेको पीडा, तत्पश्चात् तिनै सन्तानको मुहार हेर्ने चाहनाले त्यही देहमा पुनर्जन्म प्राप्त गरेको यथार्थ, जो–कोहीलाई मजाक गरेजस्तो लाग्न सक्छ । तर यथार्थ सत्य सदैव सत्य नै हुन्छ । महसुस गर्न सक्नु वा नसक्नु सम्बन्धित व्यक्तिको योग्यता र क्षमतामा भर पर्छ । सकारात्मक विचार, सल्लाह र सुझावको पर्खाइमा छु । अवश्य प्राप्त हुने विश्वास छ ।











प्रतिक्रिया