युभेन्ट्सको जितमा हिगुइन नायक

0
Shares

लन्डन, (एजेन्सी)
रोपेली च्याम्पियन्स लिगअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा गोन्जालो हिगुइन नायक बनेपछि इटालियन सिरी ए क्लब युभेन्ट्सले जित हासिल गरेको छ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले फ्रान्सको घरेलु टोली एएस मोनाकोलाई २–० ले पराजित गर्दा दुवै गोल अर्जेन्टिनी स्ट्राइकर हिगुइनको नाममा रह्यो। खेलको २९औं मिनेटमा ड्यानी आल्भेजले दुई जना रक्षकलाई झुक्याउँदै दिएको उत्कृष्ट पासमा शक्तिशाली वान टच प्रहारमार्फत् हिगुइनले गोल गरेपछि युभेन्ट्स पहिलो हाफसम्म १–० ले अघि रहेको थियो।

यस्तै खेलको ५९औं मिनेटमा आल्भेजले दिएको लामो भलीपासलाई सदुपयोग गर्दै हिगुइनले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सको जित पक्का भएको थियो। जारी सिजनको च्याम्पियन्स लिगमा युभेन्ट्सका तर्फबाट हिगुइनले आफ्नो गोलसंख्या पाँच पुर्याएका छन्। योसँगै इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले च्याम्पियन्स लिगको पछिल्ला ६ खेलमा कुनै गोल बहोरेको छैन। यस्तै तीन सिजनको अन्तरालमा युभेन्ट्स दोस्रोपटक युरोपेली च्याम्पियन्स लिगको फाइनल नजिक पुगेको छ।

यता मोनाको खेलको शुरुआतमै आक्रामकरूपमा प्रस्तुत भएको थियो। शुरुआतमै स्ट्राइकर केलिन् बापेको प्रहार युभेन्ट्सका ३९ वर्षीय भेट्रान गोलरक्षक बुफोनले मुश्किलले जोगाएका थिए। खेलमा फ्रेन्च क्लब मोनाकोले पाएको केही उत्कृष्ट मौकाहरूको सदुपयोग गर्न नसक्दा पराजय भोग्नुपरेको हो। युभेन्ट्सले भने मोनाकोको घरेलु मैदानमा सम्हालिएर खेलेको थियो।

यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा रियल मेड्रिडले ३–० को जित हासिल गरेको थियो। जसका कारण रियल र युभेन्ट्सले यस पटकको फाइनल खेल्ने सम्भावना प्रबल बनेको छ। यदि यी दुईबीच फाइनल भएमा यस पटक पनि सन् १९९८ को च्याम्पियन्स लिगको फाइनल दोहोरिनेछ। त्यतिबेला युभेन्ट्सलाई १–० ले हराएर रियलले उपाधि जितेको थियो। युभेन्ट्स र मोनाकोबीच हुने सेमिफाइनलको दोस्रो लेग आगामी साता इटालीको टुरिनस्थित युभेन्ट्सको घरेलु मैदानमा हुनेछ।