तीन दलित बालबालिका बिचल्लीमा



दीपेन्द्र शर्मा, जाजरकोट
जाजरकोटका एक दलित परिवारका बालबालिका बिचल्लीमा परेका छन््। बाबुको मृत्यु तथा आमाको अन्यत्र दोस्रो विवाह भएसँगै यिनीहरू बिचल्लीमा परेका हुन्। दैनिक रूपमा पेटभरि खान नपाउँदा गाउँलेको शरणमा पर्नु उनीहरूको बाध्यता बनेको छ।

उनीहरू घरघरमा मागेर खाने गर्छन्। आमाले छोडेर अन्तै गएपछि उनीहरूको कुनै परिश्रम गरेर खाने उमेर पनि नहँुदा बिचल्ली परेका हुन्। सबको उमेर उस्तै भएपछि दैनिक रूपमा छाक टार्न हैरान भएको छ उनीहरूलाई।

जाजरकोटको वारेकोट विशेष गाउँपालिका–१ रामीडाँडा दलित आग्राका सीता विक र पार्वती विकले बाबु गुमाएको ९ वर्ष भयो। सीता र पार्वती गर्भमा हँुदा उनका बाबु हरिमल कामीको मृत्यु भयो। बाबुको मृत्यु भएको ८ महिनापछि जन्माएकी जुम्ल्याहा छोरी सीता र पार्वतीको पालनपोषण गर्दै बसेकी उनकी आमा काली कामी बालबालिकालाई पाल्नकै लागि कहिले भारत कमाइ गर्ने तथा कहिले गाउँमा मागेर जोह गर्ने गर्थिन्। श्रीमान् हरिमलको मृत्यु भएको ३ वर्षमा गाउँकै एक जनासँग उठबस गर्दा एक बच्चा जन्माउन पुगिन्। गाउँलेको दबाब सहेर भए पनि पहिलाका श्रीमान् हरिमलबाट जन्मिएका २ छोरा, ४ छोरी र गाउँकै दोस्रो जनाबाट जन्मिएको मदन विकलाई कसैले नहेर्दा पनि धौधौ पालनपोषन गरिरहेकी थिइन्। जब काली कामीले अन्यत्र अर्को विवाह गरिन् ती बालबालिकाको बिचल्ली भयो। बाबु हरिमलको मृत्यु तथा आमा काली कामीले अन्यत्र विवाह गरेपछि १२ वर्षीय छोरा शिव नेपाली, ९ वर्षीया सीता विक, ९ वर्षीया पार्वती विक र ६ वर्षीय मदन नेपालीको बिचल्ली भएको हो। गाउँकै अर्को जनाबाट जन्मिएको मदनलाई उनका बाबुले कहिले पनि हेर
चाह गरेका छैनन्।

‘आमाले अन्यत्र विवाह गरिन्, अर्को घरको भाइ पनि बाबुसँग नभएर हामीसँगै बस्छ, काम गरी पाल्ने खालका दिदीको विवाह भयो, ठूलो दाइ पनि भारतबाट नआएको धेरै भयो, कसले कमाउँछ र पेटभरि खाना खाऊँ’ –शिवले भने। ‘बहिनीहरू मभन्दा पनि साना छन् केही गर्न सक्दैनन्, म गाउँबाट मागेर ल्याउँछु, कहिलेकाहीं गाउँकाले दया मानेर दिन्छन् त्यसैलाई बचाएर खाने गरेको छौं’ –शिवले बताए। सानो हँुदा बुबाको मृत्यु भयो आमा हुँदा टुहुराको महसुस नै भएन, अहिले घरमा आमा नहुँदा दैनिक रूपमा पेटभरि खाना नपाएको शिवले बताए। आमा त अर्को घरमा गइन् तर दोस्रो घरको भाइलाई आफूहरूसँगै छोड्दा सानो ६ वर्षको भाइलाई समेत राम्रोसँग खुवाउन नसकेको उनले बताए। ‘सानो भाइलाई न त उसका बाबुले लिन्छन् न त आमाले नै लगिन् आफैं बाँच्न धौ भएको बेला यसलाई कसरी पाल्ने’ –शिवले भने। ‘घरमा ठूलो मान्छे कोही नहुँदा न त राम्रोसँग खाना पाएको छौं न त विद्यालय जान पाएका छौं’ –शिवले बताए।

बाबुको नाममा भएको जमिबाट हुने उत्पादनले यो परिवारलाई एक महिना मात्र खाना पुग्ने गर्छ। सम्पत्तिको नाममा सानो खरले छाएको एक कोठा भएको गाईसँगै बस्ने छाप्रो छ। कालीले भारत जाने कमाएर ल्याउने गरी बालबालिकालाई पाल्ने गर्थिन्। गत मंसिरमा अन्तै विवाह भएपछि बालबालिका बिचल्लीमा परेका हुन्।

आमाले अर्को विवाह गरी घर छोड्दा यो परिवारका बालबालिकाले नियमित विद्यालय जान छाडेका छन्। आमाले अर्को विवाह गरेपछि बालबालिकाहरू नियमित विद्यालय नआउने गरेको कालिका आदर्श माध्यमिक विद्यालय रामीडाँडाका प्रधानाध्यापक पृथ्वीराज ज्योतिले बताए। घरमा भएका गाई चराउन सीता र पार्वती पालो गरेर जंगल जाने तथा विद्यालयमा पनि आलोपालो गरेर कहिलेकाहीं मात्र आउने गरेको प्रधानाध्यापक ज्योतीले बताए। बिचल्लीमा परेका शिव नेपाली कक्षा ४, सीता विक र पार्वती विक कक्षा २ मा भर्ना भएको ज्योतिले बताए। कापीकलमको समस्याले विद्यालय नआएको थाहा पाएपछि विद्यालयले बालबालिकालाई कापी र कलमको व्यवस्था गरेको उनले बताए। ‘शिवको भाइबहिनीहरू कापीकलम नभएर विद्यालयलमा नआएको थाहा पायौं, अनि विद्यालयले विपन्न तथा टुहुरा बालबालिकाहरूलाई सहयोग गर्न विद्यालयमा एक अक्षयकोषको स्थापना गर्ने निर्णय गर्यौं’ –प्रअ ज्योतिले भने।
तत्कालै विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारी र विद्यालयले मिलेर २८ हजार नगद जम्मा गरेर अक्षयकोषको स्थापना गरिएको ज्योतिले जानकारी दिए। विपन्न तथा टुहुरा बालबालिकालाई सहायता कोष स्थापना गरिएको उनले बताए। अक्षयकोषको ब्याजबाट आउने रकम गरिब विपन्न तथा टुहुरा बालबालिकालाई कापीकलम किन्न सहयोग गर्ने गरिएको ज्योतिको भनाइ छ। अहिले यो कोषबाट शिवको भाइबहिनीलाई मात्र सहयोग गरिएको र आगामी वर्षदेखि बढाउँदै जाने उनले बताए। शिव, सीता, पार्वती र उनका भाइबहिनीलाई विद्यालयले आगामी शैक्षिक सत्रदेखि विद्यालय ड्रेसको पनि व्यवस्था गरिने विद्यालयको योजना रहेको प्रअ ज्योतिले बताए।

प्रतिक्रिया दिनुहोस्