चाउरी पर्दैन व्यवहारमा



अन्डाको बोक्रो देख्दा राम्रो सर्लक्क देखिए पनि खान मिल्दैन। खान त बोक्रो छोडाएर फाल्नुपर्छ। बाहिरी रूप अन्डाको बोक्रो जस्तै हो। देखाउन मिल्छ, व्यवहार गर्न मिल्दैन। मान्छेलाई रूप होइन व्यवहारले महान् बनाउँछ। उनी व्यावहारिक रूपमा असल हुन जीवनबाटै सिकिरहेका छन्, सिक्दै छन। बाहिरी रूप त एक दिन मार्लिन मुनरो हुन् वा हेमा मालिनी, श्री देवी वा करिश्मा मानन्धर सबै चाउरी पर्छन्। चाउरी पर्ने अनुहार हैन कहिल्यै चाउरी नपर्ने व्यवहार असल बनाउन चन्द्र लागिरहेका छन्। भन्छन्–जीवनले सिकाएको छ, चाउरी पर्दैन व्यवहारमा।’

कमल ढकाल

तिमीसँग गाडी मारुती होस् वा बीएमडब्लू, बाटो एकै हो। तिमीसँग घडी रोलेक्स होस् वा टाइटन, समय दिने एकै हो। बिजनेस क्लासमा चढ वा इकोनोमिक क्लासमा, प्लेन पुग्ने ठाउँ फेरिँदैन। जतिसुकै महँगो फोन भए पनि कल गर्ने मान्छे त्यही हुन्। लक्जरीको सपना देख्नु गलत हो भनेकै हैन। त्यो तिम्रो निड (आवश्यकता) हो वा ग्रिड (लोभ) हो त्यो छुट्याऊ। याद राख आवश्यकता जहिले पूरा हुन्छ, लोभ कहिल्यै पूरा हुँदैन।’ भारतीय हिरो रजनीकान्तको यो डायलग दुनियाँलाई चित्त बुझाउने खालको छ।

यही लोभ र आवश्यकता छुट्याउन नसकेर आम मान्छे रनभुल्लमा पर्दै दुःखी भइरहेको हुन्छ। आफू हिँडेको बाटो कहाँबाट कहाँ आइपुग्छ मान्छे, तैपनी नपुगेर अझ दौडँदा जीवन नै जोखिम पार्छ। जीवनमा सिकेर कहिल्यै सकिँदैन। जीवनले धेरै नयाँ कुरा सिकाइरहेको हुन्छ। विपत्तिभन्दा ठूलो सिक्ने विश्वविद्यालय संसारमै छैन। मान्छेले आफ्नै बिपत्तिबाट बढी सिक्ने हो। हरेकसँग केही न केही प्रतिभा हुन्छ। तर मान्छे आफूजस्तो हैन अरू जस्तो बन्न हिँडेर नै भएको प्रतिभा पनि नष्ट गरिरहको हुन्छ।

सबै मान्छे त्यस्तो हुँदैन। यत्ति माथिको कुरा थोरै बुझे पनि जीवन सुखी हुन सक्छ। संखुवासभाको आँखिभौ गाविसमा जन्मेका चन्द्रबहादुर भारतीले आफैबाट सिक्दै गए। विश्वविद्यालयको के कुरा, गाउँमै सात कक्षाभन्दा माथि पढ्न पाएनन् उनले। आफ्नै जीवनबाट सिके। आफूले पढ्न नपाएकै कारण छोराछोरीलाई पढाए। अहिले एक छोरा डक्टर, एक छोरी इन्जिनियर बनेका छन्।

संखुवासभाको आँखिभौबाट काठमाडौंको धापासीमा आइपुग्दाको कहानी धेरै छन्। त्यसको जुइनो भने उनको लगातारको मिहेनत नै हो। २००९ सालमा जन्मेका चन्द्रको चन्द्रमा छुने सपना थिएन। सामान्य जीवन यापान गर्दै अगाडि बढ्ने चाहना मात्र थियो। बाबु आसाम बस्ने भएकाले उनी आमाको हुर्काइमा हुर्कंदै गए। दुःखको त्यो हुर्र्काइकै कारण उनको पढाइ छुट्दै गयो। २०३० देखि उनी वामपन्थी राजनीतिमा लागे।

रातो झन्डा, कोके हुँदै उनीभित्र बसेको वर्गीय असमानता हटाउने मानसिकता बलियो बन्यो। २०३४ मा शुरू भएको झापा आन्दोलन संखुवासभामा पनि जाग्यो। संखुवासभामा एक जनाको हत्या भयो। प्रहरीले चन्द्रलाई करङ दोब्रिने गरी पिट्यो। जिल्लाभरका कम्युनिस्टमा लागेकालाई पिट्दा आफू पनि परेका चन्द्रले बताए। प्रहरीको पिटाइले उनीभित्र आक्रोश झन् बढ्यो। छाड्नै नसक्ने गरी उनी वामपन्थी राजनीतिमा तानिए। २०४६ मा गाविस अध्यक्षमा उठेका उनी झिनो मतले पराजित भए।

वर्गीय असमानता हटाउन लागेका चन्द्र आफै भने आर्थिक रुपले झनै निम्नवर्ग हुँदै गए। बाँच्नका लागि उनले सानो पसल शुरू गरेका थिए। त्यो पसल नै उनका लागि वर्गीय असमानता हटाउने सेतु बन्यो। चिया पसलबाट शुरू गरेको पसल किराना हँुदै कपडामा फैलियो। अरुण नदी पार गरेर भोजपुर, धनकुटादेखि मान्छे उनकै पसलमा किनमेल गर्न आउने भए। हुँदा हुँदै उनी संखुवासभाकै गनिने व्यापारीमा दरिन थाले। राम्रो चलेको पसल जेठो छोरा र माइलोलाई जिम्मा लगाएर उनी राजधानी आए।

जानेको काम व्यापार थियो। कपडाको व्यापार झनै उनलाई फापेको थियो। राजधानीमा होजियारी फक्रँदै थियो। उनले छोरी निशाको नाममा निशु रेडिमेड खोले। राजधानीको सिटी सेन्टरमा खोलिएको त्यो पसलमा दम्पती नै जमेर लागेपछि राम्रो चल्दै गयो। श्रीमती सीताले मार्केट हेर्ने चन्द्रले प्रोडेक्सन हेर्ने जिम्मा लिए। गौंथली जोडीजस्तै काम गर्न थालेपछि चन्द्रको आर्थिक मजबुती बन्दै गयो। गौंथलीले गुँड लगाएजस्तै उनीहरुले पनि धापासीमा गुँड बनाए। त्यही घरमा बसेर अन्तर्वार्ता दिँदा उनको खुसी छचल्किरहेको थियो। दुःख गरेरै कहाँबाट कहाँ आए भन्ने भाव थियो।
काममा लागिरहेका थिए। रजनीकान्तको यो डायलग नसुने पनि उनीभित्र त्यही डायलग जस्तै बज्न थाल्यो।

६० वर्ष पार गर्दा पनि काममा लागिरहने लोभ हो कि आवश्यकता हो उनले गम्भीर भएर सोच्न थाले। भूकम्प आएर सिटी सेन्टर चर्केपछि उनले आफ्नो त्यो व्यापारको साइज सानो पार्दै लगे। छोराछोरी हुर्केर आफ्नो व्यवस्था गरिसकेका थिए। सधैं काम काम भनेर हिँड्दा प्रेसर र सुगरले उनलाई थोरै प्यारालाइज पनि बनायो। अब जीवन अर्काे ढंगमा लैजानुपर्छ भनेर जीवनले सिकाएको उनले बुझे।
राजनीतिको नसा उनको दिमागमा छँदै थियो। राजनीति भनेको समाजसेवा पनि हो। उनी पनि आफू पढेको गाउँको स्कुललाई केही गर्न सकिन्छ कि भनेर लागे। आफ्नै ६ रोपनी खेत स्कुललाई दिएर उनी समाजसेवामा आए। निमावि स्कुललाई मावि बनाउन अग्रपंक्तिमा उभिए। बाटो, बिजुली, पानी गाउँका लागि आवश्यक कुरामा जे जति सहयोग गर्न सकिन्छ मुठी फुकाउन थाले। मुठी फुकाएर दिँदा हात फैलन्छ। भगवान्ले त्यही खोलेको मुठीमा झन् बढी हालिदिन्छ भन्ने भनाइ नै छ। आफूले गाउँमा लिन पर्ने तिसौं लाख छाडिदिएको बताउँदै भन्दै थिए–मलाई त्यही गाउँले यहाँसम्म ल्याइपुर्यायो मैले लिन पर्ने सबै पैसा दिन पर्दैन भनिदिए हेर्नुस्।’ गाउँका मान्छेले गर्ने सम्मान र सद्भावले उनी पुलकित नै भएका छन्। धापासीमै पनि केही गर्न सकिन्छ कि भनेर टोल सुधार, ढल सुधारमा कमिटी बनाएर लाग्दै छन्। अबको यात्रा उनको समाजसेवामै लाग्नेछ।
जीवन छउन्जेल त हो जीवनको कुरा। मरेपछि मरेकै कुरा हुने हो। बाहिरी दुनियाँभन्दा चन्द्रलाई आजकल भित्री दुनियाँ बुझ्न मन लागेको छ। अन्डाको बोक्रो देख्दा राम्रो सर्लक्क देखिए पनि खान मिल्दैन। खान त बोक्रो छोडाएर फाल्नुपर्छ। बाहिरी रूप अन्डाको बोक्रो जस्तै हो। देखाउन मिल्छ व्यवहार गर्न मिल्दैन। मान्छेलाई रूप होइन व्यवहारले महान् बनाउँछ। उनी व्यावहारिक रूपमा असल हुन जीवनबाटै सिकिरहेका छन्, सिक्दै छन्। बाहिरी रूप त एक दिन मार्लिन मुनरो हुन् वा हेमा मालिनी, श्री देवी वा करिश्मा मानन्धर सबै चाउरी पर्छन्। चाउरी पर्ने अनुहार हैन, कहिल्यै चाउरी नपर्ने व्यवहार असल बनाउन चन्द्र लागिरहेका छन्। भन्छन्–जीवनले सिकाएको छ चाउरी पर्दैन व्यवहारमा।’

प्रतिक्रिया दिनुहोस्