ठस्–ठस्



सरकारी कर्मचारीसँग सूचना माग्नुभनेको पहाड फोर्नुजस्तै असजिलो भएको गुनासो आजकल सबैतिर सुनिन्छ। कुनै विषयमा कुरा गर्नुपरेमा उनीहरू गह्रुँगो हुने र पन्छिने गर्छन् भनेर धरहरा वरपर धेरैले गुनासो गर्छन्। परराष्ट्र मन्त्रालयका सचिव महोदयले त झन् कुरा गर्दा गानो जान्छ जस्तो गर्ने गरेको सञ्चारकर्मीहरूले बारम्बार धरहरा छेउमै आएर गुनासो गर्ने गरेका छन्।

पढे–लेखेर जान्ने–सुन्ने भएर मात्रै पनि नहुने रहेछ। जनताको करबाट तलब खाने कर्मचारीले सञ्चारकर्मीले जनतासम्म सूचना पुर्याउनका लागि सम्पर्क गर्दा गमक्क परेर जानकारी नदिने काम गर्न त नहुने हो। तर, लोकसेवा पास गरेर कुनै निकायमा छिरेपछि उनीहरूको जनताप्रतिको दायित्व सकिएको जस्तो आभास सर्वत्र भइरहेको पाइन्छ। के लोकसेवाले यस्तै कर्मचारीको मात्रै उत्पादनमा जोड दिइरहेको हो ? हो भने आगामी दिनमा परीक्षा शैलीमा नै परिवर्तन गर्नुपर्ने हो कि ? कुरा यस्तो हो भनेर हासीखुसी कुनै पनि सूचना जानकारी गराए भइगो नि।

किन ठस्–ठस् कन्नुपर्ने होला ? यसो गर्नुको कारण कि चाहिँ उनीहरूलाई विषयवस्तुको जानकारी नै शून्य हुन्छ वा सामान्य सामाजिक शिष्टाचार पनि जान्दैनन्। सामाजिक शिष्टाचार, देश र जनताप्रतिको जवाफदेहिताभन्दा पनि म नै यो दुनियाँको सर्वेसर्वा हुँ भन्ने भ्रम पाल्ने कर्मचारीबाट कसरी प्रगति होला ? यो प्रश्न धरहरा छेउमै कसैले उठाइरहेका बेलामा यसले भने आफ्नो दूरबिन अन्यत्रै मोड्नु ठीक ठान्यो।

प्रतिक्रिया दिनुहोस्