मनीष र आशिषको स्तरीय प्रदर्शन



नेपालका सीएम मदनकृष्ण कायस्थ र बंगलादेशका जीएम रहमान जिउर चाल चल्दै। तस्वीरः उजोल डंगोल

नेपाल समाचारपत्र
काठमाडौं
एसियन जोनल थ्री प्वाइन्ट टु चेस प्रतियोगितामा नेपालमा फिडे मास्टर मनीष हमाल र आशिष फुयालको स्तरीय प्रदर्शन सोमबार पनि कायम रह्यो।

२०८१ रेटेड मनीषले दोस्रो चरणको खेलमा २४२२ रेटेड बंगलादेशी जीएम नियाज मुर्सदसँग बराबरी गरेका छन्। यसै गरी १८०१ रेटेड आशिषले बंगलादेशी आईएम २३४३ रेटेड अबु सफियन सकिलसँग बराबरी गरे। यस्तै २०३६ रेटेड सीएम क्षितिज भण्डारीले बंगलादेशी एफएम २३४१ रेटेड रहमान मोहम्मद तबिरसँग बराबरी गरे। मदनकृष्ण कायस्थ शीर्ष वरियताका बंगलादेशी जीएम जिआउर रहमानसँग पराजित भए।

नेपाल बुद्धिचाल संघ र नेकोस चेस एकडेमीको आयोजनामा जारी प्रतियोगिताको सोमबार भएका अन्य खेलमा बंगलादेशी जीएम अब्दुल्ला अल रकिबले हिमाल लामा, नवीन तण्डुकारले मोहनसिंह प्रधान, भवगतीप्रसाद शर्माले मोहम्मद इमरान खान, तथा अहमद एमन इब्राहिमले रञ्जन कुँवरलाई हराए। बंगलादेशका एफएम रहमान सायद मुजफुरले नेपालका सिएम रिजेन्द्रराज भण्डारीलाई हराए। दुई चरणको समाप्तिमा रहमान, रकिब र मुजफुरको दुई अंक छ। यसै गरी मनीषसहित हुसेन, तैबुर, क्षितिज र आशिषको १.५ अंक छ। मदनकृष्णसहित हिमाल, रिजेन्द्र, नवीन र भगवतीको एक अंक छ।

महिलातर्फ शीर्ष वरियताकी डब्ल्यूआईएम बंगलादेशी समिमा अख्तरले आफ्नै देशकी डब्ल्यूएफ नजराना खान, बंगलादेशी डब्ल्यूआईएम हमिद रानीले श्रीलंकाकी सुमेइ जयनेब तथा नेपालकी मतिना कुसीले आफ्नै देशकी पुनम प्रसाईंलाई हराए। सविना श्रेष्ठले शान्ता थापासँगको खेलमा जित हात पारिन्। मंगलबार तेस्रो चरणका खेल हुनेछन्।

प्रतिक्रिया दिनुहोस्