भलिबल खेलाडीको बिदाइ



नेपाल समाचारपत्र
काठमाडौं
माल्दिभ्सको मालेमा आयोजना हुन लागेको सिनियर एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली भलिबल टोलीको आइतबार बिदाइ गरिएको छ।

बुधबारदेखि शुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससहित तुर्कमेनिस्तान र किर्गिस्तानको सामना गर्नेछ। सेटर इम राना मगरको कप्तानीमा रहेको नेपाली टोलीमा मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा र दिल सुनार ओपन स्पाइकर छन्। यस्तै क्विक स्पाइकरमा महेन्द्र श्रेष्ठ, भैरव बम र हरि अधिकारी रहेका छन्। साइड स्पाइकरमा नरेन्द्र गिरी, राजकुमार निरौला छन् भने सेटरमा दुर्गाप्रसाद महतो र लिबेरोमा ईश्वर थापा मगर छन्।
टोलीमा चार नयाँ खेलाडीले अन्तर्राष्ट्रिय डेब्यु गर्दै छन्। जसमा ओपन स्पाइकर दिल सुनार, क्विक स्पाइकर हरि अधिकारी, सेटर दुर्गाप्रसाद महतो र साइड स्पाइकर राजकुमार निरौला छन्। सुनार, अधिकारी र महतो नेपाल आर्मीका खेलाडी हुन् भने निरौला एपीएफसँग आबद्ध छन्।

नेपाली टोलीको प्रशिक्षकमा वीरेन्द्र चौधरी तथा सहायक प्रशिक्षकमा जगदीश भट्ट छन्। नेपाली टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघका सचिव डम्बरबहादुर नेपालीले सम्हाल्ने छन्। टोलीसँगै अन्तर्राष्ट्रिय रेफ्री क्यान्टिडेट चन्द्रावदन राई पनि त्यसतर्फ जानेछिन्।

नेपाली टोलीले पहिलो खेल मार्च २३ मा तुर्कमेनिस्तानसँग खेल्नेछ। यस्तै मार्च २४ मा आयोजक माल्दिभ्स र मार्च २७ मा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले बिदाइ गरे। बिदाइ कार्यक्रममा नेपाल भलिसंघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष यमबहादुर गुरुङ र महासचिव जितेन्द्रबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो। नेपाली टिम सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्