खुलामा सुमित सफल



एसियन जोनल थ्री प्वाइन्ट टु चेस प्रतियोगिता आइतबार उद्घाटन गर्ने क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एसियन जोनल थ्री प्वाइन्ट टुका अध्यक्ष राजेशहरि जोशी चाल चाल्दै। तस्वीरः उजोल डंगोल⁄काठमाडौं

नेपाल समाचारपत्र
काठमाडौं
सियन जोनल थ्री प्वाइन्ट टु चेस प्रतियोगिता आइतबारबाट शुरु भएको छ।
पहिलो चरणमा नेपाली खेलाडीमध्ये सुमित पन्तले सबैभन्दा महत्त्वपूर्ण जित हात पारे। उनले बंगलादेशी आईएम अबु सफियन सकिल (२३४३) लाई पराजित गरे। अन्य शीर्ष खेलाडीले पनि पहिलो चरणमा सफलता पाए। शीर्ष वरियताका बंगलादेशी जीएम जिआउर रहमानले बद्रीलाल नेपाली, बंगलादेशकै जीएम अब्दुल्लाह अल रकिबले सजिन महर्जन, जीएम इमानुएल हुसेनले भूपेन्द्र निरौला र जीएम नियाज नुर्सादले नवीन तण्डुकारलाई हराए।

एफएम हसन मेहन्दीले रञ्जन कुँवर र एफएफ मुजाफिर शयर रहमानले विवेक श्रेष्ठसँगको खेलमा जित हात पारे। आशिष फुयालले श्रीलंकाका कालुगम पिटिया आरएसलाई हराए। मदनकृष्ण कायस्थले मिलन लामा, हिमाल लामाले राजेन्द्र पराजुली, केशव श्रेष्ठले सुमन राई, एफएम मनीष हमालले मोहनसिंह प्रधान, क्षितिज भण्डारीले माल्दिभ्सका अहमद अमान इब्राहिम र रिजेन्द्र राजभण्डारीले मोहम्मद इम्रान खानलाई हराए। महिलातर्फ नेपाली खेलाडीको प्रदर्शन राम्रो हुन सकेन। डब्लूआईएम हमिद रानिस खानसँग शान्ता थापा, डब्ल्यूएफएम नजरान खानसँग सिन्दिरा जोशी, सरिमिन सिमाहा सिमिमीसँग पुनम प्रसाईं र साउमी जैनावसँग सविना श्रेष्ठ पराजित भए।

यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतियोगिताको उद्घाटन गरेका थिए। एसियन जोनल थ्री प्वाइन्ट टुका अध्यक्ष राजेशहरि जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बुद्धीचाल संघका अध्यक्ष एकलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतको उपस्थिति थियो। २८ मार्चसम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स र श्रीलंकाका गरी कुल ४२ खेलाडीको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्