शहीद गौतमको घरमा सरकारी टोली अझै पुगेन



हेमन्त पौडेल, आनन्दबजार
भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरिएका गोविन्द गौतमको परिवारलाई भेट्न र सान्त्वना दिन अहिलेसम्म सरकारी टोली कोही पुगेको छैन।

सीमा रक्षाका लागि भारतीय सुरक्षाकर्मीसँग लड्दालड्दै गोली लागेर हत्या भएपछि नेपाल सरकारले गौतमलाई शहीद घोषणा गरेको थियो। सरकारले शहीद घोषणा गरेको सञ्चारमाध्यमहरूमा सुने पनि हालसम्म सरकारी टोली पुगेर त्यस्तो औपचारिक जानकारी नगराएको गौतम परिवारको भनाइ छ।

सरकारले शहीद गौतमलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरे पनि सरकारी तवरबाट औपचारिकतामा सीमित राख्यो तर जनस्तरबाट भने उच्च सम्मान पाएको शहीद गौतमका बुबा खेमलाल गौतम बताउनुहुन्छ।

शहीद गौतमको अन्त्येष्टि भएको चौथो दिनसम्म पनि उच्चस्तरीय सरकारी टोली पनि पुगेको छैन भने राजनीतिक उच्च नेतृत्व पुगेर समवेदनासमेत प्रकट नहुँदा आफूहरूलाई निकै दुःख लागेको शहीदकी आमा हरिदेवी गौतमले बताउनुभयो।
गौतमको घरमा सुनसान देखिन्छ। स्थानीय गाउँलेहरूबाहेक अरू कोही पुगेका छैनन्। गौतमको घरका केही सञ्चारकर्मी पुगेर शहीद पत्नी र बुबासँग कुरा गरेर सहानुभूति प्रकट गरे पनि उच्च नेतृत्व नै नपुगेपछि उनीहरूमा निराशा छाएको छ।

स्थानीय बासिन्दा तथा नेकपा एमालेका नेता लालबहादुर विकलगायतका केही नेताहरू पुगेका छन् भने सो क्षेत्रका सांसद दिवानसिंह विष्टले पनि समवेदना व्यक्त गरे पनि उच्च सरकारी टोली र नेताहरू पुगेनन्।

जति बेला पनि घटना हुन सक्ने त्रास कायमै छ। कुकुर भुक्दासमेत अझै कोही आयो कि भन्ने डर लाग्ने गरेको शहीद पत्नी लक्ष्मी गौतमले बताउनुभयो। किरियामा बस्नुभएकी लक्ष्मीले भन्नुभयो– ‘मेरो श्रीमान्लाई जसरी हत्या गरियो दोषीलाई पनि त्यस्तै कारबाही भएपछि मेरो मन शान्त हुनेछ।’

शहीद भएका गोविन्दका १० वर्षकी छोरी आशिमा, ८ वर्षकी आकृति र २ वर्षकी आँसु गरी तीन छोरी छन्। बेरोजगार श्रीमतीको टाउकोमा तीन जना छोरीको जिम्मेवारी आएको छ।

सरकारले उनलाई १० लाख क्षतिपूर्ति पनि दिएको छ, तर श्रीमान्का हत्यारालाई कारबाही नहुँदासम्म आफू चैनसँग बस्न नसक्ने किरियामा बसेकी शहीद गोविन्दकी पत्नी लक्ष्मीको भनाइ छ।

‘मेरो श्रीमान्लाई गोली हान्नले माफी मागोस् र उसलाई कारबाही होस् अनि मात्रै मेरो आत्माले शान्ति पाउनेछ’ –लक्ष्मीले भन्नुभयो। उहाँलाई तीन छोरीको पालनपोषण कसरी गर्ने भन्ने चिन्ताले अझ बढी सताएको छ। ‘आफैं हामी सुकुम्बासी हौं, खेत बेचेर पालौंला भन्नु पनि छैन’ –लक्ष्मीले गहभरि आँसु झार्दै भन्नुभयो।

शहीद परिवार गरिब भएकोमा आफूलाई निकै ग्लानि भएको उनीहरू बताउँछन्। ‘हुने–खाने भएको भए हाम्रो घरमा सबै जना आउँथे होला तर हामी त गरिब परिवार हाम्रो घरमा आउन लाज लाग्छ होला त्यही भएर सरकारी टोली तथा राजनीतिक दलका उच्च नेताहरू आउनुभएको छैन’ –शहीद गौतमकी आमा हरिदेवी गौतमको गुनासो छ।

मान्छेलाई मर्दा वा पर्दा चाहिने हो हाम्रो घरमा यत्रो पीडा परेको छ तर सान्त्वना दिनका लागि पनि कोही आएनन् उहाँले भन्नुभयो। ‘प्रमुख जिल्ला अधिकारी आउनुहुन्छ कि भन्ने आशा लागेको थियो तर उहाँको बाटो हेर्दै छौं। अझै आउनुभएको छैन’– आमा हरिदेवीले बताउनुभयो।

सीमाना विवाद समस्या समाधान नहुने हो भने अरुका छोराहरू पनि मर्नुपर्ने हुनसक्छ, त्यसैले सीमा विवाद समाधान गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा शहीद परिवारको छ।

आनन्दबजार नजिकैको २०० नम्बरको सीमा स्तम्भ हराएको चार दशकभन्दा बढी भइसक्यो त्यसको स्थायी समाधानका लागि नेपाल सरकार गम्भीर नदेखिँदा समस्या बल्झिरहेको स्थानीय बासिन्दा तारा गिरीले बताउनुभयो।

उहाँका अनुसार नेपालीहरू अहिलेको एसएसबी क्याम्प बसेको बसई बजारको छेउसम्म नेपालको सीमाना भएको दाबी गर्छन् तर भारतीय सुरक्षाकर्मी विवादास्पद कलभर्ट नजिकैको रुखलाई सीमाना दाबी गरिरहेको छ। एसएसबीका कम्पनी कमान्डर दिलबाग सिंहले संयुक्त सर्भे टोलीले नाप नक्सा गरेर छिटो समस्या समाधान गर्नुपर्ने बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्