नाजिर र सुरक्षा उत्कृष्ट

सर्लाहीमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न


सर्लाहीको चन्द्रनगरमा पाचौ नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न गरिएको छ।
महोत्सवमा मोहर उत्कृष्ट फिल्म घोषित भयो भने सोही फिल्मका ओम प्रतीक गुरुङ उत्कृष्ट निर्देशक चुनिए। गुन्युचोलोबाट नाजीर हुसेन उत्कृष्ट अभिनेता र कोशेढुंगाबाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्रीको अवार्ड विजेता बने।

गुन्युचोलोबाटै समुन्द्र भट्ट र नाजीर हुसेनले उत्कृष्ट स्क्रिनप्ले अवार्ड जिते। माइतीघरका निर्देशक मिलन तामाङले जुरी अवार्ड प्राप्त गर्दा कोशेढुंगाका मन्जिल कुमार इन्करेज्मेन्ट अवार्डबाट सम्मानित भए। कोशेढुंगाबाटै बाबु श्रेष्ठ उत्कृष्ट छायाकार र नहकुल खड्का उत्कृष्ट सम्पादक घोषित भए। आदिवासीतर्फ नाक्छोंग (निर्देशक किरण राई) उत्कृष्ट फिल्म बन्न सफल भयो भने निलो आकाश (निर्देशक निर्मल पौडेल) उत्कृष्ट सर्ट फिल्म घोषित भयो।

३ दिनसम्म चलेको महोत्सवमा १७ फिल्म प्रदर्शन गरिएका थिए। कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहित झाकी प्रस्तुत गरिएको थियो भने मधेशका कथा, संस्कृति र पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखेर संवाद कार्यक्रमसमेत आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराए।

आयोजक सापकोटाको अध्यक्षता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चन्द्रनगर गाउपालिकाका अध्यक्ष राजकुमार महतोले यस्ता महोत्सव नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिदै सर्लाहीमा यसको आयोजना हुनु स्थानीय स्तरको प्रचार–प्रसारका लागि महत्वपूर्ण कदम भएको बताए।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कलाकार र प्राविधिकलाई सम्मान तथा पुरस्कार प्रदान गरिनुका साथै नाढीमन तालसम्बन्धी पुस्तक विमोचन गरिएको थियो।

मधेश प्रदेशमा पहिलोपटक आयोजना गरिएको यो संस्करणले ग्रामीण भेगमा नेपाली फिल्मको पहुच विस्तारसगै स्थानीय कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको निष्कर्ष निकालिएको छ।

सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउ“पालिकाको सहकार्यमा सम्पन्न महोत्सवले मधेशमा नेपाली सिनेमाको पहु“च विस्तार गर्ने प्रयासलाई नया“ ऊर्जा दिएको आयोजकले दाबी गरेका छन्।