भक्तपुर ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शल्यक्रियापछि अझै तंग्रिसक्नुभएको छैन । गत चैत ३० गते पित्तथैलीमा पत्थरी र हर्नियाको शल्यक्रिया गरी गुण्डुस्थित निवासमा आराम गरिरहनुभएको छ ।
अध्यक्ष ओली स्वास्थ्य अवस्था सामान्य नहुँदा राजनीतिक भेटघाटमा निष्क्रिय भए पनि सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ । शुक्रवारमात्र उहाँले ४ वटा पोस्ट गर्नुभएको छ । ओली अहिले घरमै आराम गरिरहनुभएको छ । स्रोतका अनुसार केही दिनयता ओलीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै बाह्य भेटघाट बन्द गरिएको छ । परिवारका सदस्यबाहेक पार्टीका नेता–कार्यकर्तालाई पनि भेट्न दिइएको छैन ।
अध्यक्ष ओली नतङ्ग्रिँदा नेकपा एमालेकै स्वास्थ्य अवस्था बिग्रिएजस्तो भएको छ । पार्टीको नियमित बैठक र छलफल ठप्पप्रायः छ । ओली पितृ शोकमा पर्दा र केही समय क्राऊ पर्दा एमालेले प्रतिनिधिसभा निर्वाचन सकिएको दुई महिना पूरा हुन लाग्दा पनि चुनावको समीक्षा अझै गरेको छैन । समसामयिक राजनीति, पार्टीको भावी रणनीति र दिशा तथा पार्टीको आन्तरिक एकताबारे समेत गम्भीर छलफल हुन नसकेको बताइएको छ ।
ओलीले पूर्ण रूपमा स्वास्थ्यलाभपछि पार्टीका नियमित गतिविधिमा फर्कने र देशव्यापी रूपमा कार्यकर्ता तथा जनतामा आशा जगाउने कार्यक्रम अघि सार्ने तयारीमा रहेको केन्द्रीय सदस्य विशाल भटट्राईको भनाइ छ । प्रतिकूल राजनीतिक र स्वास्थ्य अवस्थामा पनि ओलीको आशावादी उच्च मनोबलको प्रशंसा हुने गरेको छ ।
अध्यक्ष ओलीले २६५०औं बुद्ध जयन्ती, अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा उँभौली पर्वको अवसरमा शुभकामना सन्देश दिनुभयो भने थवाङ जिप दुर्घटना प्रति दुःख व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत गौतम बुद्धको जन्म, बोधि र महापरिनिर्वाणको पावन दिनमा देशभित्र र संसारका सबै देश–देशबीच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभावको कामना गर्नुभएको छ ।
मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डो¥याउने शाश्वत सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैको अन्तर्मनमा करुणाको दीप बलोस् भन्ने अध्यक्ष ओलीको भनाइ छ ।
यसै गरी अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै अध्यक्ष ओलीले श्रमिक दिवस अर्थात् मे १ ले श्रमको मूल्य, मर्यादा र अधिकारको संघर्षमार्फत संसारलाई पाठ सिकाएको उल्लेख गर्नुभएको छ ।
उहाँले मानव गरिमाको रक्षा गर्न र श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गर्नुभएको छ । संविधानले तय गरेको यो सिमाबाट राज्य बिचलित हुनु नहुने अध्यक्ष ओलीको भनाइ छ ।
यसै गरी आज पूर्वी नेपालमा उल्लासपूर्ण रूपमा मनाइँदै गरेको उँभौली पर्वको शुभकामना ब्यक्त गर्दै यस पर्वले उत्पादन, उर्वरता, प्रकृतिप्रतिको कृतज्ञतामात्र होइन किरात संस्कृतिमा पुर्खाको ज्ञानप्रति सम्मान व्यक्त गर्ने सांस्कृतिक चेतना दिने र पुस्तौँदेखि प्रकृतिसँगको सहअस्तित्वको दर्शनलाई जीवित राख्ने बिश्वास व्यक्त गर्नुभएको छ । मेरा लागि यो केवल एउटा पर्वमात्र होइन, बाल्यकालदेखिका स्मृति जोडिने दिन पनि हो, शुभकामना सन्देशमा भन्नुभएको छ ।
थवाङ जिप दुर्घटनाप्रति दुःख व्यक्त
थवाङ जिप दुर्घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले रूकुमपूर्वबाट रोल्पा थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा २० जनाको ज्यान गएको खबरले मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत ‘दुर्घटनामा ज्यान गुमाउने दिदीबहिनी दाजुभाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइतेको शीघ्र उपचार र स्वास्थ्यलाभको कामना गर्दछु’ भन्नुभएको छ ।











प्रतिक्रिया