पारा ब्याडमिन्टन वर्कसप सम्पन्न



काठमाडौं, (नेस)
नेपाल ब्याडमिन्टन संघको आयोजना तथा विश्व ब्याडमिन्टन महासंघको सहयोगमा आयोजित दक्षिण एसियाली पारा ब्याडमिन्टन वर्कसप मंगलबार सम्पन्न भएको छ।

विश्वमा नै ब्याडमिन्टन खेलमा पारा खेलाडीहरूलाई आकर्षित गर्दै मानसिक र शारीरिक तन्दुरुस्ती कायम गर्दै दक्ष पारा खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थापित विश्व ब्याडमिन्टन संघको कार्यक्रमअन्तर्गत सोही उद्देश्यअनुरूप दक्षिण एसियामा पनि पारा खेलाडीहरूलाई ब्याडमिन्टन खेलप्रति आकर्षित गर्दै पारा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दक्ष पारा प्रशिक्षक निर्माण गर्न दक्षिण एसियामा नै पहिलो पटक नेपालमा पारा ब्याडमिन्टन वर्कसप आयोजना गरिएको हो।

वर्कसपमा दक्षिण एसियाली ७ राष्ट्रका पारा प्रशिक्षक र सटल टाइमबाट उत्पादित प्रशिक्षक गरी ३१ जनाको सहभागिता रहेको थियो। जसमा नेपालबाट पारा प्रशिक्षक, सटल टाइमबाट उत्पादित प्रशिक्षक तथा नेपाल ब्याडमिन्टन संघले एक जिल्ला एक प्रशिक्षक कार्यक्रमअन्तर्गत उत्पादन गरेका प्रशिक्षक गरी १९ जनाको सहभागिता रहेको थियो।

दुई दिने वर्कसपलाई विश्व ब्याडमिन्टन महासंघकी पारा विशेषज्ञ सुश्री म्यारियम लोले प्रशिक्षण प्रदान गरेकी थिइन्।

मंगलबार एक कार्यक्रमविच नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवम् ओलम्पिक महिला कमिसनकी अध्यक्ष ज्योति राणाले वर्कसपमा सहभागी पारा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्