पुलिसको सिजनमा पहिलो उपाधि



सन्तोष काफ्ले, धरान

नयाँ कीर्तिमान कायम गर्दै नेपाल पुलिस क्लबले १९औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको उपाधि उचालेको छ।

धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार भएको प्रतियोगिताको सडेन डेथमा २ का विरुद्ध ३ गोलले सीएमजी क्लब संकटालाई पाखा लगाउँदै पुलिसले उपाधि उचालेको हो। गोल्डकपमा सर्वाधिक विजेताको रूपमा पाँचौंपटक उपाधि जितेको पुलिसले यो सिजनको पहिलो उपाधि हात पारेको हो। पुलिसले नगद ५ लाख रुपियाँसहित ट्रफी हात पारेको छ भने उपविजेता बनेको संकटाले नगद २ लाख ५० हजारसहित ट्रफी प्राप्त गरेको छ। निर्धारित समयमा दुवै टिम १–१ को बराबारीमा खेल टुंगिएपछि ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा पनि दुवै टिमबाट ३–३ गोल भएपछि सडेन डेथमा भएको गोलको आधारमा अन्तिम निर्णय गरिएको थियो। सडेन डेथमा पुलिसका सुरज घिमिरेले निर्णायक गोल गर्दै ुलिसको जित सुनिश्चित गरेका हुन्।

खेलको पहिलो हाफको २८ मिनेटमा संकटाका राज पौडेलले पहिलो गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको ३२औं मिनेटमा पुलिसले पाएको पेनेल्टीको मौकालाई सदुपयोग गर्दै पुलिसका जुमानु राईले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो।

ट्राइब्रेकरमा धकेलिएको खेलमा पुलिसका तर्फबाट निरकुमार राई, जुमानु राई र अभिषेक रिजालले गोल गरेका थिए भने संकटाका तर्फबाट अनिल गुरुङ, सुशील केसी र अमित तामाङले गोल गरेका थिए। ट्राइब्रेकर पनि बराबारी भएपछि सडेन डेथमा पुलिसका भोला सिलवाल, रोसन खड्का र सुरज घिमिरेले गोल गरेका थिए भने संकटाबाट कुलदीप कार्की र प्याट्रिक जोनले मात्रै गोल गर्न सफल भएका थिए। खेलको म्यान अफ द म्याच पुलिसका रोशन खड्का घोषित भए उनलाई नगद ५ हजारसहित मेडल र ट्रफी प्रदान गरिएको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी संकटाका गोलकिपर विनय श्रेष्ठ घोषित भए। उनलाई यामाहाको मोटरसाइकल प्रदान गरिएको छ। त्यसै गरी प्रतियोगिताको बेस्ट स्ट्राइकर पुलिसका जुमानु राई, बेस्ट मिड फिल्डर धरान फुटबल क्लब निलोका हेमन्त गुरुङ, राइजिङ प्लेयर धरान फुटबल क्लबकै रेजिन सुब्बा, बेस्ट डिफेन्स पुलिसका विक्रम धिमाल, बेस्ट गोलकिपर पुलिसकै रोशन खड्का, बेस्ट कोच पुलिसकै कुमार कटवाल घोषित भए। उनीहरूलाई नगद १५ हजारका दरले नगद पुरस्कारसहित मेडल प्रदान गरिएको छ। बेस्ट स्ट्राइकर विजेता बनेका जुमानु राईलाई भने आयोजकको नगद पुरस्कारमा थप ६ हजार रुपियाँ राजु
राईले प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्