समन्वयको अभाव नै समस्या



(रमेशचन्द्र बादे श्रेष्ठ) एकता समन्वयको प्रक्रिया र शक्तिको स्रोत हो। व्यावहारिक जीवनमा समन्वयको महत्वपूर्ण र प्रभावकारी भूमिका रहेको छ।

समन्वयात्मकरूपमा कार्य सञ्चालन गर्दा जटिल समस्या समाधान हुन्छ। सामाजिक अनास्था, राजनीतिक विभेदताको अन्त्यको साधन समन्वय हो। समन्वयात्मकरूपमा गरिएको कार्यले समयको बचत, गुणस्तरीय, छिटोछरितो, मितव्ययी, दिगोपन र प्रभावकारी हुनेमा द्विविधा नहोला। पारदर्शिता समन्वयको अर्को विशेषता हो। दूरदृष्टिको दृष्टिकोणले समन्वय विकास निर्माणको लागि आधारस्तम्भ हो। जुन सामाजिक जीवनको जिम्मेवार व्यक्तिमा हुनुपर्ने एउटा गुण हो। यसले निष्पक्षता र जनहित कार्यमा विशेष महत्व राख्छ। विश्वका विकसित राष्ट्रहरू यसको परिणामका प्रमाण हु्न्।

व्यवस्थापन, प्राविधिक र जनसहभागिताको समन्वयले विकास निर्माण छिटो र दिगो हुनेमा फरक मत नहोला। ०७ साल र त्यसपछिका जनक्रान्तिपछि प्रजातन्त्र, लोकत्रन्त, हालको गणतन्त्रसम्म आइपुग्दा धेरै पञ्च⁄त्रिवर्षीय योजना लागू भैसकेको अवस्था छ। यस तथ्यलाई मनन गर्दा देशले विकास निर्माणमा धेरै अग्रता लिनुपथ्र्यो। तर त्यो हुन सकेको देखिएन। प्रत्येक नेपालीलाई बीसौं हजार धनराशीको ऋण बोक्न बाध्य पारिएको छ। राष्ट्र निर्माणको लागि परिश्रमीका साथै ऋणी हुनु स्वाभाविक हो तर अन्य मित्र राष्ट्रहरूको दाँजोमा तुलनात्मकरूपमा विकास हुन नसकेको यथार्थ रहेको छ। यसलाई हाम्रा नेतागण, प्रशासक, योजनाविद्हरूको आ–आफ्नो दलीयवाद र आपसी समन्वयताको अभावमा हुन गएको यथार्थता भन्न सकिन्छ।

कार्यसम्पादनको सिलसिलामा सम्बन्धित निकायहरूको बीचमा समन्वयको अभावले गर्दा विकास निर्माण खर्चिलो, गुणस्तरहीन, जनआकांक्षा विपरीत हुन पुगेका छन्। यो नेतृत्वगण र नीति निर्माताहरूको असमन्वयताको पराकष्ठा हो। सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वयको अभावले लागानी मैत्री वातावरण हुन नसकेको अवस्था छ। यसले रोजगारीको क्षेत्रमा प्रत्यक्ष असर पर्न गई लाखौं सृजनशील युवा जनशक्ति विदेशिएका र विदेशिने क्रम जारी रहेको सर्वविदित छ। सबै राजनीतिक दलको घोषणापत्रमा उल्लेख भएको आर्थिक ऐजन्डाहरू न्यूनतम विन्दुमा रहेर समन्वयात्मक तरवले कार्यान्वयन गरेमा देशको आर्थिक विकास हुने निश्चित छ, जुन सर्वसाधारणको चाहना र समयको माग पनि हो।

समन्वयताले स्वस्र्फूत ऊर्जा प्रदान गर्ने, आपसी कटुताको निवारण गर्ने हुनाले सम्बन्धित सबैले यसको अनुसरण गर्न जरुरी छ। स्वाधीनता र स्वाधीन अर्थतन्त्रको स्थायित्वका लागि समन्वय अपरिहार्य छ। सरकारी निकायहरूबीच समन्वय नहुँदा देशको कुल विकास बजेट खर्चिन नसक्नु ज्वलन्त उदाहरण रहेको छ। समभाव र समन्वयताको अभावले गर्दा पदीय वरियताको क्रममा र मित्र राष्ट्रहरूमा राजदूतहरूको नियुक्तिमा प्रत्यक्ष प्रभाव परेको जगजाहेर छ। त्रास र आशसँग सरोकार नभएका व्यक्ति समन्वयकर्ताको पहिचान हो। निडर, निष्पक्षता, इमानदारी गुण हो भने जनकल्याण उद्देश्य हो। सबैको लक्ष्य समृद्धिको लागि विकास निर्माण नै हो।
यसर्थ समन्वयताको महत्व र प्रभावकारिताबारे समाजको सबै क्षेत्रमा व्यापकरूपले जानकारी दिनु आवश्यक देखिन्छ। समन्वय विकास निर्माणको प्रामाणिकता हो। सबै सरकारी निकाय सम्बद्ध संयन्त्रहरू शान्ति, सुरक्षा, विकास, निर्माणको लागि परिपूरक हुन्। कुनै पनि व्यक्ति, समुदाय, संघसंस्था सर्वविज्ञ नहुनु प्राकृतिक उपज हो। यसर्थ समन्वयको महत्व हुनु स्वाभाविक हो। विकास निर्माण शान्ति सुरक्षाको सशक्त संयन्त्र हो। आज नेपाल सरकारका विभिन्न निकायहरू र सम्बद्ध संयन्त्रहरूबीच समन्वयको अभावले गर्दा विकास, निर्माण, गरिबी निवारण, रोजगारी, भूकम्पपीडितको लागि राहत वितरण आदिमा प्रत्यक्ष प्रभाव परेको सर्वविदित नै छ। सडक विभाग, विद्युत् प्राधिकरण, नेपाल टेलिकम र मेलम्ची खानेपानी आयोजनाबीच समन्वयताको अभाव देखिन्छ। समन्वयविना नै काठमाडौं उपत्यकाभित्र जुन सडक खन्ने र पुर्ने कार्य भइरहेको छ, यसले स्थानीय वातावरण प्रतिकूल हुन पुगेको छ। साथै आवागमन र जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको विद्यमान स्थिति रहेको छ।

जाडोमा धुलाम्य र वर्षादमा हिलाम्य सम्बन्धित निकायबीच असमन्वयताको ज्वलन्त उदाहरण हो। समन्वयताको सदुपयोग अनियमितताको अन्त्य गर्ने सशक्त माध्यम हो। सम्पूर्ण राजनीतिक दलहरूले आ–आफ्नो अडान त्यागेर राष्ट्रियतालाई शिरोपर गरी मिलन विन्दु अपनाउनु बुद्धिमता हुनेछ। रुमलिरहेको राष्ट्रिय राजनीतिलाई सबैको समन्वयबाट ठोस निकास दिनु आजको आवश्यकता, जनताको चाहना र नेतागणको दायित्व हो। समन्वयताको आधारमा घोषित नेपालको संविधान २०७२ को कार्यान्वयन र विद्यमान राजनीतिक गतिरोधको अन्त्य गर्नको लागि निर्वाचन गर्नु सम्पूर्ण राजनीतिक दलहरूको प्रमुख दायित्व हो।
समन्वय विकासको गतिशीलता र विधिसम्मत सुधारको संकेत हो। यसर्थ नेतृत्ववर्गले समन्वयलाई प्राथमिकता दिई आफू मातहतका सम्बद्ध निकाय र संयन्त्रहरूमा कडा निर्देशन दिएर यसको कार्यान्वयन गर्नु बुद्धिमता हुनेछ। समयको प्रवाहलाई मनन गरी सबैले समन्वयताका साथ कार्य गर्ने प्रतिबद्धता जनाऔं, अनि मात्र विकास निर्माण परिणाममुखी हुनेछ।

प्रतिक्रिया दिनुहोस्