मदरसामा छात्रा बढी



कुमार श्रेष्ठ, बाँके ।
पालगन्जको गुरुद्वारारोडमा रहेको मदरसा बरकातिया माविको कक्षा १ मा २ सय ४६ जना विद्यार्थी छन्। छात्रा १ सय ४१ र छात्र १ सय ५ जना छन्।

त्यही मदरसाको कक्षा १० मा जम्मा १६ जना विद्यार्थी छन्। ११ जना छात्र र ५ जना छात्र दश कक्षामा पढिरहेका छन्। कक्षा एकमा अढाइ सयले पढ्दा दश कक्षामा एक दर्जन हुनुले मदरसामा ‘ड्रप आउट’ (बीचैमा विद्यालय छोड्ने) को समस्या विकराल रहेको देखाउँछ। त्यसो त, नेपालमा कक्षा १ मा सय जना भर्ना हुँदा दश कक्षामा ३८ जना मात्रै पुग्ने गरेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन्। जबकि सरकारले एक जना विद्यार्थीलाई दश कक्षासम्म पुग्दा २८ हजार रुपियाँ लगानी गर्छ।

मदरसा इस्लामिक धार्मिक शिक्षा पढाउन खोलिएका विद्यालय हुन्। २०६३ सालमा मदरसालाई मूलधारमा ल्याउन आन्दोलन भयो। २०६४ सालमा केही मदरसाले सरकारी अनुमति पाए। राहत र सेवा सुविधामा जोडिए। बाँकेमा १ सय १९ बढी मदरसा दर्तामा छन्।

बाँकेमा दुईवटा मावि मदरसा छन्। गौसिया र बरकातिया। अनि, तीनवटा निमावि छन्। अरू सबै प्रावि तहका छन्। मूलधारमा आएका मदरसाले अरबी, उर्दु र दिनियादसँगै सरकारी पाठ्यक्रम पढाउँछन्।

मदरसामा इस्लामिक वातावरणमा पढाइ हुन्छ। मुस्लिम समुदाले छोरा–छोरीका लागि मदरसालाई प्राथमिकता दिन्छन्। त्यहाँ धार्मिकका साथै सरकारी पाठ्यक्रम पढाइन्छ। पाँच कक्षासम्म छात्र र आठ कक्षासम्म छात्रालाई पढाएर छोडाउने गरिएको छ। बरकातियाका प्रधानाध्यापक जियाउल मुस्तफा नुरानीको अनुभव छ– ‘५÷६ पढ्दा पढ्दै छोरालाई मदरसाबाट छुुट्याएर काम लगाइन्छ। छोरीलाई घरमा बसाइन्छ। दश कक्षासम्म पढ्ने कम हुन्छन्।’ प्रधानाध्यापक नुरानीले सरकारले विद्यार्थी टिकाउने नयाँ प्याकेल र घर–घर, टोल–टोलमा पुगेर अभिभावकलाई सम्झाउन सकेमा विद्यार्थीको ड्रपआउट घट्ने बताउनुभयो।

छात्रहरू अरू समुदायिक स्कुलमा पनि पढ्न जान्छन्। मुस्लिम समुदायले छात्रालाई बाहिरका सामुदायिक विद्यालयमा पढ्न कमै पठाउँछन्। मदरसा नै +२ सम्म हुने हो भने माथिल्लो कक्षा पढ्ने छात्राको संख्या बढ्ने नुरानीको भनाइ छ। बाँकेमा मुस्लिम छात्रा पढ्ने कलेजको माग भइरहे पनि स्थापना हुन सकेको छैन। मदरसामा निमावि र बढीमा मावि तहसम्म पढेपछि छात्राहरू थन्किने गरेका छन्।

मदरसाको बेथिति पनि कम छैन। राम्ररी पढाउनेभन्दा झोलेको बिगबिगी छ। विद्यार्थी धेरै भएर चलेका मदरसालाई भन्दा अधिकारीहरूले पनि झोलेलाई सहयोग गरेको पाइन्छ। राम्रालाई झोले नै चुनौती बनेका छन्। ५ सय ९३ जना विद्यार्थी रहेको बरकातियालाई सरकारले तीन जना राहत शिक्षक दिएको छ।

प्रतिक्रिया दिनुहोस्