राजनीतिक अस्थिरताभित्र रुमलिएको समृद्धि



वैकृण्ठ दाहाल
जन्मदै गरिब हुनु तपाईंको दोष होइन तर मर्दा पनि गरिबै भएर मर्नुचाहिँ तपाईंको दोष हो । बिल गेट्सको यही भनाइ मान्ने हो भने हामी नेपालीहरू मर्दाचाहिँ धनी नै भएर मर्नुपर्ने हो, तर विडम्बना, सरकारको तथ्याङ्कलाई मान्ने हो भने आज भर्खरै जन्मदै गरेको बच्चाको टाउकोमा समेत वैदेशिक ऋण प्रतिव्यक्ति २१ हजार पर्न आउँछ ।

अब यसलाई के भन्ने ? उनै धनाढ्य बिल गेट्सलाई नै सोध्नुपर्ला । देशलाई समृद्धितर्फ लैजानु भनेको आर्थिक विकासले नै हो । आर्थिक विकासविना देशमा समृद्धिको कल्पनासमेत गर्न सकिँदैन । देश समृद्ध हुन नसक्नु भनेको देश गरिब हुनु हो र जनताको गरिबीपन बढ्नु हो । सरकारले देशमा उद्योगधन्दा, कलकारखाना सञ्चालनमा ल्याउन नसक्नु तथा भएका उद्योगधन्दाहरूलाई पनि सञ्चालन गर्न नसक्नु अनि हाम्रा मान्छेभन्दा पनि राम्रा मान्छेलाई उद्योगधन्दाको नेतृत्व दिन नसक्नु सरकारको कमजोरी हो ।

तथ्याङ्क हेर्ने हो भने, आज व्यापार घाटा निकै उच्च विन्दुमा अगाडि बढिरहेको छ । आज निर्यात व्यापारको तुलनामा आयात व्यापारमा झन्डै ११–१२ गुणाले व्यापार घाटा बढ्दै गइरहेको छ । अघिल्लो आर्थिक वर्षमा मात्र ६ खर्ब व्यापार घाटा देशले व्यहोरेको तथ्याङ्कमा देखिन्छ । समृद्ध नेपालको परिकल्पना गरिरहँदा राजनीतिक अस्थिरताले यसलाई नराम्रोसगँ गाँजेको छ । अर्थात् राजनीतिक खिचातानीले देशको आर्थिक विकाशमा प्रत्यक्ष असर पारिरहेको छ ।

देशको मुख्य मेरुदण्ड भनेकै आर्थिक विकास हो । यसबाट नै नेपाल समृद्धशाली बन्ने हो । अब नेपाल र नेपालीको मुहार फेर्ने हो भने, राजनीतिक क्रान्तीको युग सकिएको र देशमा आर्थिक एवम् औद्योगिक युगको शुरुवात भएको विगुल फुक्न नेपाली जनताका सामु सम्पूर्ण राजनीतिक दलका नेताहरूले प्रतिज्ञा गर्न ढिला भैसकेको छ ।

एक महिनामै ३–४ पटक नेपाल बन्द गर्ने राजनीतिक दलहरू र मुलुकको बागडोर सम्हालिरहेका मुख्य दलका नेताहरूले मत विभाजन नगरीकन नेपाल र नेपालीलाई समृद्धशाली बनाउने अठोट गरे मात्रै पनि नेपाल समृद्धशाली भएको हेर्न वर्षाैं कुर्नुपर्ने थिएन । यिनै नेताहरूमा सवार भएको कुर्सीमोह त्याग्न सके पनि देशले विकासको फड्को मार्ने थियो ।

देशलाई विकासशील र समद्धशाली बनाउन लाग्नुपर्ने राजनीतिक दलका नेताहरूले कुर्सीलाई स्यालले सिनु लुछेझै लुछिरहने प्रवृत्तिले गर्दा नै आज देश समृद्धशाली हुन नसकेको सबैको सामु ऐनाझैँ छर्लंग छ । हामीकहाँ राजनीतिक गतिरोध भन्ने शब्दावली अहिले नै लोकप्रिय शब्द बनेको छ । जबसम्म राजनीतिक गतिरोधको अन्त्य भई लगानीको वातावरण बन्दैन तबसम्म देश यो दल–दलबाट माथि उठ्न सक्दैन ।

राजनीतिक दलका नेताहरूले जबसम्म देश र जनतालाई यो राजनीतिक सङ्क्रमणकालीन अवस्थाबाट मुक्त भएको घोषण गर्न सक्दैनन् तबसम्म देशमा विकासले फड्को मार्न सक्दैन । त्यसैले समय छँदै राजनीतिक दलहरूले देशलाई आर्थिक र औद्योगिकीकरणतर्फ उन्मुख गराई यसैबाट देशको समृद्ध खोज्न ढिला गर्नुहु“दैन ।

हामीकहाँ भएका सम्भावनाका खानीहरूको अब तत्कालै सरकारले खोजिनीति गर्नेतर्फ लाग्नुपर्छ । यसका लागि निजी क्षेत्रलाई समेत सरकारले विश्वासमा लिन सक्नुपर्छ । सरकारी निकायबाट निजी क्षेत्र मैत्री लगानीको वातावरण सिर्जना गर्नुपर्छ । सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्न सक्छ । जसका लागि सरकारले आर्थिक एवं औद्योगिक नीतिहरू समयसापेक्ष परिवर्तन गर्नु जरुरी छ, जुन निजी क्षेत्रको भावनाअनुरुप हुनु आवश्यक छ ।

यहाँ हलो अड्काएर गोरु चुट्ने किसिमको आर्थिक नीति अब धेरै पुरानो भैसकेको छ । समय र परिवर्तनसँगै आर्थिक नीतिहरू परिवर्तन र परिमार्जित हुनुपर्दछ । आफ्नै देशमा भएका विभिन्न किसिमका जडीबुटीलगायत खनिज पदार्थहरूको तत्कालै उत्खनन एवं उपयोग गरी उद्योगधन्दा खोल्न सकिने प्रशस्तै सम्भावनाहरू हुँदाहुँदै पनि सरकारी निकाय कानमा तेल हालेर घाममा सुतिरहेको भाव आमनागरिकमा पर्न गएको छ । सरकारी निकायले निजी क्षेत्रसँग हातेमालो गर्ने हो भने समद्धिको बाटो पहिल्याउन अब धेरै समय कुर्नुपर्ने छैन ।

जबसम्म देशको शासन सत्ता हातमा लिएकाहरूले पुरातन सोचलाई बदल्न सक्दैनन् तबसम्म देशले कोल्टे फेर्न सक्दैन । जबसम्म उनीहरूले देश विकासका लागि आफू समर्पण रहेको उद्घोष गर्दैनन् तबसम्म नेपाल र नेपालीको अवस्था यथास्थितिमै रहिरहनेछ । यस अर्थमा अब देश र जनताका लागि दिलोज्यान अर्पण गर्न सक्ने बहादुर शासकको देशलाई खाँचो छ । यो यथार्थतालाई आजका राजनीतिज्ञले बुझ्नै पर्छ । यसैमा नेपाल र नेपालीको भविष्य रुमलिरहेको छ । समयमै सम्पूर्र्ण शासकवर्गहरूमा चेतना पलाउनुपर्ने भैसकेको छ ।

(लेखक राष्ट्रिय व्यापार सघंका
सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्