दामनमा वैंशालु बनिन् गुराँस



रोषन पराजुली, हेटौंडा ।

खिलिएकी छौ तिमी हरियाली चुल्ठोभरि
वैंशालु युवतीको चुल्ठोमा खिलिएको फूल झैं

मकवानपुरको उच्च पहाडी जंगलमा गुराँस फुल्ने मुख्य मौसम चैत/वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । त्यहाँ पुगेरै हेर्ने हो भने कवि टंक सम्बाहाङ्फेको यो कविता याद आउँछ । लाग्छ, त्यहाँको गुराँस अहिले पूर्ण वैंशमा फक्रिरहेकी छन् ।

करिब दुई हजार ५ सय मिटर उचाईंको अत्यन्त रमणीय डाँडाभरि गुराँस ढकमक्क ढाकिन थालेपछि स्थानीय र त्रिभुवन राजपथ भएर यात्रा गर्नेहरु मोहित हुन थालेको करुणाभूमि सामुदायिक बन अध्यक्ष बिनोद लामाले बताए ।
जिल्लाकै उच्च भाग दामन क्षेत्रमा माघ पहिलो सातादेखि नै गुराँस फुल्न थालेका होे । माघको हालसम्म अवधिमा दामन क्षेत्र गुराँसले ढाकेपछि हेर्ने र तस्बीर खिंचाउने बढेका छन् । प्रायः फागुन पहिलो सातासम्म बढी चिसो रहने क्षेत्रमा मौसम पनि तातेको छ ।

करिब एक साताअघि परेको हिउँको सम्झना नसकिँदै राताम्य फुलेका लालीगुराँसले पर्यटकको मन लोभिएको छ । बाइरोडको नामले परिचित त्रिभुवन राजपथवरपरका जंगलमा फुलेका लालीगुराँसले बाइरोडको यात्रा गर्ने जो कोहीलाई पनि लोभ्याउनु स्वभाविक हो ।

टिष्टुङका डा“डापाखादेखि नामटार झिरघारीका डा“डाहरु अहिले बेहुली झंै राताम्य देखिन्छ । त्यसैले, लालीगुरा“सका पारखीहरु गाडी रोक्दै तस्बीर कैद गर्नमा व्यस्त देखिन्छन् भने केहीले रुख चढेर लालीगुरा“सका थु“गा कोसेली लाने गर्छन् ।
अचेल हेटौंडादेखि काठमाडौं जाने तथा काठमाडौंबाट हेटौंडा जाने यात्रुले आफ्नो गन्तव्य त्रिभुवन राजपथलाई बनाउने गरेका छन् । कारण, डा“डैभरि फुलेका लालीगुरा“स । विहान र बेलुका दामन/पालुङलगायत क्षेत्रमा चिसो रहिरहेकै छ । तर, फर्केर प्रकृति उघार्न गुराँसलाई यो पटक समय लागेन ।

लालीगुराँसकै कारण उक्त बाटो भएर यात्रा गर्नेको संख्या बढेको स्थानीय होटल व्यवसायी बताउँछन् । तराई भूभागमा गर्मी केही चढेको अवस्थामा उक्त बाटोको यात्रा नै गज्जबको छ । चुनियाँबाट उकालो लागेर नौबीसे नपुगुञ्जेल ‘प्राकृतिक एसी’ मा बसेको जस्तो अनुभूति हुने यात्रुको अनुभव छ ।

गत वर्षहरुको तुलनामा यसवर्ष त्रिभुवन राजपथआसपासमा राम्ररी लालीगुराँस फुलेको दामनका होटल व्यवसायी राजेन्द्र भुजेल बताउँछन् । उनले लालीगुराँस पारखीहरुलाई लोभ्याउनका लागि गुराँसको संरक्षणमा लाग्नुपर्ने बताए ।
पछिल्लो समय लालीगुराँसको संरक्षणमा ध्यान दिने निकाय नहुँदा दामन क्षेत्रमा भने लालीगुराँस मासिने क्रम बढेको छ । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने नामटार, अघोर, झिरघारी, दन्दु भञ्ज्याङ, सीमभन्ज्याङ, दामन, टिष्टुङका जंगलहरुमा सात प्रजातिका गुराँस फुल्ने गर्छन् ।

लालीगुरा“स संरक्षणमा जुटेका युवाले लालीगुरा“स टिपेर यात्रुलाई बिक्री गर्ने कार्य पनि रोकेपछि लामो समयसम्म लालीगुरा“स देख्न पाइने भएको हो । लालीगुरा“स फूलबाट अत्यन्त मोहित हुनेहरुले भने लुकीछिपी टिप्ने गरेका छन् ।
लालीगुराँसले राजपथ आपसासका जंगलमात्र राताम्य भएको छैन, यसकारण होटल व्यवसायीलाई समेत आम्दानीको बाटो खुलेको छ ।

मकवानपुरको सबभन्दा ठूलो करुणाभूमि, मंगलेश्वर, पातालेश्वर, ऋषेश्वर, कालीदेवी, कोटथुम्की, शंकरदीप, कालीबञ्जार र चुनीदेवीलगायत सामुदायिक बन गुराँसका खानी क्षेत्र हुन् । त्यस क्षेत्र लालीगुराँसको ‘मिनी राजधानी’ भनेर चिनिन्छ । बढी संख्यामा रातो गुराँस देखिने दामन, पालुङका बनहरु अन्य प्रजातिका गुराँसको पनि धनी छ । त्यहाँ खैरो र सेतो गुराँस पनि देख्न पाइन्छ ।

दुई हजार ५ सय मिटर उचाईंको दामन क्षेत्रमा एक साताअघि हिउँले सेताम्य भएको थियो । हिउँ देखिए पनि राजपथको महभीर, अघोर, दामन र सीमभञ्ज्याङ क्षेत्रमा गुराँस छिटो फुलेको देख्न पाइएको छ ।

‘अहिले पहिलोपटक यति छिटो गुराँस फुलेको देखें,’ बिहीबार हेटौंडा झरेका सुमोका यात्री निर्मल सिंहले भने । हिउँ छिटोछिटो पर्नु र पग्लनु जलवायु परिवर्तनको सकारात्मक प्रभाव भए पनि कृषिमा देखिएका नयाँनयाँ रोग, नयाँ कीरा÷फट्यांग्रा र फरक प्रकृतिका लामखुट्टेलगायत वृद्धि नकारात्मक असर भएको अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्