विकल्प खोज्न नपरोस् !



सुशील देवकोटा
आफू मात्रै ज्ञानी र जान्ने अरू सबै अबुझ हुन् भन्ने यदि रोग हो भने यो किटेर भन्न सकिन्छ कि हाम्रा वर्तमान प्रधानमन्त्री यो रोगबाट नराम्ररी ग्रसित छन्। के सोचेका छन् उनले ? आज पनि नेपाली जनता उही १८औं वा १९औं शताब्दिमा बाँचिरहेका छन् र उनले जे बोले पनि जस्तो शब्दजाल फ्याँके पनि पत्याउँछन् र उनले आरामले कुर्सी जोगाएर आफ्नो राजनैतिक अभिष्ट पूरा गरिरहनसक्छन् ?

सञ्चार जगत्मा आएको व्यापक क्रान्तिबाट नेपाल पनि जोगिएको छैन भन्ने उनले वास्तवमा नबुझेका त पक्कै होइनन्। किन बुझेर पनि बुझ पचाउँदै छन् उनी ? आज संसारको एक कुनामा भएको कुनै घटना केही सेकेन्डभित्र सारा संसारभरि फैलिने वर्तमान अवस्थामा आफ्ना नेताहरूको लज्जास्पद व्यवहार आफ्नै आँखाअगाडि देखेर सबै कुरा थाहा पाएका जनतालाई वाकपटुताले मात्रै अल्मल्याउन सक्छु वा सकिन्छ भनेर सोच्नु मूर्खताको परिचय दिनु हो। हाम्रा प्रधानमन्त्रीले बेला–बेलामा यस्तै रहर देखाउँछन्।

प्रसंग निकट भविष्यमा हुन लागेको स्ववियु चुनावको हो। स्ववियु चुनाव नजिक आएपछि उनले वाईसीएलको कार्यक्रममा गएर जे बोले त्यो अपाच्य त छँदै छ, सँगै तुच्छ पनि छ। उनले वाईसीएल निदाएर बस्न नहुने धारणा राख्दै वाईसीएललाई सबै नेपालीले रुचाएको र भरोसा गरेको संगठन हो भन्नसमेत भ्याएछन्। उनलाई लागेको होला, मैले भनेपछि जनताले पत्याइहाल्छन्। माफ गर्नुहोला प्रधानमन्त्रीज्यू, यथार्थमा तपाईंको कुरा त आजभोलि तपार्इंकै कार्यकर्ताले समेत पत्याउँदैनन्, सम्पूर्ण नेपालीको त कुरै छोड्नूस् भनेर उनलाई सम्झाउने मानिसको खा“चो देखिएको छ। हो, उनका वरिपरिका पिछलग्गुले पत्याउलान् र ताली पड्काउलान्। यो बेग्लै कुरा हो कि उनीहरूले राम्रो मूल्य पाउने लोभमा ताली पड्काउँछन्, न कि उनको कुरामा विश्वास भएर।

कुरा रह्यो वाईसीएलको, त्यसमा बरु प्रचण्ड मात्रै होइन तमाम माओवादी र स्वयं वाईसीएलसमेत के कुरामा स्पष्ट हुनु जरुरी छ भने, वाईसीएललाई प्रायः सबै नेपाली जनताले लुटेर खाने फटाहाहरूको झुण्डको रूपमा हेरेका र बुझेका थिए र आज पनि त्यहीरूपमा सम्झिन्छन्। वाईसीएलको क्रियाकलाप यति अराजक थियो कि कसैले कुनै ज्यादै खराब कुराको उदाहरण दिनुप¥यो भने कस्तो वाईसीएलको जस्तो चरित्र भएको भन्थे, भन्छन्। यो धेरै पुरानो कुरा होइन र नेपाली जनताले यो कुरा भुलेका छैनन् पनि।

त्यस कार्यक्रममा उनले दक्षिणपन्थी हावा चलेकाले त्यसबाट होसियार रहनुपर्ने र दक्षिणपन्थीलाई परास्त गर्नुपर्ने कुरा गरेका रहेछन्। कथित जनयुद्धको बेलामा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मुर्दावाद भनेर अर्काको निजी घरको भित्तोलाई समेत आफ्नो पैतृक सम्पत्तिझैं सम्झेर फोहोर बनाउ“दै त्यस किसिमको नारा लेख्ने पनि माओवादी अनि भारतमा लुकेर शरण लिने पनि यिनै प्रचण्डहरू नै हुन् भन्ने के नेपालीले बुझेका छैनन् र ? भारतमा शरण लिने प्रचण्डहरू, भारतीय मालिकको हुकुमको तामेली गर्दै राष्ट्रघाती १२ बुँदे सम्झौता भारतीय भूमीमा गर्नेहरू पनि प्रचण्डहरू अनि दक्षिणपन्थीचाहिँ अरू ?

कथित जनयुद्धको बेलामा जनतालाई दिग्भ्रमित पार्न धर्मको नाममा, जातको नाममा, भाषाको नाममा विभेदको बीउ रोप्ने प्रचण्डहरू नै हुन् भन्ने तथ्य के लुकाएर लुक्न सक्छ र ? सुन्दर र विकासशील देश नेपालको यो हविगत बनाउने आफैं, बहुसंख्यक नेपालीको महान् चाडपर्व र संस्कृतिमाथि धावा बोल्ने आफैं, हाम्रो पहिचानको रूपमा रहेको राष्ट्रिय पोशाकको अस्तित्व मेटाउन खोज्ने आफैं, देशको गौरव राष्ट्रिय झण्डासमेत परिवर्तन गर्न खोज्ने अरूको हातको कठपुतली आफैं, अनि दोष अरूलाई दिएर उत्तरपन्थी तथा दक्षिणपन्थीको आक्षेप लागाउने अनि आफूचाहिँ पानीमाथिको ओभानो बन्न खोज्ने ?

पछिल्लो चुनावमा जनताले माओवादीलाई उसको हैसियत देखाइदिसकेपछि पनि थाहा छैन किन प्रचण्ड यो भ्रम पालेर बसेका छन् ? कि नेपाली जनता सधैं उनको वाकपटुतामा अल्झिन्छन् र उनको झुठो कुरा पत्याउँछन्। सत्ता, शक्ति र कुर्सी भनेपछि मरिहत्ते गर्ने प्रचण्डको स्वभाव सबै नेपालीले बुझेका छन् बरु स्वयं उनले पनि यो कुरा चाँडै बुझेनन् भने अर्कोपल्ट उनको पार्टी तेस्रो स्थानमा पनि नआउने सम्भावनाचाहिँ प्रबल हुँदै गएको छ।

शैक्षिक संस्थामा राजनीति गर्न हुन्छ कि हुँदैन, यो सोच्नै पर्ने विषय हो। कलेजमा पढन जाने हो कि राजनीति गर्न ? देश निर्माणको लागि बौद्धिक जनशक्ति उत्पादन गर्ने थलोमा शिक्षाको पवित्र गंगा मात्रै बग्नुपर्ने होइन र ? हुन त यस विषयमा पहिला पनि धेरै बहस र विवाद नभएका होइनन् तर आवश्यकता अझै छ यस विषयमा थप बहसको। खैर, अहिलेको यथार्थचाहिँ के हो भने, कलेजमा चुनावको घोषणा भइसकेको छ। कलेजको चुनाव होस् वा देशको, एउटा जिम्मेवार प्रधानमन्त्रीले शान्त वातावरणमा सौहाद्रपूर्ण तरिकाले चुनाव सम्पन्न होस् भन्ने कि आफ्नो अराजक समूहलाई दक्षिणी हावा बग्न सक्ने सम्भावनाको आडमा सक्रिय हुनलाई निर्देशन दिने ? एउटा राष्ट्रियस्तरको पार्टी अध्यक्ष र देशको प्रधानमन्त्रीले यति हदसम्म लाज पचाएर पनि बोल्न मिल्छ ? यस्तो अराजक बोली र व्यवहार देशको प्रधानमन्त्रीले प्रदर्शन गर्न मिल्छ ?

बोली र व्यवहारको कुनै ठेगान र तालमेल नभएका यी नेताहरू सोच्नचाहिँ फेरि के सोच्छन् भने, जनताले अझै पनि उनीहरूको विश्वास गर्छन्। अब कुनै पार्टीका कुनै नेताले जनतालाई मूर्ख बनाउने कोशिस नगरे हुन्छ, थाङ्नामा सुताउने प्रयास नगरे हुन्छ। सबै जनताले महसुस गरिसकेका छन् कि आज हाम्रो राष्ट्र असफल राष्ट्र बन्ने संघारमा मात्रै होइन देश नै रहन्छ कि रहँदैनको स्थितिमा छ।

यस्तो संवेदनशील घडीमा देशको यस्तो प्रतिकूल स्थिति आफूहरूले गर्दा भएको भन्ने मनबाट स्वीकार गर्दै त्यसलाई सच्याउन आत्मा साक्षी राखी मन, वचन र कर्मले देश सेवाप्रति समर्पित हुने कि अझै द्वन्द्व र मुठभेडको स्थिति निम्त्याउने ?
संसारमा जन्म दिने बाबु र आमाबाहेक निर्विकल्प भनेको केही पनि छैन। हालका नेताको विकल्प अवश्य छन्। त्यसै गरी, धर्म निरपेक्षताको, संघीयताको पनि विकल्प छ र विकल्प छ गणतन्त्रको पनि। ती विकल्पहरू खोज्न जनतालाई अझ उक्साउने कि नउक्साउने, त्यो विकल्पचाहिँ फेरि नेताहरूसँग नै छ।

प्रतिक्रिया दिनुहोस्