फाइनलमा ३० नाघेका खेलाडीहरू



मेलबर्न, (एजेन्सी)
स्विट्जरल्यान्डका रोजर फेडेरर पुरुष एकलमा तथा विलियम्स दिदीबहिनी फाइनलमा पुगेपछि अस्ट्रेलियन ओपनमा पाका खेलाडीहरूले धाक जमाएका छन्।

बिहीबार सेमिफाइनल खेलमा ३५ वर्षीय फेडेरर आफ्नै राष्ट्रका साथी खेलाडी स्टान वाउरिन्कालाई पाँच सेटमा हराएर अस्ट्रेलियन ओपनको फाइनलमा ६ वर्षपछि पुगे। सन् २०१० मा मेलबर्न पार्कमा उपाधि जितेका फेडेररले वाउरिन्कालाई ७–५,६–३,१–६,४–६,६–३ ले हराएका थिए।

फेडेरर १८औं ग्रान्डस्लाम जित्न तरखरमा रहेका छन्। यदि शुक्रबारको खेलमा ग्रिगोर डीमीट्रोभ हारेमा उनले आइतबार उपाधि भिडन्तमा अर्का पाको खेलाडी ३० वर्षीय राफाल नाडालसँग सामना गर्न सक्नेछन्।

यसै गरी महिला सिंगल्सतर्फ अमेरिकी दिदीबहिनी भेनस र सेरेनाले उपाधि भिडन्त खेल्ने पक्का गरेका छन्। उनीहरू दुवैजना यस प्रतियोगितामा पाका खेलाडी हुन्। उनीहरूले ग्रान्डस्लाममा नवौंपटक फाइनल खेल्न लागेका छन्।

३५ वर्षीया सेरेनाले क्रोएसियाकी ३४ वर्षीया मिर्याना लुचिच बारोनीलाई ६–२,६–१ ले सहजै हराउँदा भेनसले भने पहिलो सेट गुमाएकी थिइन्। ३६ वर्षीया भेनसले आफ्नै राष्ट्रकी २५ वर्षीया कोको भान्डेवेगेलाई ६–७,६–२,६–३ ले हराएकी थिइन्। सेरेना महिला टेनिसअन्तर्गत ओपन इरामा व्यक्तिगत २३औं ग्रान्डस्लाम जित्ने नजिक पुगेकी छिन्। त्यस्तै २००३ मा फाइनलमा हारेकी भेनस भने पहिलो अस्ट्रेलियन ओपन जित्ने धुनमा हुनेछिन्।

प्रतिक्रिया दिनुहोस्