१५ औँ आहा रारा गोल्डकपः सहारासँग टाइब्रेकरमा आर्मी अभागी



पोखरा , (नेस)
त्रिभुवन आर्मीको पावर गेमलाई टाइब्रेकरमा विफल तुल्याएर घरेलु मैदानमा आयोजक सहारा क्लबले तेस्रोपटक फाइनल खेल्ने लक्ष्य पूरा गरेको छ।

फाइनल जितेर इतिहास लेख्ने आर्मीको चाहनालाई सहाराले टाइब्रेकरमा ४—३ गोल अन्तरमा समाप्त पारिदियो। आर्मीको पोखरामा उपाधि उचालेर आहा गोल्डकपमा आफ्नो नाम लेखाउने सपना फेरि अधुरै रह्यो। आर्मी दुईपटक फाइनलमा उपविजेतामा चित्त बुझाएर पोखराको मैदानबाट फर्किएको थियो।

आर्मीले निर्धारित ९० मिनेट पूर्ण रूपमा फिजिकल्ली खेल्न पुग्यो। तर थपिएको ३० मिनेट पनि गोलरहित बराबरीमा टुंगिदा आयोजक सहारा भने दश खेलाडीमा सीमित हुन पुग्यो। भरपर्दा रक्षक अफ्रिकन खेलाडी बबी ओडन्गोले रातो कार्ड खाँदै बाहिरिए। कप्तान भरत खवासलाई लडाएपछि रेफ्री सुदेश पाण्डेले रातो कार्ड देखाइ मैदानबाहिर पठाउँदाको पीडा सहाराले आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै सन्तोष लियो।

विकेश कुथुको पेनाल्टी सहाराका गोलकिपरको हातमै परेपछि आर्मी निराश हुदैं १५औं आहा राराको सेमिफाइनलबाटै बाहिरियो। सहारा अघिल्लो खेलमा समेत टाइब्रकेरकै भरमा क्र्वाटरफाइनलसम्मको भाग्य लेखाइसकेको थियो। बुधबार पनि टाइब्रेकरमै आफ्नो भाग्य चम्काउँदा आर्मीले उपाधि उचाल्ने सपनालाई अर्को वर्ष कुर्नुपर्ने देखियो। पेनाल्टी जोगाएका सहाराका गोलकिपर सुजित गुरुङ म्यान अफ दि म्याचको पुरस्कारको हकदार बने।

अघिल्ला दुई पेनाल्टी प्रहारमा दुवै टोलीले गुमाएनन्। तेस्रो प्रहार हानेका आर्मीका दीपक गुरुङको प्रहार आकासिएपछि असुभ संकेत देखा प¥यो। सहाराको चौथो प्रहार गरेका सौरभ बुढाथोकीको बललाई कुथुले रोकेपछि आर्मीको आत्मविश्वास जगाइ राखे। तर आफैंले हानेको बल सहाराका गोलकिपर सुजित गुरुङको हातमा दिएपछि सहाराले फाइनलको ढोका खोल्यो।

सहाराका लागि कप्तान उत्तम गुरुङ, प्रदीप गुरुङ, शिव सुवेदी र सुशान गुरुङको पेनाल्टी गोलमा परिणत हुन पुग्यो। आर्मीका लागि जितेन्द्र कार्की, दीपकुमार लामा र सन्तोष तामाङको पेनाल्टी सदुपयोग भयो।
आज दोस्रो सेमिफाइनल लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी र सीएमजी संकटाबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्