आर्मीद्वारा झापा पराजित



धन बस्नेत, पोखरा

वर्षको दोस्रो उपाधि उचाल्ने तयारीमा रहेको नेपाल आर्मीले मोफसलको रमपम झापालाई २–० गोलले पराजित गर्दै आहा राराको १५औं सस्करणमा सेमिफाइनल सुरक्षित गरेको छ।

हेटौंडामा उपाधि जितेर उत्साहित बनेको आर्मीले पोखराको मैदानमा पहिलो उपाधि उचाल्ने होडमा रहँदै पावर गेमको नमूना पेस गर्यो। आहा राराको संस्करणमा तीनपटक फाइनलमा पुगेर पनि उपाधि विहीन हुँदै फर्किएको आर्मी अहिले पूर्णरूपमा उपाधि दाबेदारीमा देखिएको छ। यद्यपि सेमिफाइनल र फाइनल खेल भने उसले खेल्नै बाँकी छ।

आर्मीको पावर गेमलाई झापाले पहिलो हाफसम्म रोक्यो। तर देस्रो हाफको पहिलो मिनेटमै गोल बेहार्न पुग्यो। नवयुग श्रेष्ठले आर्मीको लागि ४६औं मिनेटमा गोल गर्दा मनोबल उच्च देखियो। दीपकुमार लामाले दिएको पासलाई गोलकिपर अगाडि बढेको अवस्थामा हेडमार्फत् गोलमा परिणत भएपछि झापा कमजोर हुँदै गयो। त्यसको ५८औं मिनेटमा भरत खवासले व्यक्तिगत गोल गरेपछि आर्मीको विजयी सुनिश्चित हुन पुग्यो।

झापाले आर्मीमाथि पहिलो हाफमा खासै प्रभावशाली खेल प्रस्तुत गर्न सकेन। दोस्रो हाफमा पनि केही अवसरलाई ‘फिनिसिङ टच’ दिनै सकेनन्। रजिन धिमालले पहिलो हाफमा पाएको फ्रिकिक आर्मीका गोलकिपर विकेश कुथुको हातमै पर्यो। ५८औं मिनेटमा रजिन धिमालले नैहानेको फ्रिकिकलाई देवेन्द्र तामाङको हेड बल पनि हातमा पुग्यो। हातबाट फुत्किएको बललाई योगेश गुरुङले गोलका लागि ‘इफोर्ट’ गर्न लगाएनन्। ८२औं मिनेटमा अर्को फ्रिकिकलाई झापाले खेर फाल्यो। रन्जित श्रेष्ठको फ्रिकिक बललाई गोलकिपरले बचाउ गर्दै कर्नरको अवसर दिए पनि झापाले सदुपयोग गर्नबाट टाढियो।

आज मंगलबार अन्तिम क्र्वाटरफाइनल खेल फारसगन्ज एससी बंगलादेश र सिएमजी संकटा क्लबबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्