एनओसी रुक्म शमशेरको नियन्त्रणमा



काठमाडौं, (नेस)। नेपाल ओलम्पिक कमिटी (एनओसी) मा रुक्म शमशेरको नेतृत्वले आफ्नो कब्जामा लिएको छ। सोमबार रुक्म शमशेरको नेपाल ओलम्पिक कमिटीका वरिष्ठ उपाध्यक्ष किशोरबहादुर सिंहको टोलीले ललितपुरस्थितको एनओसीको भवनमा ताला लगाएको हो। त्यतिबेला त्यहाँ एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ थिएनन्।

रुक्म शमशेरको एनओसीका वरिष्ठ उपाध्यक्ष सिंहले प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेद्वारा जारी गरेको आदेश पालना गर्न निर्देशनबमोजिम पत्रको आधारमा र सर्वोच्च अदालतको आदेशबमोजिम कार्यान्वयन गरिएको बताएका छन्। एनओसीको मुख्यालयमा ताला लगाएपछि उनीहरुले अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेण्डी शेर्पाको नेमप्लेट उप्काएको थियो।

जिल्ला प्रमुख कार्यालय ललितपुरले आदेश कार्यान्वयन सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई पटक पटक सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्न आदेश दिएको यो समेत गरी आठौंपटक थियो। तर सम्बन्धित निकायहरुले बेवास्ता गरिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरी सर्वोच्च अदालतले गरेको निर्णयलाई कार्यान्वयन गर्न माघ १० गते आदेश जारी गरेको हो। रुक्म शमशेर राणाको एनओसीका वरिष्ठ उपाध्यक्ष सिंहले हिजैदेखि आफ्ना मातहतमा रहेका सम्पूर्ण खेल संघलाई ऐक्यबद्धता गर्न आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्