सेनाको विजयी शुरुआत



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली सेनाद्वारा आयोजित प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आइतबारबाट शुरू भएको छ। आइतबार भएको उद्घाटन खेलमा नेपाली सेनाले विजय हासिल गरेको छ। अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबसँगको भिडन्तमा नेपाली सेनाले ३–० को सोझो सेटमा जित हात पार्यो। आर्मीले सशस्त्रलाई २५–१५, २५–१९ र २५–२० को सोझो सेटमा जित पराजित गर्यो।

त्यसैगरी अर्को खेलमा नेपाल प्रहरीले मध्यमाञ्चललाई ३–० को सोझो सेटमा पाखा लगायो। पुलिसले मध्यमाञ्चललाई २५–१०, २५–१७ र २५–१९ को सेटमा जित हासिल गर्यो। त्यस्तै सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल भलिबल टिमबीच भएको खेलमा २५–१६, १६–२५, २६–२८ र १८–२५ को सेटमा पश्चिमाञ्चलले जित हासिल गर्यो। पूर्वाञ्चल भलिबल टिमले मध्यमाञ्चल भलिबल टिमलाई १७–२५, १६–२५ र १४–२५ को सोझो सेटमा हराएको छ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेको प्रतियोगिता नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा सञ्चालन हुने छ। माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक⁄एक तथा पाँच विकास क्षेत्रका पाँच भलिबल टिमगरी जम्मा आठ टिमको सहभागिता रहेको छ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विजेता टिमलाई क्रमशः रु.३ लाख, रु.१ लाख ५० हजार र रु.७५ हजार नगद पुरस्कार र उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर र कोचलाई समेत १०⁄१० हजार नगद पुरस्कारको प्रदान गर्ने जनाइएको छ। त्यसै गरी प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई गोल्छा अर्गनाइजेसनले पल्सर मोटरसाइकल प्रदान गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्