सकारात्मक रूपान्तरणमा गैरसरकारी संस्था



(हरि मञ्जुश्री ) स्वतन्त्र नेपालको मित्रराष्ट्रसँगको दौत्य सम्बन्ध स्थापनामा ६० वर्ष पूरा गर्नेमा यो वर्ष जापान पनि परेको छ। सन्त कावागुचीले चन्द्रशमशेरलाई सम्झाएपछि राष्ट्र–राष्ट्रका बीचभन्दा अघि जनता–जनता र संस्था–संस्थाबीच स्थापित सम्बन्ध पनि प्रबल बन्दै गएको छ। यसै सन्दर्भमा काभ्रे जिल्लामा जनता र संस्थाबीचको सम्बन्ध प्रगाढ बनाएको छ जापानी मित्रहरूको सहयोगमा सञ्चालित संस्था लभग्रीन नेपालले।

म सम्झन्छु, अढाइ दशकअघिको कुनै दिन काठमाडौँको नरदेवीमा एउटा गैरसरकारी संस्था खोलेको चर्चा चलेको थियो। त्यस बेला म केशव अर्यालको नियमित सम्पर्कमा थिएँ र उहाँसँग उहाँकै घर नरदेवीमा भेट गरिरहन्थेँ। भेटघाटकै क्रममा उहाँका मित्र स्व. रवि लामिछानेसँग पनि मेरो परिचय भएको थियो। त्यसैले उहाँहरूको छलफलमा भाग लिन मलाई असजिलो थिएन। त्यस्तै छलफलका क्रममा ‘लभग्रीन नेपाल’ भन्ने नाउँबाट एउटा संस्था जन्मिएको सुनेको थिएँ। अध्यक्ष टी.एन. श्रेष्ठ हुनुहुन्थ्यो, उपाध्यक्ष केशव अर्याल।

लभग्रीन नेपाल स्थापना भएको पच्चीस वर्षपछि अहिले यी पङ्क्तिहरू लेखिरहँदा काभ्रे जिल्लाको अनुहारलाई परिवर्तन गराउन त्यस संस्थाले पुर्याएको योगदान म सम्झिरहेको छु। शिक्षा, यातायात, कृषि र अन्य जनचेतनामूलक कार्यक्रमहरूमा त्यस संस्थालाई देख्न पाउँदा त्यस संस्थाप्रति मलाई गर्व लाछ। जापानी मित्रहरूसँगको सहकार्यबाट अघि बढेको र पच्चीस वर्षअघि स्थापना भएर नेपाली र जापानी नागरिकहरूको सहयोगमा सञ्चालन भएको त्यस संस्थाका गतिविधिहरू सम्झन खोज्दा साठी वर्षअघि नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापना भएको घटना पनि मलाई स्मरण हुने गर्छ। सहयोगका चरणहरू चाँडै–चाँडै बितेछन् जस्तो पनि लाग्छ।
लभग्रीन नेपालले २०५१ सालदेखि शैक्षिक विकास कार्यक्रमका लागि जापानको द एसिया ओमन एन्ड चिल्ड्रेन्स एजुकेसनल फाउन्डेसन एडब्लुसीईएफ संस्थासँग सहकार्य गरेको थाहा पाएँ। त्यसै सिलसिलामा त्यस संस्थाका अध्यक्ष वादा स्योइची तेह्रपटक नेपाल आइसकेको र बालिका शिक्षाको प्रवद्र्धन तथा शिक्षिकाहरू तयार गर्ने उद्देश्यले २०५७ सालदेखि नेपाल छात्रवृत्ति कार्यक्रमको शुरुवात भएको पनि जानकारी पाएँ। अहिले छात्रवृत्ति कार्यक्रम सोह्रौँ वर्षमा प्रवेश गरिसकेको रहेछ र त्यसको प्रतिफल काभ्रे जिल्लाको पाँचखाल उपत्यकामा देखा परिसकेछ। त्यही कार्यक्रमका कारणबाट त्यहाँका बालिकाहरू आफ्नै पौरखमा बाँच्न सक्ने भएका रहेछन्। अहिले स्वयंसेवी शिक्षिकाहरू एक दर्जन रहेछन् र यो सङ्ख्या थपिने क्रममा रहेछ। छात्रवृत्ति पाएका बालिकाहरू कार्यक्षेत्रको विस्तारमा लाग्न थालेका रहेछन्।

लभग्रीन नेपालले देशका विभिन्न ग्रामीण भेगमा सामाजिक विकासका कार्यहरू निरन्तर सञ्चालन गरिरहेको छ। वन तथा वातावरण संरक्षण, शिक्षा, दिगो कृषि र साना सामुदायिक पूर्वाधारको विकासका परियोजनाहरूमा यो संस्था संलग्न रहेको छ। जनतासँग प्रत्यक्ष सरोकारका विषयहरूलाई नै परियोजनाको रूप दिइएको छ। त्यसै अन्तर्गत स्थापित शैक्षिक छात्रवृत्ति कोषको उद्देश्य ग्रामीण भेगका छात्राहरू आधारभूत शिक्षाको अवसरबाट वञ्चित नहोऊन् भन्ने हो। त्यही उद्देश्यले छात्रवृत्ति वितरण गरिएको छ। छात्रवृत्ति प्राप्त गर्ने छात्राहरूको सशक्तीकरणका लागि क्षमता–विकासका कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन्। छात्रवृत्ति कार्यक्रमका पूर्वविद्यार्थीमध्येबाट लाभान्वित भएर दश दर्जनभन्दा बढी छात्राहरू विभिन्न पेसा–व्यवसायमा आबद्ध भई आर्थिकरूपमा आत्मनिर्भर बनेका छन्। तीन सय पचासभन्दा बढी सङ्ख्याका छात्राहरूलाई मार्गनिर्देश गरिसकेको यस कार्यक्रमले गर्दा क्षमता–विकासका विविध क्रियाकलापमार्फत महिला–सशक्तीकरणमा टेवा पुगेको छ।

पाँचखाल उपत्यकामा समुदायमा आधारित हरियाली विस्तार कार्यक्रम सञ्चालन गर्दा त्यस क्षेत्रका विद्यालयहरूमा शिक्षिकाहरूको उपस्थिति शून्यप्रायः देखेपछि यो कार्यक्रमको प्रारम्भ जापानी सांसद स्व. मेयनुबाट भएको मैले पाएँ।

सशक्तीकरणलाई शैक्षिक, चेतनागत, सामाजिक र आर्थिक गरी चारवटा पक्षमा विभाजन गरिएको रहेछ। कुनै छात्रा कक्षा ६ देखि छात्रवृत्ति कार्यक्रममा जोडिई भने उसले कक्षा १२ सम्म निरन्तर छात्रवृत्ति प्राप्त गर्ने र सशक्तीकरणका विभिन्न क्रियाकलापमा भाग लिने प्रावधान रहेछ।

पाँचखाल उपत्यकाका महिला तथा बालिकाहरूको शैक्षिक अवस्था सुधार गर्न र उनीहरूलाई सशक्तीकरण गर्नका लागि आर्थिक स्थिति कमजोर भएका स्थानीय जनताका छोरीहरूलाई विद्यालयमा भर्ना गराई पठनपाठनमा अभिप्रेरित गर्ने, आत्मविश्वास बढाउने, सिर्जनशीलताको विकास गराउने, जीवनप्रतिको दृष्टिकोण स्पष्ट पार्ने, जीवनको लक्ष्य निर्धारण गराउने र सफल सामाजिक प्राणी बनाउने उद्देश्य रहेछ छात्रवृत्ति कार्यक्रमको। यसबाट विद्यालयमा भर्ना गर्न लाग्ने शुल्कको अभाव, आवश्यक पुस्तक तथा मसलन्द खरिद गर्न नसक्ने अवस्था र पठनपाठनका लागि सामान्य खर्च जुटाउन नसकी पढाइ छाड्नुपर्ने बाध्यताबाट बालिकाहरू मुक्त बनेका रहेछन्। मित्रता र सहअस्तित्वको भावना राखेर असल मानिस बन्ने प्रयास गरेका रहेछन्।

छात्रवृत्तिका लागि पाँचखाल नगरपालिका क्षेत्र र रविओपी, देवीटार, काभ्रे, पातलेखेत, फूलबारी र मेथिनकोटका सार्वजनिक विद्यालयहरू छनोट गरिएका छन्। छात्रवृत्ति दिँदा कक्षा ६, ७, ८ का विद्यार्थीका लागि ४ हजार रुपियाँ, कक्षा ९, १० का विद्यार्थीका लागि ५ हजार रुपियाँ र कक्षा ११, १२ का विद्यार्थीका लागि ६ हजार रुपियाँ वार्षिक रूपमा दुई किस्ता गरी वैशाख र कार्तिक महिनामा दिने गरिएको छ। ६५ जना स्वयंसेवी शिक्षकहरू संलग्न कार्यक्रमबाट पाँचखाल उपत्यकाका ३५ वटा विद्यालय लाभान्वित भएका छन्। लभग्रीन नेपालले ‘सफलताका कथाहरू’ प्रकाशित गरेको छ। हालका अध्यक्ष केशव अर्यालको सौजन्यबाट मैले त्यो पुस्तक पाएँ। पुस्तकमा त्यस संस्थाको कार्यक्रमबाट छात्रवृत्ति पाउने किशोरीहरूले आ–आफ्ना अनुभव र विचारहरू लेखेका थिए। गाउँका किशोरीहरूमा आएको चेतना, साहस, अठोट, चिन्तनशैली र प्रस्तुतीकरणले मलाई लोभ्यायो। मलाई लाग्यो कार्यक्रम त यस्तो पो हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्