सहारालाई जित्न पेनाल्टीको सहारा



धन बस्नेत, पोखरा

सिक्किमे टोलीको पोखरा अनुभवमा मात्रै सीमित रहदाँ आयोजक सहाराले सेमिफाईनलको समिकरण लेख्यो । आहा राराको १५ औं सस्करणमा सहाराले सिक्किम युनाईटेड भारतलाई पेनाल्टीमा ४—२ गोलले हराएको हो ।

एक सेभ र एक बाहिरिएपछि सिक्कमको पोखरा बसाई लम्बिन सकेन् । म्यान अफ दि म्याच सन्जय क्षत्री र फुर्वा छिरिङ भुटियाको पेनाल्टी गोलमा परिणत भयो । तर सोनाम टपडेनको प्रहार बाहिरियो भने आशिष क्षत्रीको प्रहार सहाराका गोलकिपरले बचाउ गरेपछि सहाराको अन्तिम चार स्थान सुनिश्चित भयो । सहाराका लागि कप्तान उत्तम गुरुङ, रमेश मगर,शिव सुवेदी र शुसान गुरुङको पेनाल्टी गोल भएको थियो ।

नियमित ९० र अतिरिक्त ३० मिनेटमा पनि खेल गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी शुटआउटबाट भएर टुंगियो । १२० मिनेट लामो समय खेल्दा दुवै टोलीका खेलाडी थकित थिए । यद्यपी निर्णय पेनाल्टीमा गर्नुपर्ने बाध्यता थियो । पेनाल्टी हान्नु अगावै रेफ्रीको निर्णयप्रति सिक्कमे टोलीको आक्रोषित हुनुले पनि दवाव खेप्नुपरेको प्रष्टिएको थियो । थपिएको समयमा पाएको फ्रिकिकलाई ‘बल किक’ गर्न नपाउँदै रेफ्रीले खेल टुंगिएको संकेत गर्दै सिठी फुकेपछि सिक्किम टोली रेफ्रीको निर्णय विरुद्ध आक्रोषित बन्न पुग्यो ।

‘बारमा लाग्नु फुटबलमा साईत नभएको संकेत गर्छ । आज हामीलाई पनि साईत नै नपरेको जस्तै भान भयो ।’ सिक्किमा प्रशिक्षक अरुण राईले भने—‘बारमा लागेर फर्किएपछि साईतछैन भन्ने बुझिसकेका थियौं । त्यस्तै भयो पेनाल्टीमा खेल गुमायौं ।’ उनले खेलाडी दुईघण्टासम्म लगातार खेल्दा थकित भएको भन्दै अन्तिम समयमा पाएको फ्रिकिकलाई रेफ्रीले हान्न दिनुपर्ने बताए ।

खेलको छैठौं मिनेटमा सहाराका मार्टिनले एकल प्रहार सेकेण्डबारबाट बाहिरिएको थियो । त्यसपछि २१ औं मिनेटमा अर्को अवसर गुमाउन पुग्यो । सिक्किमका गोलकिपरसँग रिचार्ड पुनको हेडिङ गर्ने क्रममा रिफ्लेक्ट भएको बललाई मार्टिनले सदुपयोग गर्न सकेनन् । २२ औं मिनेटमा पनि सहाराले मार्टिनले नै महत्वपूर्ण अवसरलाई खेर फाले । रिचार्ड पुनको पासलाई गोलकिपर अगाडि बढेको अवस्थामा हानेको ‘भली’ पोष्टमाथिबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्