रिड मोडल च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
भारतीय खेलाडीको वर्चश्व रहेको रिड मोडल कलेजले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

प्रतियोगितामा पहिलो पटक सहभागी भएको कलेजले अपराजित रहँदै उपाधि जितेको हो । नयाँ बसपार्कको कोर्टमा भएको उपाधि भिडन्त खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–० को सोझो सेटमा हराएर रिड मोडलले उपाधि निश्चित गरेको हो । उपाधिसँगै स्वयम्भुस्तिथको कलेजले नगद ३ लाख २० हजार रुपैयाँ पनि हात पार्न सफल भएको छ । रिड मोडलले १५ खेलबाट ४५ अंक हासिल गर्यो ।

सो खेलमा रिड मोडलले एपीएफ क्लवलाई २५–२०, २५–१६ र २५–२० को सेटमा स्तब्ध पारेको थियो । त्यस्तै दोस्रो खेलमा रिड मोडलले न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पाखा लगायो । न्यु डायमन्डले साहसिक प्रदर्शन गरेको खेलमा रिड मोडल २५–१९, २५–१६, २३–२५ र २५–१९ ले विजयी भयो ।
त्यसैगरी डिफेन्डिङ च्याम्पियन एपीएफ क्लव दोस्रो स्थानमा सीमित हुँदा न्यु डायमन्ड एकेडेमी तेस्रो स्थानमा झरेको छ । लिगमा १५ खेल खेलेको एपीएफले १३ खेलमा जित र २ हार बेहोर्दै ३९ अंक जोड्यो भने न्यु डायमन्डले समान खेलबाट ११ जित र ४ हार बेहोरेपछि ३३ अंक लिएर तेस्रो स्थानमा खुम्चियो ।

लिगको अन्तिम खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पाखा लगायो । न्यु डायमन्ड २५–२२, २५–१५ र २५–२३ को सेटमा विजयी भयो । आफूले खेलेका १५ खेलमध्ये ९ खेलमा जित ६ मा पराजय बेहोर्दै पुलिस चौथो स्थानमा सीमित रह्यो भने पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पाँचौं, नेपाल आर्मी छैटौं र आयोजक ढोरपाटन स्पोर्टस् क्लव सातौं स्थानमा रह्यो ।

लिगको वेस्ट स्पाइकर रिड मोडलकी निर्मल, वेस्ट लिफ्टर रिड मोडलकै तेरिन, वेस्ट सर्भर, एपीएफकी नेविका चौधरी, वेस्ट क्विकर न्यु डायमन्डकी ललिता नाथ, वेस्ट डिफेन्स पश्चिमाञ्चलकी एमकली कुँवर र वेस्ट ब्लकर एपीएफकी उषा विष्ट र वेस्ट कोच रिड मोडलका खुम गाउँले घोषित भए । उत्कृष्ट सबैलाई जनही ५⁄५ हजार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्