एपीएफ र रिड मोडल शीर्षमा



काठमाडौं, (नेस)
१२औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थान एपीएफ क्लब र रिड मोडल कलेजले संयुक्तरूपमा कब्जा गरेका छन्। शुक्रबार दोहोरो जित निकाल्दै रिड मोडलले एपीएफसँग अंक बराबरी गरेको हो। शुक्रबार भएको खेलमा रिड मोडलले आयोजक ढोरपाटन स्पोर्टस् क्लब र
पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्यो। दोहोरो जितसँगै रिड मोडलले १३ खेलबाट ३९ अंक जोडेको छ भने एक खेल बढी खेलेको एपीएफको पनि ३९ अंक नै छ।

एपीएफले न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्यो। हारेको न्यु डायमन्ड एकेडेमी ३० अंकका साथ तेस्रो स्थानमा छ। त्यस्तै विभागीय टोली नेपाल पुलिस क्लबले चौथो स्थानलाई थप मजबुत बनाएको छ। पुलिसले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पाखा लगायो। पुलिसले १४ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा रहँदा पश्चिमाञ्चल १४ खेलबाट २१ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ। आर्मीले १४ खेलबाट १५ अंक जोडेको छ भने अन्तिम स्थानमा रहेको आयोजक ढोरपाटन स्पोर्टस् क्लबले दोस्रो चरणको कुनै खेलमा सफलता हात पार्न नसक्दा १५ खेलबाट ८ अंकमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्