पाहुना टोलीको पोखरामा अनुभव



१५ औं आहा रारा गोल्डकप

धन बस्नेत, पोखरा ।

व्यवसायिक फुटबलरको जमात रमपम झापा—११ ले १५ औं आहा रारा गोल्डकपमा आगन्तुक टोली एएनए युएसएमाथि ४—१ गोलको प्रभावशाली जित निकाल्यो । अमेरिकाबाट फुटबल खेल्न आएको भ्रमणकारी टोलीले पोखरामा केवल अनुभव साट्ने अवसरको रुपमा मात्रै गोल्डकपलाई सदुपयोग गरेको छ ।

सानदार जित निकाल्ने क्रममा कर्ण लिम्बुले ह्याट्रिक गरे । सान्त्वना गोल गर्दै अमेरिकन टोलीले इज्जत भने जोगाए । तर चर्चा भएअनुसार अमेरिकी टोलीको खेलले भने दर्शकलाई लोभ्याएन । निकै उत्साहितमा रहेको अमेरिकी टोलीले २३ मिनेटसम्म रमपम झापाको प्रयासलाई विफल पारिरहे ।

पुजन उपरकोटीले २४ औं मिनेटमा उपलब्ध गराएको क्रसपासलाई कर्णले गरेको उत्कृष्ठ हेड गोलमा परिणत भयो । पहिलो गोलले अमेरिकन टोलीको उत्साहलाई कमजोर तुल्याउँदा झापाको प्रभाव भने अझ प्रगाढ हुन पुग्यो । ३० औं मिनेटमा कर्णले व्यक्तिगत दोस्रो गोल गरे । रन्जित धिमालले ‘माईनस’ गरेको बललाई कर्ण लिम्बुले गोल गर्दै झापाले अन्तरलाई बढायो ।

दोस्रो हाफमै दुई गोलले पछि परेको अमेकिन टोलीले सुधारिएको खेल प्रस्तुत गर्दै दवाव सृजना ग¥यो । तर गोलको खडेरी भने तोड्न असक्षम नै रह्यो । ७४ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै अन्तरलाई अझ फराकिलो बनाए । ८५ औं मिनेटमा शिशिर विश्वकर्माले गोल गर्दै अमेरिकन टोलीको नाममा सान्त्वना गोल लेखियो ।

तर ९० औं मिनेटमा कर्णले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । दिलेन लोक्तानको पासमा म्यान अफ दि म्याच कर्णले प्रतियोगिताको पहिलो ह्याट्रिक पुरा गरेका थिए । सर्वाधिक गोलकर्ताका सूचीमा उनी अगाडि छन् । शुक्रबारको अन्तिम प्रिक्र्वाटर फाईनल खेल संकटाले नेपाल पुलिस क्लबसित खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्