रामदेव–महतो कनेक्सनः “नेपालीलाई छैन रोजगारी”



 

काभ्रेमा ३ सय ९५ रोपनी जग्गा

कृष्णउदास खनाल, वीरगन्ज
गोकुल घोरसाइने, बारा
एको मंसिर ९ गते निकै तामझामका साथ यहाँ उद्घाटन भएको पतञ्जली आयुर्वेदिक उद्योग वीरगन्जको मालिक भने नेपाली रहेको पाइएको छ। रामदेव आफैंले लगानी गर्ने अवस्था नभएपछि नेपालको सिरहा जिल्लाका एक स्थानीय महिलालाई कम्पनीको मालिक बनाई उनलाई जिम्मेवारी दिइएको उद्योग स्रोतले जनाएको छ।

हुन त वीरगन्जमा भनिए पनि यो उद्योग वीरगन्जसँग सीमा जोडिएको बाराको प्रसौनी गाविसको वडा नम्बर ९ मा सञ्चालित छ। उद्योगमा अधिकांश भारतीय मूलका नागरिक कार्यरत रहेको पाइएको छ। यद्यपि उद्योगका बिक्री तथा बजार व्यवस्थापक प्रमुख विकास बिडारीले भने प्राविधिक कामबाहेकमा सबै काममा नेपालीलाई राखिएको जिकिर गरेका छन्। उनले केही कर्मचारी मात्रै भारतीय रहेको र सबै नेपाली रहेको जिकिर गरेका हुन्।
विगतमा अन्नपूर्ण टेक्सटायलको नाममा रहेको जग्गा खरिद गरी पतञ्जली उद्योग सञ्चालन गरिएको हो। उद्योगको मालिकका रूपमा भने नेपालकै सिरहा जिल्लाका डा। समता प्रसादलाई राखिएको छ। रामदेव आफैंले आफ्नो नाममा उद्योग सञ्चालन गर्न नसक्ने भएपछि उनको मुख्य अनुयायी भन्दै र उनको विश्वासिलो पात्र भएकै कारण उद्योगको मालिक उनलाई बनाइएको हो। उद्योग २०७२ सालबाट नै सञ्चालनमा आएको विकास दाबी गर्छन्। उद्योगबाट नुहाउनेदेखि खानेसम्मका सामानहरू उत्पादन हुने गरेको विकासको भनाइ छ।

यद्यपि बाराको प्रसौनी क्षेत्रका स्थानीयले भने पतञ्जलीले स्थानीयलाई रोगजारीको अवसर नदिएको भन्दै आपत्ति जनाएका छन्। प्रसौनीका स्थानीय अनिल साहले रामदेवको यो नीति विस्तारै प्रसौनीबासीका लागि घाँडो हुने बताएका छन्। रामदेवको अधिनायकवाद लाद्नका लागि उद्योग स्थापना गरेको भन्दै उनले यसले जिल्लाबासीलाई फाइदा नहुने बताए। तर, जिल्ला र स्थानीयको हकमा उद्योग नलागे आफूहरू उद्योगविरुद्ध उत्रने चेतावनी दिएका छन्।

रामदेवको अगुवाइमा वीरगन्जमा योग शिविर सञ्चालन भएपछि वीरगन्जलाई भने रामदेवले व्यापारिक उद्देश्य मात्रै लिएको र अन्य कुनै सुविधा नदिएको वीरगन्जका उद्योगीहरूले बताएका छन्। उद्योगी व्यवसायीलाई राम्रैसँग प्रयोग गरेका रामदेवले वीरगन्जबासीलाई भने केही दिएका छैनन्।

पतञ्जली आयुर्वेद प्रालिले एक वर्ष अघिदेखि खाद्यान्न र सौन्दर्य प्रसाधन सामग्री उत्पादन गर्दै आएको छ। उद्योगले खाद्यान्नतर्फ अमला र घ्युकुमारीको जुस, निबुवा, लप्सी र अमलाको अचार तथा विभिन्न किसिमका खाने मसला र तेल तथा सौन्दर्यका सामग्रीतर्फ ४ प्रकारका नुहाउने, लुगा धुने र भा“डा माझ्ने साबुन, सरफ, ३ किसिमको सेम्पु र ह्यान्ड वासजस्ता वस्तु उत्पादन गर्दै आएको उद्योगका प्रशासकीय अधिकृत सीताशरण कण्ठले जानकारी दिए।

उनले नेपालमा अभाव देखिएकाले अधिकांश कच्चा पदार्थ भारतबाट आयात गर्दै आएको पनि बताए। कच्चा पदार्थ उत्पादनका लागि उद्योगले यो वर्षबाट स्थानीयको १६ बिघा जमिन भाडामा लिएर घ्युकुमारी, नीमलगायतको जडिबुटी खेती शुरू गरेको छ। खानेतेल भने भारतीय कम्पनीको उत्पादन मगाएर उद्योगले रिफाइनपछि बिक्री गर्दै आएको छ। सुगन्धित तेल भने उत्पादनको अन्तिम तयारीमा रहेको कण्ठले बताए। उनका अनुसार उद्योगले मासिक १० देखि १५ करोड रुपियाँ बराबर वस्तु उत्पादन गरेर बिक्री गर्दै आएको छ।

एक वर्षअघि स्थापना भएको सो उद्योग ८ महिना अघिबाट उत्पादन शुरू गरेको हो। उद्योगको उद्घाटन भने गत मंसिर ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोको लगानीमा सञ्चालन गरिएको सो उद्योगमा पतञ्जली आयुर्वेद लिमिटेड हरिद्वारको पनि अप्रत्यक्ष लगानी रहेको बताइन्छ। प्रशासकीय अधिकृत कण्ठ भारतीय योग गुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली हरिद्वारले उद्योगमा प्राविधिक सहयोग मात्र गर्दै आएको बताउँछन्।

उनले उद्योग परिसरको करिब ८ बिघा जमिनसमेत पूर्वअध्यक्ष महतोको नाममा नै रहेको जानकारी दिए। ‘अहिलेसम्मको सबै लगानी महतोजी एक्लैको छ’, उनले भने– ‘हरिद्वारले सामग्री उत्पादन र गुणस्तर कायम राख्न मात्र सहयोग गर्ने हो।’ उनले गुणस्तर नियन्त्रणका लागि उद्योगको उच्च तहमा प्राविधिक कर्मचारीसमेत हरिद्वारबाट नै मगाइएको जानकारी दिए। पूर्वअध्यक्ष महतो र भारतीय योग गुरु रामदेवबीच रहँदै आएको घनिष्ट सम्बन्ध र उद्योगको उद्घाटन कार्यक्रममा रामदेव र बालकृष्णसमेत सरिक भएपछि उद्योगको भित्री लगानीबारे सर्वसाधारणमा आशंका बढेको हो।

कार्यक्रममा बोल्दै रामदेवले उद्योगबाट हजारौं नेपालीले रोजगारी प्राप्त गर्ने र उद्योगको मुनाफा ट्रस्टमार्फत समाजसेवामा लगानी गरिने सुनाएका थिए। पूर्वअध्यक्ष महतोकी स्वर्गीय माताको नाममा स्थापना भएको फूलकुमारी ट्रस्टमार्फत मुनाफा रकम खर्च गरिने दाबी गरिएको छ। महतो ट्रस्टको अध्यक्षसमेत हुन्। यसअघि सञ्चालनमा रहेको अन्नपूर्ण टेक्सटायल उद्योग लामो समयदेख बन्द भएपछि महतोले उद्योगसहित जमिन खरिद गरी पतञ्जलि आर्युवेद प्रालि सञ्चालनमा ल्याएका हुन्।

प्रारम्भिक लगानीमा २५ करोड भनिएको सो उद्योगमा अहिले डेढ अर्ब लगानी पुगेको बताइएको छ। उद्योगले लगानी वृद्धि गरेर १० हजार करोड पु¥याउने लक्ष्य राखेको छ। उत्पादन र लगानीबारे जानकारी लिन उद्योगकी महानिर्देशक समता प्रसादसँग पटकपटक बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन। महानिर्देशक समता पूर्वअध्यक्ष महतोकी पत्नी हुन्। उद्योगमा डेढ सयभन्दा बढी कामदार कर्मचारी रहेका छन्।

काभ्रेमा ३ सय ९५ रोपनी जग्गा
मोतीराम तिमल्सिना, काभ्रे
पतञ्जली आयुर्वेद योगपीठ नेपालले नेपालमै पहिलोपटक धुलिखेलमा संस्कृत विश्वविद्यालय दाङबाट अनुमति लिएर पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको स्थापना गरी सञ्चालनमा ल्याएको छ।

संस्कृत विश्वविद्यालयले मेडिकल कलेजको अनुमतिमा आयुर्वेद मेडिकल काउन्सिलबाट समेत अनुमति लिई आयुर्वेद स्नातक तह ९बीएएमएस० मा शैक्षिक सत्र २०७३/२०७४ का लागि ४० सिटमा भर्ना खुला गरे पनि आवश्यक संख्यामा विद्यार्थी भर्ना हुन आएका छैनन्।

कात्तिक २९ गते अन्तिम मिति राखी आवेदन माग गरेको मेडिकल कलेजले मंसिर ४ गते प्रवेश परीक्षा लिएको थियो। आयुर्वेद उत्तरमध्यमा परीक्षा उत्तीर्ण भएको, आईएस्सी ९बायोलोजी समूह० परीक्षा उत्तीर्ण, जनरल मेडिसिन परीक्षा उत्तीर्ण भएका विद्यार्थीले उक्त मेडिकल कलेजमा आवेदन दिन पाउनेछन्। १ सय ८० रोपनी जग्गामा फैलिएको मेडिकल कलेजमा विद्यार्थी अध्ययन, पुस्तकालय, प्याथोलोजी विभाग, स्नाटोमी विभाग, योगा हललगायत ३० विद्यार्थी बस्ने आवाससहितका भवनहरू निर्माण गरिएको छ। ५ सय व्यक्तिले एकैपटक योग गर्न सकिने, २ हजार ५ सय व्यक्तिहरू अटाउने हलसमेत उक्त भवनमा समावेश गरिएको छ।

कात्तिकदेखि नै निःशुल्क उपचार सेवा गरेको मेडिकल कलेजमा दैनिक ६/७ जना बिरामीले उपचार गराइरहेका छन्। उपचार सेवा निःशुल्क भए पनि मेडिकल कलेजले औषधिको भने मूल्य लिने गरेको छ।

मेडिकल सञ्चालनका लागि रामदेव स्वामी सञ्चालक रहेको व्यवस्थापन समितिमा बालकृष्ण आचार्य, शालिकराम सिंह, ओम वंशल, केशव खुलाल र रामनारायण शाह सदस्य रहेका छन्। उक्त समितिले मेडिकल सञ्चालनका लागि आवश्यक निर्देश गर्नेछ। १५ लाख रुपियाँमा ५ वर्ष अध्ययन गर्ने उक्त कोर्सका लागि हालसम्म २० जना विद्यार्थीले मात्रै भर्ना गरेका छन्।

आगामी माघ २ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको मेडिकल कलेजमा डा। उपेन्द्र महतोले आमा फूलकुमारी महतोका नाममा करिब ८ करोड खर्च गरेर भवन निर्माण गरिदिएका छन् भने अन्य सहयोगीहरू समेतको गरी मेडिकल कलेजका लागि मात्रै १० करोड रुपियाँ खर्च भइसकेको छ। मेडिकल कलेजका प्रमुख ट्रस्टी शालिकराम सिंह हुन्।

२०६६ चैत्र १८ गते उक्त भवनको प्रधानमन्त्री माधवकुमार नेपाल र योगगुरु रामदेवले नेपालका जनतालाई योग र आयुर्वेदको माध्यमद्वारा शारीरिक, मानसिक एवम् आध्यात्मिक सु–स्वास्थ्य प्रदान गर्ने एवम् जडिबुटी, कृषिकरण र अन्वेषणको रुपमा योग भवनलाई अगाड बढाउने उद्देश्यले योगपीठको व्यवस्थापन रहने गरी भवन उद्घाटन गरेका थिए। २०६७ वैशाखदेखि मेडिकल कलेजका लागि आवश्यक पर्ने भवन निर्माण कार्य शुरू गरिएको थियो।

२०४१/२०४२ सालमा होटल याक एन्ड यतिका प्रोपाइटर राधेश्याम सर्राफ र उनकी पत्नी रत्ना सर्राफले होटल हिल कर्नर खोल्न धुलिखेल नगरपालिका ६ चंखुबेशीमा करिब २ सय रोपनी जग्गा खरिद गरेका थिए। होटलको निर्माण कार्य सम्पन्न भइसक्दा देशमा द्वन्द्व शुरू भयो। केही वर्ष होटल चल्यो र बन्द भयो। पुनः पूर्वमन्त्री स्व। शैलेन्द्रकुमार उपाध्यायले केही वर्ष होटल सञ्चालनमा ल्याए तर सशस्त्र द्वन्द्वका क्रममा माओवादीको लगातारको चन्दा आतंकले होटल बन्द भयो। २०५५÷२०५६ देखि बन्द भएको उक्त होटलको जग्गा र सबै भवन पतञ्जलि योगपीठका नाममा सर्राफ परिवारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा दान गरेका थिए।

मेडिकल कलेज निर्माण सम्पन्न भएपछि उद्घाटनका लागि २०७२ वैशाख १४ गते सोमबार रामदेवले उद्घाटन गर्ने तयारी भएको थियो। वैशाख १२ गते नै विनाशकारी भूकम्प आएपछि उक्त भवनको उद्घाटन हुन सकेन। यसअघि सार्क सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री सुशील कोइराला, साथमा योगगुरु रामदेवले उक्त भवनको शिल्यान्यास गर्ने कार्यक्रम तय भएको थियो।

त्यो समयमा पनि सुरक्षाको कारण देखाउ“दै भवन निर्माण रोकियो। पहिलो पटक मोदी नेपाल आउ“दा समेत उक्त मेडिकल कलेज देखाउन ल्याउने तयारी गरिएको थियो। नेपालमै पहिलो पटक खोलिएको मेडिकल कलेजको पटक पटकको उद्घाटन साइत रोकिएको छ। पछिल्लो पटक रामदेव वीरगन्ज आउँदा समेत भवनको उद्घाटन गर्न खोजिएको थियो तर पनि हुन सकेन। माघ २ गते राष्ट्रपति वा प्रधानमन्त्री पुष्पकमल दाहाल र रामदेवमार्फत उद्घाटन गराउने तयारी गरिएको थियो।

यसैबीच विना स्रोत राज्यबाट समेत हदबन्दीको छुट सुविधा लिएर पतञ्जलि योगपीठका नाममा ३ सय ९५ रोपनी जग्गा खरिद गरिएको छ। त्योमध्ये २ सय रोपनी राधेश्याम सर्राफ र उनकी श्रीमती रत्ना सर्राफले होटलका लागि खरिद गरेको जग्गा दान दिएका हुन् भने १ सय ९५ रोपनी जग्गा कुन प्रयोजनका लागि पतञ्जलिले खरिद गरेको खुलेको छैन। यसअघि नासिका साँगा गाविसको डाँडो खरिद गरी माटो विक्री गर्न थालेपछि स्थानीयहरूको विरोध भएको थियो। तत्काल पतञ्जलिले उक्त स्थानको जग्गा विक्री गरी पुनः चलाल गणेस्थान गाविस ५ मा २४ कित्ता, चलालगणेशस्थान ९ ‘कै’ मा ७ कित्ता गरी १ सय ९५ रोपनी जग्गा खरिद गरेको छ। धुलिखेल–६ मा रहेको तत्कालीन श्रीखण्डपुर ७ को २ सय रोपनी जग्गामा ३६ कित्ता जग्गा रहेको छ।

प्रतिक्रिया दिनुहोस्