केर्बेर तेस्रो चरणमा



मेलबर्न, (एजेन्सी)
डिफेन्डिङ च्याम्पियन एन्जेलिक केर्बरले आफ्नै राष्ट्र जर्मनीकी कारिना विथोएफ्टसँग हारको सम्भावना टार्दै अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेकी छन्।

सर्भिसमा संघर्ष गर्नुपरेपछि दोस्रो सेट टाइब्रेकरमा गुमाएकी केर्बरले सो खेल ६–२, ६–७, ६–२ ले हराएकी हुन्। बुधबार नै २९औं वर्षको उत्सव मनाएकी केर्बरले अर्को चरणमा चेक खेलाडी क्रिस्टिना पिलिस्कोभासँग खेल्नेछिन्। विश्व नम्बर एक केर्बरले यसअघि ब्रिस्बेन र सिड्नी प्रतियोगितामा क्वार्टरफाइनल पनि कटाउन सकेकी थिएनन्।

यस्तै भेनस विलियम्सले पनि तेस्रो चरणमा स्थान बनाइन्। ३६औं वर्षको उमेरकी भेनसले स्विस युवा खेलाडी स्टेफानी भोइगेलेलाई ६–३, ६–२ ले पराजित गरिन्। उनले १९९८ मा पहिलोपटक अस्ट्रेलियन ओपनमा सहभागिता जनाए पनि मेलबर्नमा उपाधि जित्न भने सकेकी छैनन्। २००३ मा सेरेनासँग फाइनल हारेकी अमेरिकी खेलाडीको यो ७३औं ग्रान्डस्लाम प्रतियोगिता हो। उनले अर्को खेलमा डुआन यिङयिङसँग खेल्नेछिन्। चीनकी यिङयिङले भारभारा लेपचेन्कोलाई ६–१, ३–६, १०–८ ले हराएकी थिइन्।

इभान्सद्वारा चिलिच स्तब्ध
ब्रिटेनका डान इभान्सले सातौं वरियताका मारिन चिलिचलाई स्तब्ध पारेर अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन्। बुधबार राति खेलिएको खेलमा इभान्सले पूर्व यूएस विजेता चिलिचलाई ३–६, ७–५, ६–३, ६–३ ले हराएका हुन्। यो जारी प्रतियोगितामा पहिलो स्तब्ध नतिजा हो। त्यस्तै विश्व नम्बर एक एन्डी मुरेले पनि दोस्रो चरणमा पार गर्न कठिन भएन। २९ वर्षीय ब्रिटिस खेलाडीले रसियाका एन्ड्री रुब्लेभलाई ६–३, ६–०, ६–२ ले हराएर अमेरिकी साम क्वेरीसँग खेल्ने पक्का गरे।

प्रतिक्रिया दिनुहोस्